फागुन २१ मा निर्वाचन भए एसईई प्रभावित हुने



काठमाडौँ : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको कारण चैत पहिलो सातादेखि हुने भनिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रभावित हुने अवस्था सिर्जना भएको छ। निर्वाचनको मतपत्र र एसईईको प्रश्नपत्र एकै ठाउँमा छापिने भएकाले एसईईको परीक्षा प्रभावित हुने अवस्था सिर्जना भएको हो।

राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० का उपनिर्देशक ताराराज निरौलाले मतपत्र र प्रश्नपत्र छपाइ एकै समयमा गर्नुपर्ने अवस्था सिर्जना भएकाले एसईईको पत्रपत्र छपाइमा समस्या सिर्जना हुनसक्ने संकेत गरे। उनले प्रश्नपत्र छाप्न कम्तीमा एक महिनादेखि ३५ दिनसम्म समय लाग्ने जानकारी दिए। तर, मतपत्र छाप्ने कामले एसईईको प्रश्नपत्र छपाईमा कुनै समस्या नहुने हो भने निर्धारित तालिकाअनुसार नै परीक्षा सञ्चालन गर्न कुनै समस्या नहुने उनले प्रष्ट पारे।
त्यस्तो अवस्थामा एसईईको तालिका तलमाथि हुनसक्ने उनले बताए।

एसईई चैत पहिलो सातादेखि सुरु गर्ने भनेर कार्ययोजना स्वीकृत भइसकेको छ। त्यही अनुसार बोर्डले पनि तयारी अघि बढाएको निरौलाले बताए।
बोर्डको क्यालेन्डर अनुसार आगामी फागुन १ गतेदेखि नै प्रश्नपत्र छपाई कार्य सुरु गर्नु पर्छ। तर जनकले मतपत्र र शैक्षिक सत्र अगावै पाठ्यपुस्तको छपाई पनि पूरा गर्नु पर्ने बाध्यता छ। बोर्डको क्यालेन्डर अनुसार यो वर्षको एसईई आगामी चैतको पहिलो सातादेखि सञ्चालन गर्ने तयारी छ। गत वर्ष पनि एसईई चैत ७ गतेदेखि सुरु भएको थियो यस वर्ष एसईईको लागि ५ लाख १७ हजारले परीक्षा फारम भरेका छन्।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २२ गते मंगलबार