कोहलपुर (बाँके) ।
नेपाली कम्युनिष्ट पार्टी बाँकेले भोली एकता तथा सन्देशसभा आयोजना गर्दैछ । मंसिर २५ गते नेपालगन्जको त्रिभुवन चौकमा आयोजना गरिने जिल्लास्तरीय एकता तथा सन्देशसभाको लागि व्यापक पूर्वतयारी भइरहेको नेकपा बाँकेले जनाएको छ । सभामा नेकपाका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रमुख वक्ताको रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सभाको लागि अहिले पार्टीका विभिन्न कमिटीमा प्रचारप्रसार कार्य भइरहेको छ । जिल्ला भेलाका लागि ८१ वटै वडाहरुमा संयुक्त बैठक सम्पन्न भइसकेका छन् । पहिलो पटक आयोजना हुन लागेको जिल्लास्तरीय भेलाको प्रचारप्रसार तीव्र पारिएको नेकपा बाँकेका नेता नरेन्द्र पाण्डे जेम्सले बताए । उनका अनुसार सभाका लागि अहिलेसम्म जिल्ला, पालिका तथा वडास्तरमा तयारी बैठक सम्पन्न भइसकेका छन् ।
सभा सफल बनाउनका लागि विभिन्न उपसमितिहरु गठन गरिएको छ । ती समितिले सक्रिय रुपमा सभाको तयारी गरिरहेको नेता पाण्डेले बताए । ‘सभाको भव्य तयारी भइरहेको छ । बस्ती–बस्तीबाट नेता कार्यकर्ता सहभागी हुन्छन् ।’ उनले भने । सभाको पूर्वतयारीका लागि यातायात व्यवस्थापन उपसमिति, मास परिचालन उपसमिति, प्रचारप्रसार उपसमिति, झाँकी उपसमिति गठन गरिएको छ ।
सभालाई पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री नेपालसहित पार्टीका नेता शक्तिबहादुर बस्नेत र नेता कर्णजित बुढाथोकी लगायतले सम्बोधन गर्नेछन् । बाँके जिल्लास्तरीय एकता सन्देशसभामा १० हजारभन्दा बढी नागरिकहरुको उपस्थिति रहने नेताहरूले दाबी गरेका छन् ।








प्रतिक्रिया दिनुहोस्