काठमाडौँ ।
नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेसको विशेष महाधिवेशन हुँदैछ । पार्टी सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षको विरोध र असहमतीका बाबजुद काँग्रेसको विशेष महाधिवेशन हुन लागेको हो । पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशन आजदेखि सुरु हुँदैछ ।
‘बदलिएको समयको काँग्रेसका लागि, बदल्न पर्ने देशका लागि’ भन्ने मूल मर्मसहित ५४ प्रतिशत विशेष महाधिवेशन पक्षधरहरूको साथ रहेको दाबी गरिएको विशेष महाधिवेशनको उद्घाटन आज अपरान्ह १ बजे भृकुटीमण्डपमा हुनेछ । आजबाट सुरु हुने विशेष महाधिवेशनलाई ‘बदलिएको राजनीतिक परिस्थितिमा नेपाली काँग्रेस पार्टीलाई नयाँ ऊर्जा, एकता र रुपान्तरणसहित अघि बढाउन नेपालको लोकतान्त्रिक इतिहास, मूल्य र परम्परासँग जोडिएको’ नेपाली काँग्रेसको विशेष महाधिवेशन भनिएको छ ।
महाधिवेशनको प्रमुख अतिथिका रूपमा पार्टी सभापति शेरबहादुर देउवासहित, कार्यबाहक उपसभापति पूर्णबहादुर खड्कासहितका वर्तमान र पूर्वपदाधिकारीहरूलाई आमन्त्रण गरिएपनि उनीहरूले आमन्त्रणपत्र नबुझेको बताइएको छ । तर नियमित महाधिवेशनको पक्षमा रहेका देउवासहितका नेताहरू विशेष महाधिवेशन उद्घाटन सत्रमा आउने छैनन् ।
पार्टी सभापति उद्घाटनमा नआए ज्येष्ठ सदस्यको अध्यक्षतामा महाधिवेशन अघि बढाउने तयारी विशेष महाधिवेशन पक्षधरले गरेका छन् ।
महाधिवेशन उद्घाटनपूर्व शनिबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले आज बिहान ११ बजेदेखि काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ¥याली निकालिने र अपरान्ह १ बजे काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन उद्घाटन हुने जानकारी दिएका थिए ।
सोमबारसम्म सञ्चालन हुने विशेष महाधिवेशनको पक्षमा ६० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधि रहेको पत्रकार सम्मेलनमा उनले दाबी गरे । यसअघि असोज २९ गते ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षरसहित विशेष महाधिवेशन माग गरेका थिए । तर नेपाली काँग्रेसको पुस १८ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले २०८३ वैशाख २८ देखि ३१ गतेसम्म नेपाली काँग्रेसको १५औँ महाधिवेशन आह्वान गरेको छ ।
पार्टीको संस्थापन समूह र डा.शेखर कोइराला नेतृत्वको इतर समूहले मान्यता नदिए पनि विशेष महाधिवेशन हुन लागेको हो । यो महाधिवेशनको मुख्य नेतृृत्व महामन्त्रीद्वय थापा र शर्मासहित ५४ प्रतिशत भन्दा बढी विशेष महाधिवेशन पक्षधरहरूको आयोजनामा हुन लागेको हो । तर देशभरका पाँच प्रदेश सभापति र ४७ जिल्ला सभापति विशेष महाधिवेशनको विपक्षमा उभिएका छन् ।
१७ देशका जनसम्पर्क समितिका सभापतिहरूले एक संयुक्त अपिल जारी गर्दै विधानअनुसार १५औँ नियमित महाधिवेशन प्रक्रिया अघि बढिरहेका बेला त्यसैलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् । लुम्बिनी र गण्डकी प्रदेशका सभापतिसहित ३० जिल्लाका सभापति विशेष महाधिवेशनको पक्षमा देखिएका छन् । नेपाली काँग्रेसमा अहिले स्पष्ट तीनवटा गुट छन् ।
सभापति शेरबहादुर देउवाको नेतृत्वमा संस्थापन पक्ष छ । वरिष्ठ नेता डा.शेखर कोइराला इतरको गुटको नेतृत्व गरिरहेका छन् भने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वको पक्ष छ । आज दिउँसोसम्म कुनै नाटकीय मोड आएन र सहमति भएन भने विशेष महाधिवेशन उद्घाटन हुनेछ । दुई दिनसम्म चल्ने विशेष महाधिवेशनपछि नेपाली काँग्रेसको भविष्य के हुने भन्ने अझै निश्चित छैन ।
पार्टी स्थापनाको ७६ वर्ष लामो इतिहास बोकेको नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेस अहिलेकै अवस्थामा रहने छैन ।आगामी दिनमा दुवै पक्षबीच झन् टकराव बढ्दै गएमा नेपाली काँग्रेस औपचारिक रूपमा फुट्ने सम्भावनासमेत देखिन्छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछिको बदलिँदो राजनीतिक परिवेशमा काँग्रेस पार्टी जीवनकै अत्यन्त संक्रमणकालीन अवस्थामा गुज्रिएको छ । विशेष कि नियमित महाधिवेशन भन्ने विवादले नेपाली काँग्रेस फुटको डिलमा छ ।
