आजदेखि तेस्रो प्याब्सन कोहलपुर रनिङ शिल्ड



कोहलपुर (बाँके) ।

प्याब्सन कोहलपुरको आयोजनामा आजदेखि तेस्रो प्याब्सन कोहलपुर रनिङ शिल्ड खेलकुद प्रतियोगिता सञ्चालन हुँदैछ । कोहलपुर– ११ स्थित न्युरोडको खुला मैदानमा आजदेखि मंसिर १९ गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको हो । आज बिहान ११ बजेदेखि प्रतियोगिताको औपचारिक उद्घाटन हुँदैछ । प्रतियोगिताको लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति प्रा.डा. विनोदप्रसाद ढकालले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजना प्याब्सन कोहलपुरले जनाएको छ ।

अध्यक्ष रमेश केसीले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बताए । उनका अनुसार आज बिहान १० बजे रामजानकी चोकबाट प्याब्सनमा आबद्ध २८ विद्यालयहरुको बृहत् ¥याली सुरु हुनेछ । ¥याली साझा चोक हुँदै खेल मैदानमा पुग्ने उनले बताए । त्यसपछि उद्घाटन समारोह सुरु हुन्छ । उद्घाटन सत्र सकिएपछि पहिलो चरणका खेल सुरु हुनेछन् । प्रतियोगितामा आधारभूत र माध्यमिक तहबीच प्रतिस्पर्धा हुनेछ । माध्यमिक तहको एथ्लेटिक्स र छात्रछात्रा भलिबल प्रतियोगिता हुनेछन् ।

आधारभूत तहका १५ वर्ष पूरा नभएका छात्र÷छात्राबीच एथ्लेटिक्स र फुटसल प्रतियोगिता सञ्चालन गरिनेछ । यसैगरी, आधारभूत तह(नर्सरी–३)का १० वर्ष पूरा नभएका छात्र÷छात्राबीच खेल हुनेछन् । माध्यमिक तहको प्रतियोगितामा एथ्लेटिक्सतर्फ ५३२ र भलिबलमा ३४२ जना गरी जम्मा ८७४ जनाले सहभागिता जनाउनेछन् । यस्तै आधारभूत तहमा एथ्लेटिक्सतर्फ ४४८ जना, फुटसलमा ३९० जना, आधारभूत तह (नर्सरी–३)तर्फ १२० जनागरी कूल ९६० जनाले सहभागिता जनाउनेछन् ।  प्रतियोगितामा कूल १ हजार ८ सय ३८ जनाको सहभागिता हुने आयोजक प्याब्सन कोहलपुर नगर समितिले जनाएको छ ।

खजुरामा रनिङ शिल्डको तयारी

बाँकेको खजुरामा आठौँ अन्तरविद्यालय रनिङ शिल्ड खेलकुद प्रतियोगिताको तयारी तीव्र पारिएको छ । खजुरा गाउँपालिका शिक्षा समिति तथा खेलकुद परिषद्को आयोजनामा ज्ञानोदय नमुना माध्यमिक विद्यालयको सञ्चालन तथा व्यवस्थापनमा मंसिर २६ देखि २९ गतेसम्म सञ्चालन गरिने गरि तयारीलाई तीव्र पारिएको हो । तयारीका लागि मंगलबार सचिवालयको उद्घाटनसमेत गरिएको छ ।

सचिवालयको उद्घाटन गर्दै खजुरा गाउँपालिकाका अध्यक्ष तथा प्रतियोगिताका संयोजक डम्बरबहादुर विकले खजुराका खेलाडी पहिचान गर्न रनिङ शिल्डले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । प्रतियोगिता सञ्चालनका लागि स्थानीय सरकारबाट १० लाख बजेट विनियोजन भएको अध्यक्ष विकले बताए । खेलकुदले एकतामा बदल्ने विश्वास लिइएको भन्दै उनले धेरै ठूलो तामझाम नगरेर खेलकुदका कार्यक्रम सञ्चालन गर्न निर्देशन दिए । आफ्नो आन्तरिक स्रोतहरूको सदुपयोग गरी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा अध्यक्ष विकले सुझाव दिए ।

आठौँ अन्तरविद्यालय रनिङ शिल्ड खेलकुद प्रतियोगिताको प्रतीक चिन्ह मष्कटको रूपमा स्थानीयस्तरमा पाइने जनावर खरायो राखिएको प्रतियोगिता सञ्चालन तथा व्यवस्थापकको जिम्मेवारी पाएको ज्ञानोदय नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक ऋषिराम सापकोटाले जानकारी दिए । प्रतियोगिता सञ्चालनका लागि विभिन्न उपसमितिहरू समेत निर्माण गरि जिम्मेवारी प्रदान गरिएको सदस्य सचिव सापकोटाले जनाए ।

प्रतियोगिता सञ्चालन गर्नका लागि पालिका अध्यक्ष विकको संयोजकत्वमा २३ सदस्यीय समिति निर्माण गरिएको छ । प्रतियोगितामा खजुरा गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत गरि ७३ वटै विद्यालयले सहभागिता जनाउने छन् । प्रतियोगितामा भाग लिने खेलाडीहरूको अनलाइनबाटै दर्ता गर्ने व्यवस्था मिलाइएको सचिवालय संयोजक खगेन्द्र मल्लले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर १७ गते बुधबार