बैजनाथमा हुलाक सेवा प्रवाहसम्बन्धी अन्तरक्रिया



बैजनाथ (बाँके) ।

जिल्ला हुलाक कार्यालय बाँकेले बुधबार बैजनाथमा नागरिकसँग सेवा प्रवाहसम्बन्धी अन्तक्र्रिया एवमं प्रचारप्रसार कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बैजनाथ गाउँपालिकामा रहेका सबै प्रकारका बैंकहरू, लघुवित्तीय संस्था, सहकारी संस्था, सरकारी कार्यालयका प्रतिनिधिहरू, सरकारी तथा गैरसरकारी विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरू र बैजनाथ गाउँकार्यपालिकाका कार्यालय शाखा प्रमुखलगायत सरोकारवाला बौद्धिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा जिल्ला हुलाक कार्यालय बाँकेका हुलाक अधिकृत गजेन्द्रप्रकाश थारू, बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाही, गाउँपालिकाका उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत तथा गाउँपालिकाका वडा अध्यक्षहरूको सहभागिता रहेको थियो । जिल्ला हुलाक कार्यालय बाँकेका खरिदार साधुराम चौधरीले सञ्चालन गरेको कार्यक्रममा नायब सुब्बा शान्ता शाही सिंहले स्वागत गरेकी थिइन् ।

हुलाकको सेवा प्रवाहसम्बन्धी विस्तृत जानकारी पावर प्वाइन्टमार्फत खरिदार रामबहादुर चौधरीले प्रस्तुत गरेका थिऐ । प्रस्तुतीमा कार्यक्रमको उद्देश्य, हुलाकले प्रदान गर्ने सेवासम्बन्धी जानकारी, हुलाक सेवा लिँदादिँदा आइपर्ने समस्याहरू, समस्या समाधानका विकल्पहरू, सेवाग्राहीको दायित्वहरू, बदलिँदो परिस्थितिमा हुलाकले आफ्नो सेवामा गरेका विविधीकरण, प्रविधिको प्रयोग तथा हुलाक सेवामा गरिएका सुधारका विषयहरू मुख्य विषयबस्तुको रूपमा समावेश थिए ।

गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले हुलाक सेवालाई गाउँ वस्तीसम्म प्रचारप्रसार गर्न सम्पूर्ण सहभागीहरूलाई निर्देशन दिनुका साथै हुलाकलाई हरेक समयमा सहयोग गर्न तयार रहेको बताएका थिए । उनले आवश्यक परेको बेलामा आफू र सम्पूर्ण कर्मचारीहरूलाई हुलाक सेवासँग जोड्ने उल्लेख गरे ।

सूर्योदय मावि बैजनाथ १ चिसापानी बाँकेका सहायक प्रधानाध्यापक प्रेमबहादुर शाहीले अबको दुनियामा हुलाकले आफूलाई पूर्णरूपमा प्रविधिमैत्री बनाइ सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउँदै आत्मानिर्भर हुनुपर्ने विषयमा जोड दिए । उनले अबको समयमा मानिसहरूसँग ४÷५ दिनसम्म कुरेर हुलाकबाट सामान लिने पनि समय नभएको बताए । हुलाक अधिकृत गजेन्द्रप्रकाश थारूले अन्तक्र्रिया कार्यक्रममा सक्रियपूर्वक सहभागिताका लागि सबै सहभागीहरूलाई धन्यवाद दिँदै उठेका सवालहरूको जवाफ दिएका थिए । उनले प्राप्त सुझावहरूलाई केन्द्रीय निकायमा पठाउने बताए ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस ३ गते बिहीबार