थपिएको म्याद सकिँदा पनि बनेन नगरपालिकाको नयाँ प्रशासनिक भवन



सुरुमा नगरपालिका र निर्माण कम्पनीबीच दुई वर्षको सम्झौता भएको थियो । सम्झौता मितिमा काम सम्पन्न नभएपछि ८ महिना म्याद थपियो । उक्त म्याद सकिँदासम्म ६० प्रतिशत मात्रै काम सम्पन्न भएको छ । निर्माण कम्पनीले आगामी चैत महिनासम्मको लागि म्याद थप माग गरेको छ । तर, नगरपालिकाले म्याद थप गरेको छैन ।

कोहलपुर (बाँके) ।

कोहलपुर नगरपालिकाको निर्माणाधीन नयाँ प्रशासनिक भवन सम्झौता सकिएर म्याद थप गर्दा पनि सम्पन्न हुन सकेको छैन । सम्झौता मिति सकिएर थपिएको समय सकिँदासमेत भवन निर्माण सम्पन्न हुन नसकेको हो । हालसम्म नयाँ प्रशासनिक भवनको ६० प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । स्थानीय सरकारको ९ करोड र स्थानीय पूर्वाधार विकास विभागको ६ करोड अनुदानमा दुई वर्षअघि कूल १५ करोड ३८ लाख रुपैयाँ लागतमा नगरपालिकाको नयाँ प्रशासनिक भवन निर्माण कार्य सुरु भएको थियो ।

साढे पाँच तलाको नयाँ प्रशासकीय भवन अत्याधुनिक हो । कोहलपुर नगरपालिकाका इन्जिनियर प्रवीण बस्नेत हालसम्म ६० प्रतिशत मात्रै काम सम्पन्न भएको बताउँछन् । उनका अनुसार अझै ४० प्रतिशत काम हुनै बाँकी छ । नयाँ प्रशासनिक भवन निर्माणका लागि नगरपालिका र निर्माण कम्पनीबीच २०७९ असार २१ गते सम्झौता भएको थियो । त्यसको एक सातापछि असार ३१ गते कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले नयाँ प्रशासनिक भवन निर्माणको शिलान्यास गरेका थिए ।

भवन निर्माणको जिम्मा पाएको एसोसिएट रञ्जितकार जय भवानी जेभी र नगरपालिकाबीच २०८१ पुस २५ गतेभित्र भवन निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख गरिएको थियो । तर, तोकिएको समयमा नगरपालिकाको नयाँ प्रशासनिक भवन निर्माण हुन सकेन । तोकिएको समयमा आधा पनि काम सम्पन्न नभएपछि नगरपालिकाले पहिलो पटक भवन निर्माणको लागि म्याद थप ग¥यो । त्यतिबेला नगरपालिकाले २०८२ भदौ मसान्तसम्म म्याद थप गरेको थियो ।

म्याद थप गरेको समय सकिँदासमेत कम्पनीले अझै भवन निर्माण सम्पन्न गर्न सकेको छैन । ‘सम्झौता भएको मितिमा काम भएन । म्याद थप गर्दासमेत हुन सकेन । अहिले फेरि म्याद थपको लागि भनेको छ,’ इन्जिनियर बस्नेत भन्छन् । म्याद थपको लागि नगरपालिकाको कार्यपालिका बैठकले निर्णय गर्नुपर्ने इन्जिनियर बस्नेतले बताए । यता, निर्माण कम्पनी एसोसिएट जय भवानी रञ्जितकार जे.भी.का प्रतिनिधि अर्जुन पनेरु आफूहरुले दु्रत गतिमा काम गरिरहेको दाबी गर्छन् ।

उनका अनुसार अहिले पनि छिटोभन्दा छिटो काम सम्पन्न गर्नको लागि काम भइरहेको छ । आगामी चैत महिनासम्म म्याद थपको लागि कम्पनीले नगरपालिकालाई पत्र लेखेको तर चिठी नआएको उनले बताए । ‘हामीले काम गरिरहेका छौँ । म्याद थपको लागि भनेका छौँ । नगरले अहिलेसम्म चिठी दिएको छैन । तर थप काम भइरहेको छ,’ मिसन टुडे दैनिकसँग कुराकानी गर्दै पनेरुले भने । भवनको अधिकांश निर्माणको काम सम्पन्न भएको र फिनिसिङको काम भइरहेको उनले बताए ।

उनले फिनिसिङको काम भइरहेको दाबी गरे पनि अन्य धेरै काम गर्न बाँकी छ । साढे पाँच तलाको भवनमा लिफ्ट जडान जस्तो संवेदनशील कामका साथै अन्य थुप्रै काम बाँकी नै छन् । नगरपालिकाको नयाँ प्रशासनिक भवनको लागत अनुमान भ्याटसहित १९ करोड ६० लाखमा ठेक्का खोलेको थियो । ठेक्का प्रक्रियामार्फत एसोसिएट रञ्जितकार जय भवानी जेभीले निर्माण जिम्मा पाएको थियो । कूल १५ करोड ३८ लाख रुपैयाँमा निर्माण सम्पन्न गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

अहिलेसम्म निर्माण भएको ६० प्रतिशत कामको भुक्तानी भइसकेको इन्जिनियर बस्नेतले बताए । भदौपछि मागेको ७० लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको उनले बताए । ‘भदौमा म्याद सकिएको हो । अहिलेसम्म म्याद थप भएको छैन । काम पनि खासै आएको छैन । म्याद थप्ने विषयमा नगर कार्यपालिकाले निर्णय गर्नुपर्छ,’ उनले भने । नगर कार्यपालिकाको नयाँ अत्याधुनिक भवन नगर विकास समितिको उत्तरतर्फको जग्गामा निर्माण भइरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर २४ गते बुधबार