मैले बालककालमा माघ महिनाभरि हरेक बिहान बज्यैबाट अमृततुल्य लोकभजनहरू सुनेको छु र आह्लादित भएको छु । आहा ! ती मनोहर गाथाहरू सङ्कलन गर्न पाएको भए अहिले मलाई थकथकी लागिरहेको छ । ती अनमोल पूँजीहरू मेरी हजुरआमासँगै हराएर गए । मैले यसरी घरभित्र देउडा संस्कृति र ब्राह्मण संस्कारकाबीच माघे संक्रान्तिलाई पूर्ण रूपमा शाकाहारी पर्वका रूपमा मनाएको छु ।

राजेन्द्रप्रसाद धिताल
नेपाल एक सांस्कृतिक विविधतामा सजिएको सुन्दर बगैँचाजस्तो प्रतीत हुन्छ मलाई । यहाँका हरेक चाड पर्व र उत्सवहरूले त्यसको जीवन्त अनुभूति गराउँछन् । हाम्रो समाजको विविधालाई मैले गहिरो तरिकाले अनुभूति गरेको छु । धेरैजसो विविधताको मिठासले म गदगद भएको छु भने यदाकदा सांस्कृतिक संयोजनको अभावमा मान्छेका मनभित्र क्लेश उम्रेको देखेर दुखेको पनि छु । निश्चय पनि बगैँचामा विविधताको सौन्दर्य रसपान गर्दा काँडाको बिझाइ स्वभाविक हो भन्ने सम्झेर त्यसमा चित्त बुझाएको छु । हृदयभित्र आनन्दको उद्बोधन गर्ने हाम्रा अनेक चाडपर्वहरूमध्ये माघे संक्रान्ति उत्तम लाग्छ मलाई । मेरो जन्म हिमाली जिल्ला जुम्लामा भयो । हिन्दु खसआर्य सभ्यता र देउडा संस्कृति मैले पुख्र्यौली रूपमा पाएको सांस्कृतिक सम्पत्ति हो । मेरा पिताजी संस्कृत साहित्य र पूर्वीय जीवनदर्शनका हिमायती हुनुहुन्थ्यो । ब्राह्मण जातीय संस्कार हाम्रो पारिवारिक संस्कार थियो । म सानै हुँदा पिताजीले हामीलाई बर्दियाको गोलामा ल्याउनु भयो । बर्दियामा आएपछि मैले थारू संस्कृतिसँग साक्षात्कार गर्न पाएँ । घरमा बाहुनको चलन र रीतिरिवाज मान्नु पथ्र्यो । बाल्यकालका सहृदयी साथीहरू अधिकांश थारू थिए ।थारू साथीहरू यति अभिन्न थिए कि तीभन्दा पर जाने मेरो ठाउँ नै थिएन ।
विद्यालयमा पढ्न जाँदा होस् या बनचहुरमा गाईभैँसी चराउन जाँदा, घरको खेतीपातीमा होस् या सडक, कुलाको बेगारी गर्न, जीवनका हरेक कदममा थारूहरू गुरु, काकाकाकी, दाजुभाइ, दिदीबहिनी र साथीका रूपमा उपस्थित हुने गर्दथे । त्यसले नजानिँदो ढङ्गले मभित्र दुई संस्कृति हुर्किन थालेका थिए । विस्तारै विस्तारै मेरो हृदयमा घरको संस्कृति कमजोर हुँदै थियो भने थारू संस्कृति विस्तारित हुँदै थियो । माघे संक्रान्तिले नेपाली समाजमा महत्त्वपूर्ण सांस्कृतिक आयाम बोकेको छ । हिन्दु पूर्वीय धार्मिक मान्यताअनुसार यो अत्यन्तै पवित्र महिना मानिन्छ । ज्योतिष शास्त्रीय मतअनुसार सूर्य धनु राशिबाट मकर राशिमा पदार्पण गर्ने र दक्षिणी गोलार्धबाट उत्तरी गोलार्धतर्फ प्रवेश गर्ने दिनका रूपमा माघे संक्रान्तिलाई लिइन्छ । हिन्दु पौराणिक साहित्यमा माघ माहात्म्यको ठूलो महिमा वर्णन गरिएको छ । जीवन र जगतको हितका