घट्यो पेट्रोलियम पदार्थको मूल्य



काठमाडौँ ।

नेपाल आयल निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेशनले पेट्रोलमा प्रतिलिटर चार रूपैयाँँ १९ पैसा, डिजेलमा पाँच रूपैयाँँ छ पैसा र हवाई इन्धनमा प्रतिलिटर आठ रूपैयाँँ १५ पैसा घटाएको छ । एलपी ग्यासको खरिद मूल्य प्रतिसिलिन्डर १०० रूपैयाँँ ३५ पैसाले बढेर आएको छ ।

सेहीअनुसार निगम सञ्चालक समितिले खुद्रा बिक्री मूल्य समायोजन गरेको छ । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर चार रूपैयाँँ, डिजेल÷मट्टितेल प्रतिलिटर पाँच रूपैयाँँले घटाइएको छ । आन्तरिक हवाई इन्धनमा प्रतिलिटर छ रूपैयाँँ र अन्तरराष्ट्रिय उडानतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ४२ ले मूल्य घटाइएको छ ।

नयाँ मूल्य बिहीबार बिहानदेखि लागू हुनेछ । एलपी ग्यासको खरिद मूल्य बढे पनि उपभोक्ताको हितलाई ध्यानमा राख्दै ग्यासको खुद्रा बिक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ ।

निगमका अनुसार डिपो वा कार्यालयदेखि १५ किलोमिटरसम्मका लागि पेट्रोलको नयाँ मूल्य पहिलो वर्गमा प्रतिलिटर १५६ रूपैयाँँ ५० पैसा, दोस्रो वर्गमा १५८ रूपैयाँँ र तेस्रो वर्गमा १५९ रूपैयाँँ कायम गरिएको छ । यस्तै, डिजेल÷मट्टितेलको मूल्य क्रमशः १३४ रूपैयाँँ ५० पैसा, १३६ रूपैयाँँ र १३७ रूपैयाँँ प्रतिलिटर तोकिएको छ ।

पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पर्दछ । दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौँ, पोखरा र दिपायल समेटिएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस १७ गते बिहीबार