वडाका सेवा गाउँ–गाउँमा विकेन्द्रित



शिवु खनाल । दाङ ।

दाङको राजपुर गाउँपालिकाका वडा नम्बर १, ६ र ७ ले आफनो सेवालाई वडामा मात्र सीमित नराखेर गाउँ–गाउँसम्म पु¥याएका छन्् । स्थानीय वडाबासीहरूलाई वडा कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवाहरू लिन सहज होस् भनेर वडाका सेवाहरूलाई गाउँ–गाउँसम्म विकेन्द्रित गरिएको राजपुर गाउँपालिका–७ का वडाध्यक्ष पुष्कर वलीले जानकारी दिए ।

भारतसँग सीमा जोडिएको दाङको यो वडाले गौरी शंकर मावि भैँसाही नाकामा वडा कार्यालयको शाखा स्थापना गरी त्यस क्षेत्रका वडाबासीहरूलाई सेवा प्रदान गर्दै आएको छ । प्रत्येक महिनाको १, २ र ३ गते सीमावर्ती क्षेत्रमा स्थापना गरिएको वडा कार्यालयमा पुगेर स्थानीय नाकाबासीहरूलाई सेवा दिइँदै आएको वडाध्यक्ष वलीको भनाइ छ ।

प्रत्येक महिनाको पहिलो साता वडाअन्तर्गत रहेका नाकाबासीहरूको सेवामा लगाउने गरिएको उनले बताए । हिउँद महिनाबाहेक वर्षाको समयमा करिब ८ घण्टा पैदल हिँडेर यो वडाका वडाबासी सेवा लिन वडा कार्यालयसम्म पुग्नुपर्ने बाध्यता थियो ।

सेवाग्राहीहरू लामो बाटो हिँडेर वडा कार्यालय आउनुपर्ने बाध्यतालाई यसले अन्त्य गरिदिएको वडाध्यक्ष वलीको भनाइ छ । वडाबाट प्रदान गरिने पञ्जीकाअन्तगर्त जन्मदर्ता, विवाह दर्ता, बसाइँसराइ, सम्बन्धविच्छेद, मृत्यु दर्ता, नागरिकताको सिफारिसलगायतका सेवा शाखा कार्यालयबाट प्रवाहा हुने गरेको छ ।

‘सेवा नै ठूलो कुरा हो । त्यसैले म नागरिकको सेवामै रमाउँछु,’ वडाध्यक्ष वलीले भने, ‘सकेसम्म वडाबाट दिइने सेवालाई गाउँगाउँसम्मै पु¥याउने कोसिस गरिरहेका छौँ ।’ वडामा सेवा लिन आउने अधिकांश व्यक्ति रोगी, असहाय, अपाङ्ग र को ज्येष्ठ नागरिक नै रहने गरेका छन् । ‘सीमावर्ती क्षेत्रमा अझै पनि धेरै समस्या छ । यो क्षेत्रमा राज्यको उपस्थिति हुनैपर्छ भन्ने मेरो मान्यता हो,’ उनले भने । विशेषगरी नाका क्षेत्रमा रहेका वडाबासीहरू वडाको महत्वपूर्ण काम, वडाबाट जारी गरिएका महत्वपूर्ण सूचनालगायतका सेवाहरूबाट बञ्चित हुँदै आएको उनले बताए ।

‘वडाको शाखा कार्यालयमा पुग्दा नाकाबासीको अपेक्षा सबै वडाको सेवा लिन देउखुरी झर्न नपरोस् भन्ने नै देखिन्छ,’ वडाध्यक्ष वलीले भने, ‘सबै वडाबासीलाई एकै नजरले हेर्नै प¥यो । त्यसैले सबैलाई सहज होस् भनेर सेवा विस्तार गरिएको हो ।’

