‘मानवअधिकार रक्षाका लागि निर्वाचन समयमै हुनु जरुरी’



नेपालगन्ज ।

तोकिएको मितिमै निर्वाचन हुनु मानवअधिकारका दृष्टिले जरुरी रहेको नेपालगन्जमा आयोजित एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेशको आयोजनामा भएको निर्वाचन र मानवअधिकार विषयक अन्तक्र्रिया कार्यक्रमका वक्ताहरूले तोकिएको मितिमा निर्वाचनका लागि सबै राजनीतिक दलहरू केन्द्रित भएर लाग्नुपर्नेमा जोड दिए ।

साथै उनीहरूले निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन सरकारले गम्भीरतापूर्वक काम गर्नुपर्ने पनि बताए । उनीहरूले मानवअधिकारको रक्षाका लागि फागुन २१ मा तोकिएको निर्वाचन भयरहीत निष्पक्षरूपमा समयमै सम्पन्न हुन जरुरी रहेको पनि बताएका छन् । कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता सुनिल श्रेष्ठले अहिले देशलाई निकास दिने एउटै उपाय समयमा निर्वाचन र स्वच्छ निर्वाचन रहेको बताए । उनले निर्वाचन हुन्छ कि हुन्न भन्ने आशंका नागरिकहरूमा रहेको उल्लेख गर्दै भदौ २२ अघिकै अवस्थामा फर्काउन संसद पुनःस्थापना भनिएको हो कि? भन्ने प्रश्न गरे।

नागरिकहरूलाई निर्धक्क चुनावमा भाग लिनका लागि सुरक्षा निकायबाट पनि विश्वस्तताको वातावरण बनाउन जरुरी रहेको बताए ।राजनीनितक विश्लेषक नरेन्द्रजंग पिटरले राजनीतिक दलहरूले आफूलाई समीक्षा नगर्नु चिन्ताको विषय भएको बताए । उनले एमाले र काँग्रेसप्रति लक्षित गर्दै एकातर्फ संसद पुनस्र्थापनाको मुद्धा लिएर अदालत जाने अनि अर्कोतर्फ चुनावको तयारी पनि गर्ने तरिकाले जनता भ्रमित भइरहेको बताए । उनले राजनीतिक दलहरूले आफ्नो कमजोरी भएकोमा समीक्षा नगरिकन विश्वास पुनस्र्थापित नहुने ठोकुवा गरे ।

वरिष्ठ अधिवक्ता विजय गुप्ताले अहिले प्रणालीगत असफलताबाट देश गुज्रिरहेको बताउँदै जनताको सर्वोच्चतालाई स्वीकार्ने कि नस्वीकार्ने भन्ने राजनीतिक दलहरू सामू प्रश्न रहेको बताए । उनले कार्यकर्ताहरूलाई आफ्नो विवेक बन्धकी नराख्न आग्रह गर्दै भने, ‘बङ्गलादेश बनाउनु छ भने चुनाव नगराउनुस, हैन भने चुनावको विकल्प छैन, दोहोरो भूमिका नखेल्नुस् ।’

कार्यक्रममा सहभागी युवा सागरराज आचार्यले पुराना राजनीतिक दलमा परिवर्तन आउला भन्ने आशा निभ्दै गएको भन्दै चिन्ता व्यक्त गरे । क्तिवादी राजनीतिक दलको पद्धतिविरुद्ध आफूहरूले आन्दोलन गरेको बताउँदै उनले अब प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री र बेजिल्ला भोटिङको व्यवस्था गरेर चुनावमा जानुपर्ने बताए । नेपाली काँग्रेसका सचिव सुधांशु कोइरालाले संविधानमा त्रुटिहरू रहेको बताउँदै संशोधन रहेको कुरा स्वीकारेर काम गर्न काँग्रेस र एमाले चुकेका बताए ।

उनले अहिलेको सरकारलाई विश्वास गरेर राजनीतिक दलहरू अघि बढ्नुपर्ने र सरकारले पनि प्रमुख राजनीतिक्दलहरूलाई विश्वासमा लिनुपर्ने बताए । आगामी निर्वाचनमा उम्मेदवारीमा युवा पुस्ताको प्रतिनिधित्व गराउन सबै जिम्मेवार हुनुपर्नेमा पनि कोइरालाले जोड दिए । नेकपा एमाले बाँकेका उपाध्यक्ष रत्न खत्रीले भने अहिलेको सरकार असंवैधानिक रहेको र संसद विघटन पनि असंवैधानिक रहेकोले संसद पुनस्र्थापना नै उत्तम विकल्प रहेको तर्क गरे ।

