कालीमाटी गाउँपालिकाले माग्यो बाघ मार्ने आदेश



कोहलपुर (बाँके) ।

एक हप्ताको अवधिमा पाटेबाघको आक्रमणबाट तीनजनाको ज्यान गएपछि सल्यानको कालीमाटी गाउँपालिकाले प्रचलित कानुनबमोजिम बाघ मार्ने आदेश तत्काल जारी गर्न माग गरेको छ । मंगलबार डिभिजन वन कार्यालय सल्यानलाई पत्र लेख्दै गाउँपालिकाले नागरिकको जीवनरक्षाको लागि प्रचलित कानुनबमोजिम बाघ मार्ने आदेश तत्काल जारी गरिदिन माग गरेको हो ।

बाँके राष्ट्रिय निकुञ्ज तथा सोसँग सिमाना जोडिएका क्षेत्रबाट मानवबस्तीमा प्रवेश गरी बाघले निरन्तर रूपमा मानवीय ज्यान तथा घरपालुवा पशुमा क्षति पु¥याइरहेको गाउँपालिकाका अध्यक्ष दानबहादुर खत्री केसीद्वारा हस्ताक्षरित मागपत्रमा उल्लेख गरिएको छ । अध्यक्ष केसीका अनुसार प्रत्येक दिनजसो बाघले मानवबस्ती मै पुगेर मानिसको ज्यान लिन थालेपछि कालीमाटीको अवस्था गम्भीर छ ।

बाघको आक्रमण कै कारण सो क्षेत्रमा मानव जीवनका लागि अत्यन्त जोखिमपूर्ण बनाएको, स्थानीय नागरिकहरूलाई त्रास र असुरक्षित अवस्थामा धकेलेको अध्यक्ष केसीको भनाइ छ । ‘राज्यले नागरिकको जीवनरक्षा गर्ने संवैधानिक दायित्वमाथि गम्भीर प्रश्न खडा गरेको अवस्था सिर्जना भएको छ । यस प्रकारको जोखिमपूर्ण अवस्थालाई यथाशीघ्र नियन्त्रण नगरेमा थप मानवीय क्षति हुने प्रवल सम्भावना रहेको स्पष्ट देखिन्छ,’ मागपत्रमा भनिएको छ ।

मानववस्तीमा प्रवेश गरी पटक–पटक मानवीय क्षति पु¥याइरहेको उक्त बाघलाई तत्काल मार्ने घोषणा गरी नियन्त्रण, स्थानान्तरण गर्न माग गरिएको छ । मागपत्रमा आवश्यक परे अन्तिम व्यवस्थासमेत गर्न सकिने गरी बाघ मार्ने आदेश अविलम्ब जारी गरिदिनुहुन सिफारिस साथ अनुरोध गरिएको छ । पुस २३ गते सुर्खेत जिल्ला भेरीगंगा नगरपालिका वडा नं. ५ गेरुवानी निवासी वर्ष ५७ को गंगादेवी सारु मगरको बाघको आक्रमणबाट ज्यान गएको थियो ।

पुस २५ गते कालीमाटी गाउँपालिका वडा नम्बर ७ का ४२ वर्षीया धनसरी रावतले बाघको आक्रमणमा परी ज्यान गुमाएकी थिइन् । यस्तै पुस २८ गते हात्तीढुंगा बस्ने ६६ वर्षीय चन्द्रबहादुर खप्तडी मगरलाई बाघले आक्रमण गरी ज्यान लिएको थियो । पुस २६ र २७ गते कालीमाटी गाउँपालिका वडा नम्बर ७ अन्तर्गत घरगोठमा बाँधीराखेका गाई गोरुहरूलाई बाघले मारिखाएको कालीमाटी गाउँपालिकाले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस ३० गते बुधबार