लागि महाराज भगिरथले धर्तीमा गङ्गा अवतरण गराएको तथा इच्छा मृत्युको वरदान पाएका भीष्म पितामहले माघे संक्रान्तिकै दिनमा मोक्ष प्राप्त गरेको कथा पौराणिक साहित्यहरूमा पढ्न पाइन्छ । मैले आफ्ना पिताजीबाट बाल्यकालमा माघ माहात्यका मनोहर कथाहरू सुन्ने अवसर पाएको छु । कर्णाली लोकजीवनमा माघे संक्रान्तिलाई दशैँ र तिहारभन्दा बढी महत्त्व दिएर मनाउने गरेको पाइन्छ ।
यस क्षेत्रमा तीर्थयात्रा गर्न जाने तीर्थालुहरूलाई बिदाइ तथा स्वागत गर्दा गाइने भजन, मागल तथा चुट्किलाहरूले जीवनलाई पावन र कञ्चन बनाउन प्रेरित गर्छन् । मैले बालककालमा माघ महिनाभरि हरेक बिहान बज्यैबाट अमृततुल्य लोकभजनहरू सुनेको छु र आह्लादित भएको छु । आहा ! ती मनोहर गाथाहरू सङ्कलन गर्न पाएको भए अहिले मलाई थकथकी लागिरहेको छ । ती अनमोल पूँजीहरू मेरी हजुरआमासँगै हराएर गए । मैले यसरी घरभित्र देउडा संस्कृति र ब्राह्मण संस्कारकाबीच माघे संक्रान्तिलाई पूर्ण रूपमा शाकाहारी पर्वका रूपमा मनाएको छु । मैले थारू समुदायमा मनाइने माघीको मोहक स्वरूपलोई नजिकैबाट अनुभूत गरेको छु । मकर संक्रान्ति थारू समुदायमा माघीका नामले प्रशिद्ध छ। थारू समुदायमा सर्वाधिक ठूलो पर्वका रूपमा माघीलाई लिइन्छ । यो नयाँ वर्षको रूपमा मनाइने यो पर्वले थारू लोकजीवनको हरेक अंगलाई प्रभावित पारेको छ । माघीको अघिल्लो दिनमा सुँगुर काट्ने गरिन्छ, जसलाई जिता मरना दिन भनिन्छ । मलाई बाल्यकालका ती मनोहर दिनको याद आउँछ, आत्मीय साथीहरूका घरमा जिता मरना दिनमा रमाएको ।
गोलाका चैतु, जीतबहादुर र शरम थारूहरू गिदरपुरका झग्गु र शालिकराम दाइ, बिन्द्राका धरमप्रकाश, बुद्धिराम, मनाउका चिल्लु, रामस्वरुपहरू, उल्टनपुरको जल्राहन घरका साथै अग्नु, सहवीर काका र नुतन भाइहरू, भैरमपुरमा गणेश भण्डारी, बुझाउन थारूलगायत थुप्रै सहृदयीहरूका घरमा माघी मनाएको म हरदम सम्झन्छु । ती सहृदयी आफन्तहरूको घरमा मैले ढल्ने गरी माघीको गुरीगुरी जाँड खाएको छु, सुरीको सिकार र ढिकरी खाएर आनन्दित भएको छु । सखियाको सुमथुर गीतमा झुमेको छु, रमाएको छु । मैले बाल्यकाल बिताएको गोला गाउँ दुई सभ्यताको मिलनस्थल जस्तो लाग्छ । एकातिर नदी किनारमा तीर्थाहरूको लहर अर्कातिर थारू समुदायको मौलिक माघ महोत्सवको रहर । नदीको छेउछाउमा मुढा बालेर कोही तातिएका छन् त कोही मादक गुरीगुरी जाँड र मादलको आल्हादमा रमेका छन् । एकातिर देउडाको रौनक अर्कोतिर सखियाको रमझम । म आज विगत फर्केर हेर्छु, माघी बडो सम्मिलनको पर्व हो झैँ लाग्छ । म हुर्केको गोला सहिष्णुताको अनुपम उदाहरण हो झैँ लाग्छ र म स्वयं दुई सभ्यताको साँचो अनुयायी हु झैँ लाग्छ ।









प्रतिक्रिया दिनुहोस्