कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका– ११ स्थित हरियालीमार्ग अन्तर्गतको सडकमै लेखिएको छ, ‘सावधान ! बाटो बन्द छ । निर्माण कार्य हुँदैछ ।’ त्यतिमात्रै होइन न्युरोडतर्फको सडक छेउमा समेत ठूलो बोर्ड टाँसेर अस्थायी रूपमा बाटो पूर्णरूपमा बन्द गरिएको उल्लेख गरिएको छ । त्यहाँ लेखिएको छ, ‘यो बाटो महोत्सव आयोजनाका लागि प्रयोग गरिएको छ ।’ तर, ती दुई सडक न त मर्मत कार्य भइरहेको छ । त कुनै सार्वजनिक हितका लागि हुने कार्य वा सडक विस्तार ।
त्यहाँ कोहलपुर उद्योग वाणिज्य संघले महोत्सवको मूल गेट निर्माण र व्यापारिक प्रयोजनका लागि स्टल राख्नको लागि बाटो बन्द गरेको छ ।सार्वजनिक सडक प्रयोग र बन्दका लागि संघले स्थानीय सरकार र अन्य कुनैपनि निकायमा लिखित वा मौखिक अनुमतिसमेत लिएको छैन ।अझ स्थानीय सरकार र त्यसको नेतृत्वको लाचारीपनको फाइदा उठाउँदै खुलेयाम रूपमा सडक बन्द गरेर घेरबार गरिएको छ । बाटो बन्द हुँदा कोहलपुरका हजारौँ नागरिक प्रभावित भएका छन् । अत्यावश्यक सेवासमेत प्रभावित भएका छन् ।
अहिले महोत्सवका नाममा सार्वजनिक बाटो बन्द गरिएपछि कोहलपुरमा नागरिकस्तरबाट विरोध भइरहेको छ । महोत्सव आयोजक कोहलपुर उद्योग वाणिज्य संघमाथि बन्द सडक खुलाउन चर्को दवाव परिरहेको छ । यसैसन्दर्भमा कोहलपुरका क्रियाशील विद्यार्थीहरूले बन्द सडक खुलाउन चेतावनी दिएका छन् । बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका स्ववियू सभापति देवेन्द्र बुढाको नेतृत्वमा विद्यार्थीहरूले महोत्सवको नाममा बन्द गरिएको सडक तत्काल बन्द गर्न आह्वान गरेको छ ।
आवतजावत गर्ने बाटो अवरूद्ध गरेर मेला आयोजना गरिनु लज्जाको विषय भएको उनले बताए । उनकाअनुसार मेला महोत्सव आयोजना गर्नुको उद्देश्य उद्योग व्यापारको विकास र प्रवद्र्धन गर्नु हो । नकी सर्वसाधारणको अधिकारलाई कुण्ठित गर्ने हैन ? तत्काल निर्णय सच्चाउनुपर्ने उनले बताए । सोही विषयमा बुढाको नेतृत्वमा विद्यार्थीहरूको समूहले सोमबार महोत्सव मूल आयोजक समितिका संयोजक प्रदीप भट्टराईसँग छलफलसमेत गरेको थियो ।
उक्त अवसरमा सभापति बुढाले अध्यक्ष भट्टराईलाई महोत्सवका नाममा सार्वजनिक बन्द गर्ने अनुमति कसले दियो भन्दै प्रश्न गरेका थिए । उनले सडक बन्द तत्काल खोल्नुपर्ने नत्र मेला नै आयोजना हुने परिस्थिति नबन्ने चेतावनी दिए । ‘मेलाका नाममा सडक बन्द गर्ने विषयमा यहाँका विद्यार्थीहरूका लागि स्वीकार्य छैन । रचनात्मक सहयोग गर्न हामी तयार छौँ । तर गलत कार्य सह्य हुँदैन । तत्काल यो सच्चाउनुहोला,’ बुढाले भने । कोहलपुर व्यवसाय प्रवद्र्धनका नाममा मेला आयोजना गर्ने तर सार्वजनिक बन्द गर्ने अधिकार संघलाई नभएको सभापति बुढाको भनाइ थियो ।
महोत्सव सीमित व्यक्तिको कमाइ खाने भाँडो बन्नु हुँदैन भन्ने कुरामा आफुहरू स्पष्ट रहेको भन्दै त्यस्ता कार्यपछि नलाग्न पनि उनले संघलाई सुझाव दिएका थिए । सडक बन्द गर्ने कुरा नगरपालिका र संघलाई अधिकार नै नभएको स्पष्ट पार्दै सत्ता र शक्तिको दुरुपयोग नगर्नसमेत उनले चेतावनी दिए । सार्वजनिक सडक कब्जा गरेर मेला आयोजना गर्नुको उद्देश्य के हो ? भन्दै उनले आफूले जवाफका साथै सडक खुलाउनुपर्ने माग राखेको उनको भनाइ छ ।
उक्त अवसरमा उनीहरूले विद्यार्थीहरूलाई मनोरञ्जनको क्षेत्रमा दिइने ४५ प्रतिशत छुट दिने विषय र सडक अतिक्रमण गरी बनाएको संरचना हटाउनुपर्छ भन्ने माग रहेको बताएका थिए । विद्यार्थीहरूको मागमा संघ सकारात्मक रहेको अध्यक्ष भट्टराईको भनाइ थियो । उनीहरूकोसँग कुराकानीमा उनले नगरपालिकाले बाटो बन्द गर्ने अनुमति नदिएकोसमेत स्वीकार गर्दै व्यवसायिक हितको लागि बाटो बन्द गर्नु परेको उनले बताएका थिए । कोहलपुर महोत्सवलाई सफल बनाउन विद्यार्थीहरूको समेत साथ र सहयोगको अपेक्षा गरेको समेत बताए ।








प्रतिक्रिया दिनुहोस्