उनले एमाले चुनावबाट भाग्न खोजेको नभै निष्पक्ष निर्वाचन नभएमा नागरिकको मानवअधिकार नै जोखिममा पर्नसक्नेतर्फ जिम्मेवारीपूर्वक सोचेको बताए । उनले भने, ‘नेताहरूलाई स्थानहद तोकिएको छ । लुटिएका हतियार, बर्दी खोस्नेहरू कहाँ छन् ? यही अवस्थामा निर्वाचन भयो भने मानवअधिकारको कत्लेआम हुन्छ कि भन्ने चिन्ता हाम्रो हो ।’

नेपाली कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य अब्दुल हुसेन खाँले निर्वाचन मानवअधिकारको विषय भएको बताउँदै त्यसलाई कसैले पनि रोक्न नमिल्ने बताए । तोकिएको समयमा निर्वाचन नै आजको आवश्यकता भएको बताउँदै उनले निर्वाचन हुन्न कि भन्ने संशय राजनीतिक दलले पैदा गरेको बताए । जनता संविधानलाई ठिक ठाउँमा ल्याउन निर्वाचनमा भोट हाल्न तयार रहेको तर्क गरेका उनले पनि दलहरूले आफ्ना गल्तीहरूको समीक्षा गरेर अघि बढ्नुपर्ने बताए ।

इन्सेकका केन्द्रिय समिति सदस्य अधिवक्ता विकास आचार्यको सभापतित्वमा भएको कार्यक्रमा प्रमुख अतिथि रहेका इन्सेकका अध्यक्ष सुशील प्याकुरेलले अहिले सबैभित्र अन्यौलता रहेको बताए । राजनीति दलहरूले इतिहास मात्रै सम्झेर नहुने बताउँदै प्याकुरेलले दलहरूले सन्दर्भिकता गुमाएमा उनीहरू सकिने बताए ।

दलका गलत नीति र अक्षमताले अहिलेको अवस्था आएको बताएका प्याकुरेलले निर्वाचनका विषयमा पनि दोहोरो भूमिका खेलेर जनतालाई भ्रमित गर्न नपाइनेमा जोड दिए । मानवअधिकार हुनका लागि नागरिक अधिकार जरुरी रहेको कुरालाई ध्यानमा राखेर अहिलेको सरकारले शान्तिपूर्ण, भयरहीत र निष्पक्ष निर्वाचन गराउने र दलहरूले त्यसलाई सघाउनु नै बुद्धिमानी हुने बताए ।

बाँकेमा थपिए साढे १७ हजार मतदाता

आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि बाँके जिल्लामा साढे १७ हजार नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय बाँकेका अनुसार जिल्लामा १७ हजार पाँच सय पाँच जना नयाँ मतदाता थपिएका हुन् । अघिल्लो निर्वाचनमा तीन लाख ३३ हजार नौ सय ३४ जना मतदाता रहेकोमा पछिल्लोपटक भएको मतदाता दर्ता अभियानपछि तीन लाख ५१ हजार चार सय ३९ जना मतदाता सङ्ख्या पुगेका कार्यालय प्रमुख टेकबहादुर शाहीले जानकारी दिए ।

क्षेत्र नम्बर १ मा एक लाख २१ हजार पाँच सय ३१, क्षेत्र नम्बर २ मा ९८ हजार पाँच सय १२ र क्षेत्र नम्बर ३ मा एक लाख १३ हजार आठ सय ९१ जना मतदाता रहेका छन् । यसबीचमा कार्यालयले दोहोरो नाम भएका नौ सय ५४ जनाको नाम पनि हटाइएको जनाएको छ । शाहीका अनुसार जिल्लामा एउटा मतदानस्थल र २३ वटा मतदान केन्द्रहरू पनि थपिएका छन् । यससँगै जिल्लामा आगामी निर्वाचनमा एक सय ३९ मतदानस्थल र चार सय तीनवटा मतदान केन्द्र रहनेछन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस ११ गते शुक्रबार