कोहलपुर ।
कोहलपुर नगरपालिका–६ मा रहेको जनकल्याण बहुउद्देश्यीय सहकारी संस्थाले संस्थामा आबद्व महिलाहरूलाई स्वरोजगार बनाउन साबुन उत्पादन तालिम प्रदान गरेको छ । सहकारीले संस्थामा आबद्ध रहेका महिलाहरूलाई स्वरोजगार बनाउन पाँचदिने साबुन उत्पादन तालिम प्रदान गरेको हो । संस्थाले विगत लामो समयदेखि विभिन्न स्वरोजगार र सीपमूलक कार्यक्रम गर्दै आएको जनकल्याण बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष हरिबहादुर क्षेष्ठले बताए ।
उनले महिलाहरूलाई उत्पादन सँगसँगै स्वरोजगार बनाउन साबुन उत्पादन तालिम दिएको जनाए । विगतमा बाख्रापालन, मौरीपालन, च्याउखेती लागायतका तालिमहरु समेत प्रदान गरिएको उनले बताए । कोहलपुर नगरपालिका वडा नम्बर ६ को ५० प्रतिशत र संस्थाको ५० प्रतिशत गरेर २ लाख रुपैयाँमा पाँचदिने तालिम प्रदान गरिएको उनले जानकारी दिए ।
आफ्नै ठाउँमा भएका तितेपाती, मह लगायतबाट स्वदेशी साबुन उत्पादन गरेको बताउँदै उनले यसलाई मागअनुसार उत्पादन वृद्धि गर्दै लैजाने बताए । थोरै लागतमा साबुनबाट धेरै आर्थिक आम्दानी गर्न सकिने उनी बताउँछन् । ‘अहिले पहिलो पकट भएकाले सीमित मात्रामा अर्गानिक साबुन उत्पादन गरेका छौँ,’ उनले भने, ‘यसको बजार राम्रो भए उत्पादन वृद्धि गर्छाैँ । यसबाटै संस्थाका सदस्यहरुको जीवन सुधार र स्वरोजर बनाउने लक्ष्य हाम्रो हो ।’
तालिममा सिकेका कुराहरु व्यवहारमा लागू गरेर साबुन उत्पादन गर्नसके यसको बजार राम्रो रहेको प्रशिक्षक सुस्मिता थापा मगरले बताइन् । उनले साबुन सबैले प्रयोग गर्ने र लामो समयसम्म रहेपनि नकुहिने भएकाले यसबाट राम्रो आम्दानी गर्न सकिने उल्लेख गरिन् । पाँचदिने तालिममा २५ जना सहभागी महिलाहरुले उत्साहपूर्ण सहभागिता र चासोका साथ साबुन बनाउन सिकेकाले साबुन बनाएर स्वरोजगार हुनेमा आफू विश्वसत रहेको बताइन् ।
साबुन उत्पादन गरेर आफू र अन्य केही व्यक्तिलाई समेत रोजगार दिन सफल भएको उनको भनाइ छ । कार्यक्रममा सहभागी महिला कृष्ण श्रेष्ठले तालिममा ९ वटा प्रकारका साबुनहरू उत्पादन गर्न सिकेको बताइन् । साबुन उत्पादनलाई नै व्यावसायिक रुपमा अघि बढाउने लक्ष्य रहेको उनले जानकारी दिइन् ।
‘तालिममा सिकेका सीपबाट घरमा साबुन बनाएर बिक्री गर्ने सोचिरहेकी छु,’ उनले भनिन्, ‘अहिले सीप सिकेका छौँ । यसलाई व्यावसायिक रुपमा लिएर स्वरोजगार हुने विश्वास छ ।’ अर्गानिक रुपमा उत्पादन गरेको साबुन बजारको मूल्यभन्दा सस्तो र राम्रो रहेकाले बजारको समस्या नहुने उनी बताउँछिन् ।








प्रतिक्रिया दिनुहोस्