जाजरकोट दरबार कप पुरुष राष्ट्रिय भलिबल हुँदै



जाजरकोट ।

जाजरकोटमा राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ । ५३औँ जाजरकोट रमाइलो मेलाको अवसरमा पुस १२ गतेदेखि १६ गतेसम्म भेरी नगरपालिका ३ मा जाजरकोट दरबार कप खुला राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको हो । जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले आयोजना गरेको प्रतियोगिताको विजेताले ३ लाख १ सय ५३ रूपैयाँ नगद पुरस्कार पाउने छ ।

त्यस्तै उप विजेताले २ लाख १ सय ५३ रूपैयाँ पुरस्कार पाउँदा तृतीय हुने टिमले १ लाख १ सय ५३ रूपैयाँ पुरस्कार पाउने आयोजक समितिका सह संयोजक यज्ञ बस्नेतले जानकारी दिए । त्यस्तै विभिन्न व्यक्तिगत विधामा खेलाडीलाई समेत पुरस्कृत गरिने भएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १० हजार पुरस्कार पाउने बस्नेतले बताएका छन् ।

उनका अनुसार वेस्ट स्पाइकर, वेस्ट सेटर, वेस्ट क्विकर, वेस्ट ब्लकर र राइजिङ स्टारले जनही ३ हजार नगद पुरस्कार पाउने छन् । प्रत्येक खेलका म्यान अफ द म्याचलाई १५ सय प्रदान गरिने छ भने वेस्ट लिवेरो र वेस्ट टिम म्यानेजरलाई समेत आकर्षक पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागिताका लागि १० हजार दर्ता शुल्क तोकिएको छ । प्रतियोगिताको ब्रान्ड एम्बेस्डरमा राष्ट्रिय महिला भलिबल खेलाडी कामना विष्ट रहेकी छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस ६ गते आइतबार