एउटै पार्टीमा रवि, बालेन र कुलमानः बन्यो बलियो वैकल्पिक राजनीतिक शक्ति



काठमाडौँ महानगरका नगरप्रमुख बालेन्द्र शाह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टी र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीबीच एकताका लागि सहमति भएको छ । अब उक्त पार्टीको सभापतिमा रवि लामिछाने र पहिलो वरीयताको उपसभापतिमा घिसिङ रहनेछन् । आसन्न प्रतिनिधिसभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह बन्ने छन् ।

शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

पछिल्लो नेपाली राजनीतिका शक्तिशाली तीन पात्र रवि लामिछाने, बालेन्द्र शाह र कुलमान घिसिङ एउटै पार्टीमा आबद्ध भएका छन् । २०८२ पुस १३ गते दुईवटा पपुलिस्ट समूह (बालेन समूह र राष्ट्रिय स्वतन्त्र पार्टी)का बीच एकता भएको छ । यस्तै, २०८२ पुस १४ गते अन्तरिम सरकारका मन्त्रीसमेत रहेका कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच एकता भएको हो ।

बालेन समूह, रास्वपा र उज्यालो नेपाल पार्टीबीचको एकतापछि अब तीनैजना एउटै पार्टी, झण्डा र चुनाव चिन्हमा राजनीतिमा सक्रिय हुनेछन् ।
रवि, बालेन र कुलमानबीच एकता भएसँगै परम्परागत राजनीतिक शक्तिहरूलाई टक्कर दिन सक्ने बलियो वैकल्पिक शक्ति निर्माण भएको छ। फरक पृष्ठभूमिका यी तीन चर्चित पात्रको मिलनले नेपालको आगामी राजनीतिक समीकरण रोचक बन्ने देखिएको छ ।

योसँगै एकतातिर नेपाली काँग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी जस्ता पुराना ठूला राजनीतिक शक्ति रहनेछन् भने अर्कातिरबाट रवि, बालेन र कुलमानसहितको राष्ट्रिय स्वतन्त्र पार्टी वैकल्पिक राजनीतिक शक्तिको रूपमा रहनेछ । यी शक्तिबीचको वास्तविक परीक्षण आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा हुनेछ । बालेन अब स्थानीय सरकारको नेतृत्व छोडेर वैकल्पिक राजनीतिक शक्ति कहलिएको राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत पार्टी राजनीतिमा सक्रिय हुनेछन् ।

कुलमान पनि रास्वपाबाटै पार्टी राजनीतिमा सक्रिय हुने भएका हुन् । आगामी चुनाव लगभग एउटै समयमा राजनीतिमा उदाएका रवि, बालेन र जेनजी विद्रोहपछि राजनीतिक पार्टी खोलेका कुलमानको मिलनले चर्चित पात्रबीचको एकताले नेपाली राजनीति नै तरंगित बनेको छ । वैकल्पिक शक्तिका रूपमा हेरिएका रवि, बालेन र कुलमानको मिलनले नेपालका परम्परागत राजनीतिक शक्तिहरूमा हल्लीखल्ली नै मच्चिएको छ ।

¥यापर र इन्जिनियर पृष्ठभूमिका बालेन, सञ्चारकर्ममार्फत राजनीतिमा उदाएका रवि र नेपालमा रहेको १८ घण्टा लामो लोडसेडिङ हटाएर लोकप्रिय बनेका कुलमान नेपालीमाझ लोकप्रिय तीन पात्रको एकतालाई निकै महत्वका साथ हेरिएको छ । २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस र नेकपा एमाले जस्ता परम्परागत शक्तिलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौँको मेयर जितेर सनसनी मच्चाएका बालेन चर्चित पात्र हुन् ।

बेलाबेलामा सामाजिक सञ्जालमा मुखरित हुने र अन्तर्मुखी स्वभावका बालेनको सबैभन्दा ठूलो शक्ति नै युवापुस्ताले उनीमाथि गरिरहेको आशा हो । भदौ २३ र २४ पछिको जेनजी विद्रोहपछि त बालेनलाई अन्तरिम सरकारको प्रधानमन्त्री नै अफर गरिएको थियो । पुरानो राजनीतिक केन्द्र हल्लाउँदै नयाँ ध्रुव बन्ने बालेनको महत्वाकांक्षा अब काठमाडौँ महानगरबाट सिंहदरबारतर्फ अघि बढ्नेतर्फ उन्मुख छ ।

