नौ महिनामा आठ लाख पर्यटक नेपाल भित्रिए



काठमाडौँ ।

सन् २०२४ को ९ महिनामा ८ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार यस वर्षको जनवरीदेखि सेप्टेम्बरसम्म ८ लाख १६ हजार ३ सय ३९ पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।

बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार समग्रमा सन् २०२३ को तुलनामा छ प्रतिशत र सन् २०१९ को तुलनामा चार प्रतिशतले पर्यटक आगमन बढेको छ ।

अगष्ट महिनाको तुलनामा सेप्टेम्बरमा भारतबाट नेपाल आउने पर्यटक घटेका छन् भने चीनबाट आउने बढेका छन् । अमेरिकी र युरोपियन मुलुकबाट आउने पर्यटक भने बढेको उनले बताए । सेप्टेम्बरमा भारतबाट २२ हजार नौ सय ८४ र अगष्टमा २५ हजार आठ सय ३२ पर्यटक नेपाल आएका छन् ।

चीनबाट सेप्टेम्बरमा ८ हजार ४२ र अगष्टमा ६ हजार ६ सय १४ पर्यटक आएको निर्देशक लामिछानेले जानकारी दिए । मनसुनका कारण भारतीय पर्यटक घटेका हुनसक्ने अनुमान गरिएको छ । अमेरिकाबाट अगष्टमा ५ हजार ६ र सेप्टेम्बरमा १० हजार ८४ पर्यटक नेपाल भित्रिएका छन् ।

श्रीलंकाबाट सेप्टेम्बरमा ४ हजार ९ सय १५ र अगष्टमा ४ हजार ८ सय ५१ पर्यटक नेपाल आएका थिए । बोर्डका अनुसार गत अगष्टमा मात्र ७२ हजार ७ सय १९ पर्यटक नेपाल आएका थिए ।

सन् २०२३ को सेप्टेम्बरमा ९१ हजार १२, सन् २०२२ को सोही अवधिमा ५८ हजार तीन सय १४, सन् २०२१ को सेप्टेम्बारमा ९ हजार ९ सय ७ र सन् २०१९ मा ९२ हजार ६ सय ४ पर्यटकले नेपाल भ्रमण गरेको बोर्डले जनाएको छ ।

मार्चमा सबैभन्दा बढी १ लाख २८ हजार १ सय ६७ र सबैभन्दा कम जुलाइमा ६४ हजार ५ सय ९९ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

अप्रिलमा १ लाख ११ हजार ३ हजार ७६, सेप्टेम्बरमा ९६ हजार ३ सय ५, जनवरीमा ७९ हजार १ सय, फेबु्रअरीमा ९७ हजार ४ सय २६, मेमा ९० हजार २ सय ११, जुनमा ७६ हजार ७ सय ३६ र अगस्टमा ७२ हजार ७ सय १९ पर्यटक नेपाल आएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

प्रकाशित मिति : २०८१ असोज १७ गते बिहीबार