काठमाडौँ ।
नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ)को आयोजनामा एनएसएसएफ १३औँ किन्डर ओलम्पिक मंगलबार सम्पन्न भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको कार्यक्रमको दोस्रो चरणको कार्यक्रममा ६७ विद्यालयका करिब १ हजार ६०० विद्यार्थी सहभागी भएको आयोजकले जनाएको छ ।
दशरथ रंगशालामै भएको पहिलो चरणको किन्डर ओलम्पिकमा उपत्यकाका विभिन्न ३४ विद्यालयका एक हजार ५४० विद्यार्थी सहभागी थिए । सहभागिहरूको मार्चपास्टपछि पूर्वसांसद माधव सापकोटाले ओलम्पियन भारोत्तोलनका कमलबहादुर अधिकारीलाई किन्डर ओलम्पिकको टर्च हस्तान्तरण गरेका थिए ।
कमलसँगै ओलम्पियन एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र कबड्डकी मानमती विष्टले टर्चलाई दशरथ रंगशालाको ट्रयाकमा परिक्रमा गराएका थिए । पहिलो चरणमा पनि यि चारै खेलाडीले टर्चलाई ट्रयाकमा परिक्रमा गराएका थिए । कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालको शुभकामना सन्देश प्रसारण गरिएको थियो भने पहिलो चरणको कार्यक्रमको संक्षिप्त श्रव्यदृश्य पनि प्रस्तुत गरिएको थियो ।
विभिन्न १२ खेलको प्रतिस्पर्धा भएको थियो । बालबालिकाका लागि मनोरञ्जनात्मक प्रदर्शन पनि राखिएको थियो । एनएसएसएफका महासचिव राजकुमार कार्कीले उत्साहजनक सहभागिता गराई कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष÷अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गर्दै धन्यवाद दिए । सानै उमेरदेखि बालबालिकालाई खेलकुदप्रति आकर्षित गर्ने उद्देश्यले सन् २०१२ मा इसीइटीएले किन्डर ओलम्पिकको सुरुवात गरेको थियो ।









प्रतिक्रिया दिनुहोस्