नेपालगञ्ज, १८ मंसिर/ नेपालगञ्जको कारकाँदोस्थित सडक डिभिजन परिसरमा यही मंसिर २८ गतेदेखि पुष ५ गतेसम्म सञ्चालन हुने शैक्षिक महोत्सवको लागि स्टल निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।साथै बाल उद्यान निर्माणको काम पनि धमाधम भइरहेको छ ।
स्टल निर्माण समितिका संयोजक हेमराज पौडेलका अनुसार, स्टल निर्माणको काम ७५ प्रतिशत भन्दा बढि सम्पन्न भएको छ । काम धमाधम भइरहेको छ । स्टल निर्माणको काम अन्तिम चरणमा पुगेको समेत पौडेलले जानकारी दिए ।
उनका अनुसार महोत्सवमा १ सय ५० स्टल रहनेछन् । महोत्सव आयोजक पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेका सचिव सागर ज्ञवालीका अनुसार तयारी तिब्र पारिएको छ । महोत्सवको तयारीका लागि व्यवसायीहरु घनीभूतरुपमा लागेको ज्ञवालीले बताए ।
महोत्सवमा मनोरन्जनका साथै विशेष गरी शिक्षाप्रद पुस्तक तथा मसलन्द सामाग्रीहरुको प्रदर्शनी हुनेछ । महोत्सवमा दुई लाख बढि दर्शक भित्र्याइने छ भने १ सय ५० बढी स्टलहरु रहने छन् । स्टलहरुमा विभिन्न मसलन्द तथा शैक्षिक सामाग्रीका राष्ट्रिय उत्पादनहरु, वैदेशिक उच्च शिक्षाका लागि क्रियाशील कन्सल्टेन्सीहरु, सूचनामूलक कम्प्युटर सम्बन्धी एजेन्सीहरु राखिने छन् ।
महोत्सवलाई थप मनोरन्जनात्मक बनाउन, कला र संस्कृति जगेर्ना गर्नका लागि स्थानीय तथा राष्ट्रिय कलाकारहरुबाट गीत तथा नृत्य प्रस्तुत गर्नुका साथै अवलोकनकर्ता तथा सहभगिताका लागि खाजाघर एवं प्राथमिक उपचार कक्ष राखिने पस्तक तथा स्टेशनरी व्यवसायी महासंघका सल्लाहकर एवं प्रचार प्रसार समितिका संयोजक बसन्त लामिछानेले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्