साम्बाको प्रभावशाली प्रदर्शनमा वेलिङटनको लगातार दोस्रो जित



काठमाडौँ ।

अस्ट्रेलियाको शीर्ष डिभिजनको महिला फुटबल लिग निन्जा ‘ए’ लिगमा नेपाली राष्ट्रिय टोलीकी कप्तान तथा स्ट्राइकर सावित्रा भण्डारी साम्बा आबद्ध वेलिङटन फोनिक्सले लगातार दोस्रो जित निकालेको छ । वेलिङटनले मंगलबार भएको खेलमा वेस्टन सिड्नी वेन्डरर्स एफसीलाई ३–० गोलले पराजित गरेको हो । खेलमा साम्बाले एक गोल गर्दा अरु दुई गोलका लागि पास दिइन् ।

सातौँ मिनेटमा मेनको गोलबाट वेलिङटनले अग्रता लियो । यो गोलका लागि सम्बाले पास दिएका थिए । साम्बाले ४८ मिनेटमा टोलीको अग्रता दोब्बर पारिन् । ५२ मिनेटमा मेनले व्यक्तिगत दोस्रो गोल तथा टोलीका लागि तेस्रो गोल गर्न सफल भइन् । सो गोलका लागि पनि साम्बाले नै पास उपलब्ध गराएकी थिइन् ।

साम्बाले वेलिङटनका लागि लगातार दोस्रो खेलमा गोल गर्न सफल भएकी हुन् । यसअघि उनले सिड्नीविरूद्ध वेलिङटनले ७–० गोल जित निकाल्दा २ गोल गरेकी थिइन् । साम्बा आबद्ध न्युजिल्यान्डको वेलिङटन लगातार दोस्रो जितसँगै अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ । उसले ७ खेलबाट ११ अंक जोडेको छ । जसमा ३ जित र २ बराबर सामेल छन् । ११ टोली आबद्ध लिगमा वेलिङटन न्युजिल्यान्डबाट प्रतिस्पर्धा गर्ने एक्लो टोली हो । लिगमा बाँकी दश टोली अस्ट्रेलियाका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस १६ गते बुधबार