
वैशाख २, २०७४-प्राचीनकालदेखि नै खजुर बलवर्धक मानेर उपयोग हुँदै आएको छ ।
आयुर्वेदअनुसार खजुर शीतल, मधुर रस भएको, स्निग्ध, रुचिकारक हुन्छ । यो मुटुका लागि राम्रो हुन्छ, तृप्ति दिने खालको हुन्छ ।
आयुर्वेदले खजुरलाई वीर्यवर्धक, पौरुष जगाउने, बलदायक मानेको छ ।
यसको नियमित सेवनले क्षय, रक्तपित्त, वायु, वान्ता, कफ, ज्वरो, अतिसार, भोक, प्यास, खोकी, सास, दम, मुच्र्छा र वातपित्तको समस्यामा आराम मिल्छ ।
मद्यपानका कारण भएको शारीरिक क्षति र रोग नष्ट गर्नसमेत खजुर उपयोगी मानिन्छ । आयुर्वेदले यसलाई शीत वीर्य मानेको छ । तर खजुर सुकेपछि बन्ने छोगडा (छुहारा) चाहिँ न्यानो प्रकृतिको हुन्छ ।
खजुरमा प्रोटिन १.२, बोसो ०.४, कार्बोहाइड्रेट ३३.८, सूत्र ३.७, खनिज द्रव्य १.७, क्याल्सियम ०.०२२ तथा फोस्फोरस ०.३८ प्रतिशत हुन्छ ।
खजुर वृक्षको रसमा भिटामिन बी र सी पर्याप्त मात्रामा हुन्छ । त्यस्तो रस केही समयसम्म बाहिर राख्दा मादक पदार्थजस्तै वस्तुमा परिणत हुन्छ, जसलाई हाम्रो समाजमा ‘ताडी’ भन्ने गरिन्छ । त्यस्तो रस वृक्षबाट निकाल्नेबित्तिकै खाँदा धेरै पौष्टिक र बलवर्धक हुन्छ । तर यसलाई केही समय राख्दा ‘फर्मेन्टेसन’ का कारण या नसा उत्पन्न गर्ने ताडीमा परिणत हुन्छ । खजुरको रसको गुडसमेत बनाइन्छ, जसको उपयोग वात र पित्त हटाउन गरिन्छ ।









प्रतिक्रिया दिनुहोस्