वडाले प्रदान गर्ने सेवाहरू आफ्नै घर आँगनमा पाउँदा नागरिकहरू पनि हर्षित छन् । स्थानीय तहमा एउटै वडा कार्यालय दुई स्थानमा स्थापना भएको सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ । एउटा वडाले दिनुपर्ने न्यूनतम सुविधा ती शाखाहरूबाट समेत उपलब्ध छ । ‘घर नजिकको सरकारलाई स्थानीयले बल्ल महसुस गर्न पाएका छन्,’ वडाध्यक्ष वली भन्छन्, ‘किनकि अन्य अधिकांश वडा कार्यालय वा सरकारी कार्यालयमा जाँदा सेवाग्राहीले धेरै दुःख पाएका उदाहरणहरू छन् ।’

यसअघि सामान्य वडाको सिफारिसका लागि भारतीय भूमि प्रयोग गर्नूपर्ने बाध्यता थियो । सीमावर्ती क्षेत्रमै वडाको शाखा कार्यालय स्थापना भएपछि उक्त समस्या सदाका लागि अन्त्य भएको नाकाबासीहरू बताउँछन् ।

त्यसैगरी, राजपुर गाउँपालिका–६ ले पनि शाखा कार्यालय स्थापना गरेर वडाबाट प्रदान गरिने सेवा प्रदान गर्दै आएको छ । वडा नम्बर ६ का वडाध्यक्ष श्यामबहादुर रोकाले प्रत्येक महिनाको पहिलो हप्ताको बुधबार, बिहीबार र शुक्रबार खांग्रा नाकामा स्थापना गरिएको शाखाबाट सेवा प्रदान गरिँदै आएको जानकारी दिए ।

सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन वडा कार्यालयको समेत शाखा विस्तार गरी सेवाप्रवाह गर्न थालेको उनले बताए । सेवाग्राहीलाई सहज रूपमा सेवा प्रदान गर्नका लागि आफूहरूतदारुकताका साथ लागिपरेको उनले दाबी गरे ।

शाखा कार्यालय स्थापना भएपछि यहाँबाट सामान्य सेवाका लागि घन्टौं हिँड्नुपर्ने नाकाबासीहरू लाभान्वित भएका छन् । सामान्य कामका लागि पनि टाढाको वडा कार्यालयसम्म पुग्नुपर्दा सेवाग्राहीले धेरै दुःख पाएका थिए ।

नाकामै वडा कार्यालयको शाखा स्थापना भएपछि स्थानीय नाकाबासीहरूका समस्या समाधान भएको स्थानीय समाजसेवी चक्रबहादुर खड्का (शिखर)ले बताए । ‘वडाले दिनुपर्ने न्यूनतम सुविधा वडाबासीलाई दिनुपर्छ । वडाबासीबाट कर मात्रै उठाउने, तर सेवा नदिने गर्नु त भएन नि?’ उनले भने, ‘यसरी नाकामै शाखा कार्यालय स्थापना गरी सेवाग्राहीलाई सुविधा दिने दुई नमुना वडा कार्यालय र ती वडाका वडाध्यक्ष साँच्चै जनताका जनप्रतिनिधि हुनुहुन्छ ।’

भारतसँग सीमा जोडिएका राजपुर गाउँपालिकामा तीन वटा वडा पर्दछन् । जसमध्ये १ नं. वडाले भने सीमावर्ती क्षेत्रमा आफ्नो वडाको शाखा कार्यालय स्थापनागर्ने सकिरहेको थिएन । तर गत भदौ ३१ गते बसेको राजपुर गाउँपालिका कार्यपालिकाको बैठकले पटौली नाकामा रहेको एकीकृत स्वास्थ्य केन्द्रको भवनमा शाखा कार्यालय स्थापना गरी नाकाबाटै वडाका सम्पूर्ण सेवाहरू प्रदान गर्ने निर्णय गरेको राजपुर गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष सूर्यप्रसाद चौधरीले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ असोज ५ गते शनिबार