थाइल्याण्डमा धावक सनमाया र रनमाया सम्मानित



काठमाडौँ ।

थाइल्याण्डको प्रसिद्ध पर्यटकीय तथा साहसिक खेलकुद गन्तव्य च्याङ्गमाईमा गत साता आयोजित विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय ट्रेल रन प्रतियोगितामा उल्लेखनीय सफलता हासिल गरेका नेपाली धावकद्वय सनमाया बुढा र रनमाया बुढालाई नेपाली राजदूतावास बैङ्ककले सम्मान गरेको छ । उक्त अन्तर्राष्ट्रिय ट्रेल रन प्रतियोगिता विश्वकै सबैभन्दा प्रतिष्ठित र चुनौतीपूर्ण अल्ट्रा ट्रेल रन प्रतियोगितामध्ये एक मानिन्छ ।

थाइल्याण्डको उत्तरी पहाडी भूभाग, जङ्गल उकालो–ओरालो तथा कठिन भौगोलिक संरचनालाई समेटेर आयोजना गरिएको उक्त प्रतियोगितामा विश्वका विभिन्न देशका व्यावसायिक तथा अनुभवी धावकको सहभागिता थियो । सो कठिन र प्रतिष्ठित एक सय किलोमिटर लामो ट्रेल रनमा जुम्लाकी धावक सनमाया बुढाले चौथो स्थान हासिल गर्न सफल भएकी थिइन् ।

त्यस्तै, ५० किलोमिटर लामो ट्रेल रनमा सहभागी धावक सनमायाकी बहिनी रनमाया बुढाले सातौँ स्थान हासिल गर्दै नेपाली धावकको क्षमताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेकी थिइन् । उक्त सफलताको कदर गर्दै शनिबार नेपाली राजदूतावास, बैङ्ककमा आयोजित सम्मान कार्यक्रममा धावक सनमायाले जुम्लाको दुर्गम भूगोल, अभावपूर्ण जीवन अवस्था, निरन्तर संघर्ष, कठोर अभ्यास र आत्मविश्वासको यात्राबारे आफ्नो प्रेरणादायी अनुभव सुनाइन् ।

कार्यक्रममा नेपाली राजदूतावासका उपनियोग प्रमुख मोतीबहादुर श्रीसले धावकद्वयलाई बधाई दिँदै खादा लगाई मायाको चिनो प्रदान गरी सम्मान गरे । कार्यक्रममा सहभागी संस्थाका अध्यक्ष कुमार कार्कीले धावकद्वयलाई प्रोत्साहनस्वरुप रु एक लाख सहयोग प्रदान गरेका थिए ।

फुटबलर भरत खवासलाई सम्मान

काठमाडौँ युरो आईबी वल्र्ड स्कुल, गोंगबुले फुटबलर भरत खवासलाई आइतबार नगदसहित सम्मान गरेको छ । काठमाडौँ युरोले स्पोट्र्स मिटको समापन कार्यक्रममा भरतलाई फुटबलको माध्यमबाट राष्ट्रलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन महत्वपूर्ण योगदान गरेवापत सम्मान गरेको हो । लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा आयोजित कार्यक्रममा काठमाडौँ युरोका अध्यक्ष प्रमोद पाण्डे, विद्यालय सञ्चालक समितिका सदस्यद्वय राजाराम पुडासैनी र ज्ञानेन्द्रमान जोशी तथा शैक्षिक निर्देशक डा. दीपक गुप्ताले भरतलाई नगदसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।

सोही अवसरमा भरतले स्पोट्र्स मिटका विभिन्न खेलमा पदक जित्न सफल खेलाडीलाई पुरस्कृत पनि गरे । स्पोट्र्स मिटमा फुटबल, बास्केटबल, एथलेटिक्स, कबड्डी र विभिन्न परम्परागत खेलमा प्रतिस्पर्धा भएको थियो ।

काठमाडौँ युरोले विगतमा करातेकी एरिका गुरुङ, फुटबलकी सरु लिम्बू, ‘साम्बा’ उपनामले चिनिने राष्ट्रिय महिला फुटबल टोलीकै सावित्रा भण्डारी, दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता करातेका दीपक श्रेष्ठ र मन्डेकाजी श्रेष्ठ, १३औँ सागका स्वर्ण विजेता साइक्लिङका बुद्धिबहादुर तामाङ, करातेका पर्शुराम बाँस्तोला, फुटबलका प्रज्ज्वलप्रताप क्षेत्री, सागका कीर्तिमानी धावक वैकुण्ठ मानन्धर, करातेका सुमन तिमल्सिनालगायतलाई सम्मान गरेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर २९ गते सोमबार