नेपालगन्ज ।
भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा नेपालगन्जमा वाकाथन सम्पन्न गरिएको छ । वागेश्वरी असल शासन क्लब (वास)ले आयोजना गर्दै आएको वाकाथनको पाँचौँ संस्करण मंगलबार सम्पन्न भएको हो । नेपालगन्जको गणेशमान चौकबाट सुरु भएको वाकाथन विपी चौक, त्रिभुवन चौक, सदरलाइन, जिल्ला प्रशासन कार्यालय हुँदै रामलीला मैदानमा पुगेर समापन भएको थियो ।
‘भ्रष्टाचारविरुद्ध सँगै हिँडौँ’ भन्ने नाराका साथ भएको वाकाथनमा भ्रष्टाचारविरुद्धका नारा तथा गीतहरुमार्फत सहभागीहरुले भ्रष्टाचारविरुद्ध नागरिक ऐक्यबद्धता जनाएका थिए । वाकाथनको समापनका लागि रामलीला मैदानमा भएको समारोहलाई सम्बोधन गदैै नेपाल सरकारका पूर्वसचिव एवम् राष्ट्रिय सूचना आयोगका पूर्वप्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले देशमा सुशासन र सदाचार बहालीका लागि सरकार गम्भीर बन्नु पर्ने बताए ।
उनले सबैले मिलेर सुशासनलाई बढावा दिनुपर्नेमा जोड दिए । कार्यक्रममा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङ, राप्ती सोनारी गाउँपालिकाका उपप्रमुख मनिषासिंह थारु, चिकित्सक डा. किशोर खत्री, नागरिक समाजका अगुवा कृष्णप्रसाद श्रेष्ठ, जेनजी समूहका जीवन माझी लगायतले पनि बोलेका थिए । वाकाथन समापन कार्यक्रममा भएको खुला हाजिरीजवाफ प्रतियोगितामा सहभागी २० जना प्रतियोगीहरुलाई पुरस्कार पनि प्रदान गरिएको थियो ।








प्रतिक्रिया दिनुहोस्