उस्तै समयमा सञ्चारकर्म छोडेर राजनीतिमा हाम फालेका रवि लामिछानेले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी २१ सांसदसहित चौथो शक्ति बन्दै परम्परागत शक्तिलाई ठूलो धक्का दिएका थिए । २०७९ सालको आमनिर्वाचनमा पहिलोपटक भाग लिएको रास्वपाले प्रत्यक्षमा ७ र समानुपातिकमा १३ गरी २० सिट जितेको थियो । उपनिर्वाचनमा १ बढाउँदा रास्वपाले २१ सिट जितेको थियो । गृहमन्त्री र उपप्रधानमन्त्रीसमेत भइसकेका रविको विवादस्पद तथा सार्वजनिक छविका कारण राजनीतिक जीवन भने निकै उतारचढाव छ ।

उनी अझै प्रश्न र विवादको घेराबाट भने मुक्त छैनन् । कुलमान भने अहिले नागरिक सरकारमा महत्वपूर्ण तीन मन्त्रालयको जिम्मेवारीमा छन् ।उनको संरक्षकत्वमा उज्यालो नेपाल पार्टी जेनजी आन्दोलनपछि नै निर्वाचन आयोगमा दर्ता भएको हो । सरकारको जिम्मेवारीका कारण पार्टीको कार्यकारी भूमिकामा नदेखिए पनि उज्यालो नेपाल पार्टी कुलमानकै ब्राण्ड थियो । अब भने उनले पार्टीलाई रास्वपामा विलय गराएका छन् ।

रवि, बालेन र कुलमानमा एकपटक देशको नेतृत्व गर्ने महत्वकांक्षा भने लुकेको छैन । रवि र बालेन जनताबाट अनुमोदन भइसकेका छन् भने कुलमान भने पहिलोपटक जनतामाझ जादैँछन् । पछिल्लो पटक भदौ २३ र २४ पछिको जेनजी विद्रोहपछिको राजनीतिक परिस्थितिले भिन्न स्वभाव र फरक पृष्ठभूमिका यी तीन पात्रलाई एउटै ठाउँमा उभ्याएको छ । रवि, बालेन र कुलमानको मिलनले आगामी चुनावमा परम्परागत राजनीतिक शक्तिहरूलाई ठूलै धक्का दिन सक्ने आंकलन गरिएको छ ।

असन्तोष, आक्रोश र अपेक्षाको चौराहामा उभिएको नेपाली राजनीतिमा तीन चर्चित पात्रको मिलनले कस्तो प्रभाव पार्ला भन्ने अड्कलबाजीसमेत सुरु भएको छ । रवि, बालेन र कुलमानको मिलनलाई लिएर राजनीतिक वृत्तमा उत्साह, आशा र संशय मिश्रित प्रतिक्रिया आइरहेको छ । खासगरी परम्परागत राजनीतिक दलहरूबाट रुष्ट नागरिक नयाँ शक्तिप्रति आशावादी देखिन्छन् । यिनीहरूको मिलनले पुराना राजनीतिक शक्तिहरूलाई नराम्रोसँग झस्काएको छ ।

यस्ता छन् सातबुँदे सहमतिका मुख्य विषय

बालेन र राष्ट्रिय स्वतन्त्र पार्टी मिल्दा सातबुँदे सहमति भएको थियो । कुलमान संरक्षक रहेको उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीचसमेत सातबुँदे सहमति भएको छ । तीन पक्षबीचको सहमतिमा नवयुवाहरूले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको अपनत्व लिई घाइते तथा सहिद परिवारका मागहरूको यथोचित सम्बोधन गर्ने प्रतिबद्धता जनाउने सहमति भएको छ ।

अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमान्दार कार्यान्वयनप्रति समर्पित हुने सहमति गरिएको हो । पहिलो पक्ष र दोश्रो पक्षबीच बृहत् एकता भएपश्चात् स्थापित हुने राजनीतिक दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’, दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्यभागमा सेतो रंगको गोलाकार बीचमा निलो रंगको घण्टीको आकृति, दलको चुनाव चिन्ह घण्टी र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने जनाइएको छ ।

