नेपालगन्ज पुगेर किन भक्कानिए माधव नेपाल ?



कोहलपुर (बाँके) ।

बिहीबार नेपालगन्जमा नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देशसभा थियो । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपाका सहसंयोजक माधवकुमार नेपाल सभाका प्रमुख वक्ता थिए । त्रिभुवन चोकमा आयोजित विशाल भेलामा सम्बोधनका क्रमका नेपाल एक्कासि भक्कानिए । भाषण गर्दागर्दा उनले आँसुसमेत खसाले । उनले भने, ‘म भावुक छु धेरै । कोही रोयो भने मलाई पनि रुन मन लाग्छ ।’

आफूलाई सम्हाल्न खोज्दै उनले धेरै कडा भएको भन्दै स्थिति सम्हाल्ने कोसिस गरे । सो क्रममा उनले भने, ‘यही ठाउँ हो, नाम सुन्नु भएको होला, लखनउ । जहाँ मेरो प्रचण्ड जीसँग बारम्बार भेट हुन्थ्यो । उहाँहरुलाई शान्ति प्रक्रियामा ल्याउन मैले भूमिका खेलेको थिएँ । उनले नेपालगन्जसँग जोडिएको विगत सम्झेर भक्कानिन पुगे । उसो त नेपालगन्जसँग नेता नेपालको राजनीतिक विगत जोडिएको छ ।

नेपालगन्ज यही ठाउँ हो, जहाँबाट उनी नेकपा एमालेको शक्तिशाली महासचिव चुनिएका थिए । सोही पदमा रहेर उनी १४ वर्ष एमालेको शक्तिशाली नेता भए । २०५४ माघ १२–१८ सम्म नेकपा एमालेको छैटौँ महाधिवेशन बाँकेको नेपालगन्जमा भएको थियो । उक्त महाधिवेशनले मनमोहन अधिकारीलाई अध्यक्ष र माधवकुमार नेपाललाई महासचिव चयन गर्दै नयाँ नेतृत्व निर्माण गरेको थियो ।

२०५९ माघ १८–२२ गतेसम्म धनुषा जनकपुरमा सातौँ महाधिवेशन भयो । २०५६ वैशाख १३ गते अध्यक्ष मनमोहन अधिकारीको चुनाव प्रचार अभियानका क्रममै निधन भएपछि अध्यक्ष पद महाधिवेशनबाट खारेज गरिएको थियो भने माधवकुमार नेपाललाई पार्टीको एक मात्र पदाधिकारीका रूपमा महासचिव निर्वाचित गरिएको थियो ।

रुपन्देही बुटवलमा २०६५ फागुन ५–१४ सम्म चलेको आठौँ महाधिवेशबाट झलनाथ खनाल नयाँ अध्यक्ष निर्वाचित भएका थिए । २०७१ असार १९ देखि साउन १ सम्म काठमाडौँमा सम्पन्न नवौँ महाधिवेशनमा माधवकुमार नेपाल र केपी शर्मा ओली अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए । त्यो महाधिवेशनबाट केपी शर्मा ओली अध्यक्षमा चुनिए । २०७५ जेठ ३ गते नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकृत भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको थियो । तर संसद् विघटनको विवादले नेकपा फुट्यो ।

त्यही बेला पार्टीको नामबारे अदालतमा मुद्दा परेको थियो । २०७७ फागुन २३ गते सर्वोच्च अदालतबाट अर्कै पार्टीसँग नाम मिलेका आधारमा २०७५ जेठ ३ को एमाले र माओवादी केन्द्रको एकता बदर भएको फैसला भएपछि नेकपा (एमाले) पुनःस्थापित भएको थियो । २०७८ सालमा नेकपा एमालेसँग फुटेर नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादीले पार्टी स्थापना भयो । २०८२ कात्तिकमा नेकपा माओवादी र एकीकृत समाजवादी मिलेर नेपाली कम्युनिष्ट पार्टी बनेको छ । नेपाल उक्त पार्टीको दोस्रो वरीयतामा छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर २७ गते शनिबार