काठमाडौँ ।
पहिलो पटक आयोजना भएको साफ महिला क्लब च्याम्पियनसिपको उपाधि भारतको इस्ट बंगालले जितेको छ । कप्तान फजिला इक्वापुटको दुई गोल मदतमा नेपालको एपीएफलाई ३–० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो । त्रिपेश्वरस्थित दशरथ रंगशालामा ८ हजार भन्दा बढी दर्शकको उपस्थिति रहेको खेलमा घरेलु टोली एपीएफले फाइनलमा इस्ट बंगालसामु खासै अवसर बनाउन सकेन । इस्ट बंगालका लागि कप्तान फजिला इक्वापुटले दुई तथा सिल्की देवी हेनानले एक गोल गरिन् ।
कप्तान फजिला इकापुटले २२औँ मिनेटमा गोल गरेकी थिइन् । इस्ट बंगालकी सरिता युमनानको प्रहार मनमाया दमाईँले हेडमार्फत क्लियर गर्न खोजेपनि सफल नभएपछि फजिलाले बल पाइन् । उनले हानेको प्रहार गीता रानालाई लाग्दै गोल भएको हो । ३५औँ मिनेटमा असलतादेवीको क्रसमा सिल्की देवी हेनानले पेनाल्टी बक्स भित्रबाट हेड मार्फत गोल गर्दै अग्रता दोब्बर पारिन् ।
दोस्रो हाफ सुरु भएलगत्तै फजिलाले व्यक्तिगत दोस्रो गोल गर्दै इस्ट बंगाललाई ३–० ले अगाडि राखिन् । फजिलाले पेनाल्टी बक्सको बाहिरबाट गीता रानालाई छलाउँदै हानेको प्रहार गोल भएको हो । एपीएफकी गोलकिपर अन्जना राना मगरको गल्तीमा गोल भएको थियो । त्यसपछि कुनै गोल भएनन् र इस्ट बंगाल च्याम्पियन बन्यो । च्याम्पियन इस्ट बंगालले १० हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्दा उपविजेता एपीएफले ५ हजार डलर पाएको छ ।
उपाधि जित्ने क्रममा इस्ट बंगाल अपराजित रह्यो । कुनै गोल समेत कन्सिड गरेन । त्यसमा युगान्डा राष्ट्रिय महिला फुटबल टिमकी उपकप्तान समेत रहेकी फजिला काठमाडौंमा भएको प्रतियोगिताभर नै पूरा छाइन् । उनले कूल ९ गोल गरिन् । पहिलो खेलमा ट्रान्सपोर्ट युनाईटेड लेडिज विरुद्ध दुई गोल गरेकी उनले नसरिन स्पोट्र्स एकेडेमी विरुद्ध ५ गोल गरिन् ।
फजिला त्यस्ती खेलाडी हुन् जसले सन् २०१८ मा युईएफए महिला च्याम्पियनसिप लिग अन्तर्गत काजखस्तानको बिक काजीगर्टबाट खेल्दै बार्सिलोना विरुद्ध गोल गरेकी थिइन् । यो संस्करणको साफमा पाँच टोलीले भाग लिएका थिए । नेपालको एपिएफ र भारतको इस्ट बंगालसहित भुटानको ट्रान्सपोर्ट युनाइटेड, पाकिस्तानको कराँची सिटी र बंगलादेशका नशरिनले भाग लिएका थिए ।
जसमा एपिएफ र इस्ट बंगाल लिग चरणमा अपराजित रहँदै फाइनल खेलेका हुन् । एपिएफले भुटानी क्लब र इस्ट बंगालसँग बराबरी खेल्दा कराँची र नशरिनलाई पराजित गरेको थियो । इस्ट बंगालले भने एपिएफ बाहेक अरु सबै टोलीलाई हराएर शीर्ष स्थान हासिल गरेको थियो ।









प्रतिक्रिया दिनुहोस्