स्थापनाकालदेखि गुट र फुटको श्रृंखला भोगिरहेको नेपाली काँग्रेस पार्टी जीवनमा तेस्रोपटक फुट्नेछ । नेपाली काँग्रेसको इतिहासमा हालसम्म दुईपटक ठूला विभाजन भएका छन् । पहिलोपटक २००९ सालमा पार्टी विभाजन भएको थियो । त्यतिबेला मातृकाप्रसाद कोइराला प्रधानमन्त्री र वीपी कोइराला पार्टी सभापति थिए । दोस्रोपटक २०५९ सालमा विभाजन हुँदा शेरबहादुर देउवा नेतृत्वको सरकार थियो । सभापति गिरिजाप्रसाद कोइराला थिए उनी २०५७ सालमा पोखरामा भएको दशौँ महाधिवेशनमा देउवालाई पराजित गरेर सभापति भएका थिए ।
दुई पक्षबीच टकराव बढेपछि देउवाले ४ असार २०५९ मा बानेश्वरमा आफू पक्षीय कार्यकताको भेला गरेर नयाँ पार्टी नेपाली काँग्रेस (प्रजातान्त्रिक) गठनको घोषणा गरेका थिए । तर उक्त पार्टी पछि नेपाली काँग्रेससँग समाहित भएको थियो । त्यसो त २०५१ सालमा समेत तत्कालीन कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराई र महामन्त्री गिरिजाप्रसाद कोइरालाबीच टकरावपछि कोइरालाले नयाँ पार्टी घोषणाको योजनासहित छुट्टै भेला आयोजना गरेका थिए ।
तर कार्यवाहक सभापति भट्टराई सहभागी भएपछि पार्टी फुट्नबाट जोगिएको थियो । नेपाली काँग्रेसको विधानअनुसार ४ वर्षभित्रै नियमित महाधिवेशन हुने व्यवस्था छ । विधानअनुसार नै नियमित महाधिवेशन हुने हो भने मंसिरमै १५औँ महाधिवेशन भइसक्नुपर्ने थियो । पार्टीको १४औँ महाधिवेशन २०७८ सालमा भएको थियो । नियमित नभए विशेष महाधिवेशन हुनुपर्ने महामन्त्रीद्वयको बटम लाइन बनाएका थिए । संस्थापन पक्षले विशेष महाधिवेशनको माग अस्वीकार गरेका कारण पुस २७ र २८ गतेका लागि विशेष महाधिवेशन आह्वान गरेका हुन् । विशेष महाधिवेशन पक्षधर सभापति देउवा विशेष महाधिवेशन उद्घाटनमा आउनेमा आशावादी छ ।
विवाद समाधानका लागि दिनभर के–के भयो ?
नेपाली काँग्रेसको महाधिवेशन विवाद चरम उत्कर्षमा छ । हाल उत्पन्न विवाद समाधानका लागि विभिन्न पक्षबाट छलफल र संवाद भइरहेका छन् । विवाद समाधानका लागि शुक्रबार रातभरजस्तो छलफल भएको थियो । विवाद समाधानकै विषयमा नियमित पक्षधर सभापति शेरबहादुर देउवाका विश्वास पात्र रमेश लेखक र विशेष महाधिवेशन पक्षधरको नेतृत्व गरिरहेका महामन्त्री गगन थापाबीच भेटवार्ता भएको थियो ।
छलफलमा लेखकले विशेष महाधिवेशन रोक्न र संवादलाई निरन्तरता दिन थापालाई आग्रह गरेका थिए । संवादबाट आफूपछि नहट्ने बताए पनि थापा विशेष महाधिवेशन रोक्न भने तयार देखिएनन् । लगत्तै शनिबार बिहान पार्टीका सभापति देउवा र नेता डा.शेखर कोइरालाबीच भेटवार्ता भएको थियो । नियमित महाधिवेशनकै पक्षमा रहेका कोइराला सभापति देउवा विशेष महाधिवेशन उद्घाटनमा जानुपर्ने र त्यसलाई संकल्प महाधिवेशनका रूपमा परिणत गर्नुपर्ने पक्षमा छन् । उनीहरूबीच सोही विषयमा छलफल भएको थियो ।
त्यसलगत्तै देउवा शितल निवास जानु छ भन्दै राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न गए । उनीहरूबीच नेपाली काँग्रेसमा हाल भइरहेको विवाद र विशेष महाधिवेशनका विषयमा कुराकानी भएको थियो । त्यसपछि काँग्रेसले आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको थियो । बैठकमा विशेष महाधिवेशन पक्षधर दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा उपस्थित भएनन् ।
बैठक नेपाली काँग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य होमनाथ दाहालको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै पारित शोक प्रस्ताव पारित गरेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकले दाहालको निधनमा तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झन्डा आधा झुकाउने, २७ गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र स्वर्गारोहणको १३औँ दिनमा सम्बन्धित जिल्ला ओखलढुङ्गामा शोकसभाको आयोजना गर्ने निर्णय बैठकले गरेको छ ।
यता, विशेष महाधिवेशन पक्षधरले पत्रकारहरूसँग अन्तक्र्रिया गरेका छन् । अन्तक्र्रियामार्फत काँग्रेस नेता एवं पूर्वमन्त्री वरिष्ठ पत्रकार होमनाथ दाहालको निधनका कारण पदयात्रा स्थगित गरेको जानकारी गराइयो । नेपाली काँग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले सभापति शेरबहादुर देउवालाई तानाशाह भन्दै विशेष महाधिवेशनको पक्षमा खुलेका छन् । शेखर कोइराला पक्षका नेता चन्द्र भण्डारी र सुनिल शर्मा, नेता कृष्णप्रसाद सिटौला निकटका सिटौलाकै गृहजिल्ला झापाका नेता सुधीर शिवाकोटी, विशेष महाधिवेशनका पक्षमा उभिएका छन् ।









प्रतिक्रिया दिनुहोस्