सबैभन्दा महत्वपूर्ण मानिएको बुँदा नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधिसभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने जनाइएको छ । अर्काे सातबुँदे सहमतिमा रास्वपाको तर्फबाट सभापति लामिछाने र उज्यालो पार्टीका तर्फबाट उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका छन् ।

सहमतिको साक्षीको रूपमा बालेन्द्र शाहको हस्ताक्षर छ । सहमतिको चौथो नम्बर बुँदामा ‘राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने र उपसभापतिमा कुलमान घिसिङ, डीपी अर्याल र स्वर्णीम वाग्ले’ रहने उल्लेख गरिएको छ । सहमतिअनुसार अब रास्वपाले उज्यालो नेपालको अभियानलाई अपनत्व लिनेछ ।

यस्तै उज्यालो नेपाल पार्टीमा आबद्ध युवा अभियन्ता एवं अनुभवी विज्ञहरूलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छबिलाई आधार मान्ने सहमति भएको हो । यसैगरी नवयुवाहरूले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको मर्मलाई आत्मसात् गर्दै घाइते तथा सहिद परिवारको मागहरूको यथोचित सम्बोधन गर्ने प्रतिबद्धता जनाइएको छ ।

समानुपातिक सूचीमा चर्चित अनुहार 

राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा ११० जना समानुपातिक उम्मेदवारको सूची बुझाएको छ । पार्टीले रास्वपासहित बालेन समूह र उज्यालो नेपाल पार्टीबाट समाहित भएकाहरू सहितको एकीकृत सूची आयोगमा बुझाएको हो । रास्वपाले बुझाएको बन्दसूचीमा केही चर्चित अनुहार पनि रहेका छन् । उक्त लिष्टमा व्यवसायी, चिकित्सक, कलाकार, अभिनेतृ, टीभी होष्ट, क्रिकेटरदेखि जेनजी अगुवासमेत रहेका छन् ।
२०१९ को मिस नेपाल विजेता अनुष्का श्रेष्ठ समानुपातिक सूचीमा परेकी छन् ।

उनी आदिवासी महिला क्लस्टरको चौथो नम्बरमा छिन् । चर्चित लोकदोहोरी गायक प्रकाश सपुत समानुपातिक सूचीमा छन् । उनी सूचीको ७४औँ नम्बरमा छन् । दलित क्लस्टरबाट उनी दोस्रो नम्बरमा छन् । त्यस्तै अभिनेतृ रीमा विश्वकर्मा पनि रास्वपाको समानुपातिक सूचीमा परेकी छन् । उनी दलित महिला क्लस्टरबाट पहिलो नम्बरमा परेकी छन् । उनी उज्यालो नेपाल पार्टीमा केन्द्रीय सदस्य थिइन् । फिल्म निर्माता, टेलिभिजन प्रस्तोता आसिफ शाह मुस्लिम क्लस्टरबाट पहिलो नम्बरमा छन् ।

गायिका सत्यकला राई र डा. त्रिसाला गुरूङ पनि सूचीमा छिन् । त्यस्तै क्रिकेटर ज्ञानेन्द्र मल्ल आदिवासी जनजाति क्लस्टरको पाँचौँ नम्बरमा छन् । उनीभन्दा अगाडि डा. राम लामा, खुश्वुसरकार श्रेष्ठ, मिङ्मा ग्याबु शेर्पा र डा. मनोहर प्रधान छन् । गोल्डस्टार जुत्ता कम्पनीकी कार्यकारी निर्देशक विदुषी राणा खसआर्य महिलाबाट दोस्रो नम्बरमा छिन् । पहिलो नम्बरमा प्रतिभा रावल समेटिएकी छन् ।

जेनजी अभियानी पुरूषोत्तम यादव सूचीमा छन् । राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्य मोहना अन्सारी, अधिकारकर्मी उर्मिला चौधरी, डा. रामजी राम समानुपातिक सूचीमा छन् । विवेकशील साझा पार्टीबाट रास्वपामा आएका समीक्षा बाँस्कोटा, रञ्जु दर्शना र प्रकाशचन्द्र परियार, रास्वपाबाटै रमेश प्रसाईँ, विपीनकुमार आचार्यदेखि ज्वाला संग्रौलासम्म छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस १६ गते बुधबार