काठमाडौँ ।
आगामी फागुन १ देखि ७ गतेसम्म कर्णाली प्रदेशमा हुने तय भएको दशौँ राष्ट्रिय खेलकुद सुरु हुन ३८ दिन बाँकी रहँदा तीनवटा उपसमिति गठन भएको छ । राष्ट्रिय खेलकुद परिषद्अन्तर्गको कार्यकारी समितिले दशौँ राष्ट्रिय खेलकुदका लागि मंगलबार तीनवटा उपसमिति गठन गरेको हो । जसमा प्राविधिक उपसमिति, खेल सामग्री खरिद उपसमिति र प्रचारप्रसार उपसमिति गठन भएका छन् ।
युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको सिफारिसमा तीनैवटा समितिको संयोजक नियुक्त भएका छन् । प्राविधिक उपसमितिको संयोजकमा कुमार लामा घिसिङलाई जिम्मेवारी दिएको छ । उनलाई दुई साताअघि मात्र मन्त्रीले परिषद्को बोर्ड सदस्यमा नियुक्त गरेका थिए । अब यो समितिले प्रतिवेदन तयार गरेपछि मात्र खरिद प्रक्रिया सुरु हुनेछ ।
यस्तै खेल सामग्री खरिद उपसमितिको संयोजकमा सन्तकुमार मेहता छन् । उनी पनि गत पुस ११ मा नियुक्त भएका परिषद्का बोर्ड सदस्य हुन्। यो समितिले प्राविधिक समितिले प्रतिवेदन दिएपछि मात्र टेन्डरमार्फत खरिद प्रक्रिया अघि बढाउन सक्छ । यता प्रचार समितिको जिम्मेवारी जगत टमाटाले पाएका छन् । दशौँ राष्ट्रिय खेलकुद नजिकिँदा खरिद प्रक्रिया नै चुनौतीपूर्ण छ ।
किनभने सार्वजनिक खरिद ऐनअनुसार टेन्डर आह्वानका लागि समय अपुग हुन्छ । यसको बाटो फुकाउनका लागि मन्त्रिपरिषद्ले मात्र काम गर्न सक्छ । खेलकुदमन्त्री बब्लु गुप्ता राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भएपछि उनको पदको विषयमा प्रश्न उठेका छन् । प्रधानमन्त्री सुशीला कार्कीले पार्टीमा आबद्ध भएको भन्दै मन्त्री गुप्ताको राजीनामा मागेको सार्वजनिक भएको छ ।









प्रतिक्रिया दिनुहोस्