पछिल्ला केही वर्षयता विभिन्न कारणहरूबाट हुने गरेका वायु प्रदूषणका कारण जनजीवन कष्टकर बन्दै गएको देखिन्छ । तत्कालीनरूपमा वायु प्रदूषणका कारण हुने हानिबाट मानवीय क्षति नदेखिए तापनि दीर्घकालीनरूपमा मानवीय जीवनमा अत्यन्तै नकारात्मक असर र प्रभाव पार्दै गरेको देखिन्छ । विशेषगरी रक्तचाप, मुटुरोग, फोक्सो क्यान्सर, श्वासप्रश्वास लगायतका दीर्घरोगीहरू, बालबालिका तथा वृद्धवृद्धालगायत सबै उमेर समूहका नागरिकलाई दैनिकरूपमा हुने वायु प्रदूषणले नकारात्मक प्रभाव पारिरहेको छ । वातावरण विभागको मनिटरिङ प्रणालीको तथ्यांक र विश्वभरीको हावाको गुणस्तरको रेकर्ड लाइभ अपडेट गर्ने आइक्यु एयरको तथ्यांकले पनि जाडो बढेसँगै प्रदूषण संकेत गर्ने हावाको गुणस्तर सुचकांक (एक्युआइ) बढेको देखाइरहेका छन् । वातावरण विभागका अनुसार एक्युआइ शून्यदेखि ५० सम्म हुनुलाई राम्रो मानिन्छ भने ५० भन्दामाथि एक सयसम्म मध्यम, एकसय एकदेखि एक सय ५० हुनु बिरामी मानिसका लागि अस्वस्थ, एकसय ५० भन्दामाथि हुनु सबैका लागि अस्वस्थ, दुई सयभन्दा माथि हुनु अत्यन्त अस्वस्थ र तीन सयभन्दा माथि हुनु खतरनाक मानिन्छ । विश्व बैंकले यसैवर्षको असार महिनामा सार्वजनिक गरेको नेपालमा वायु प्रदूषणको अवस्थासम्बन्धी एक अध्ययन प्रतिवेदनले पनि विशेषगरी मंसिरदेखि मध्यफागुनसम्म वायु प्रदूषण बढ्ने गरेको देखाएको थियो ।
विश्व बैंकले सन् २०२१ र २०२३ मा प्राप्त प्रदूषणको तथ्यांकलाई विश्लेषण गरेर तयार गरेको ‘नेपालमा स्वच्छ हावातर्पm ः फाइदा, प्रदूषणका स्रोत र समाधान’ शीर्षकको उक्त प्रतिवेदनले वायु प्रदूषणका कारण नेपालीको औसत जीवनअवधि ३ दशमलव ४ वर्षले घटाइरहेको र हरेक वर्ष करिब २६ हजार मानिसहरूको असामयिक मृत्यु भइरहेको पनि खुलासा गरेको छ । उक्त अध्ययन प्रतिवेदनले नेपालको काठमाडौँ उपत्यका र तराई क्षेत्र वायु प्रदूषणको हटस्पटको रूपमा रहेको देखाएको छ । प्रतिवेदनका अनुसार फोक्सोसम्बन्धी रोगका कारण हुने मृत्युमा ७५ प्रतिशत मृत्यु वायु प्रदूषणले हुने गरेको उल्लेख गरेको छ भने स्ट्रोकका कारण हुने मृत्युमा ४६ प्रतिशत, मुटुसम्बन्धी रोगका कारण हुने मृत्युमा ४४ प्रतिशत, श्वासप्रश्वाससम्बन्धी समस्याबाट हुने मृत्युमध्ये ४१ प्रतिशत, फोक्सोको क्यान्सरमा ३८ प्रतिशत, नवजात शिशुको हुने मृत्युमा ३० प्रतिशत मृत्यु वायु प्रदूषणका कारणले हुने गरेको छ । स्वास्थ्यसँगै वायु प्रदूषणले श्रम उत्पादकत्व, पर्यटन र उड्डयन क्षेत्रलाई समेत प्रभावित गर्नुका साथै कूल गार्हस्थ उत्पादनमा ६ प्रतिशतभन्दा बढीको घाटा व्यहोर्नुपरिरहेको प्रतिवेदनले भनेको छ । हावामा सबैभन्दा खतरनाक मानिने हानिकारक शुक्ष्म कणहरू पिएम २.५ को मात्रा ५ माइक्रोग्राम प्रतिघनमिटर भएमा मात्रै स्वस्थ मानिने विश्व स्वास्थ्य संघठनको मापदण्ड छ ।
तर, विश्व बैकको प्रतिवेदनले सन् २०२१ र २०२३ मा वातावरण विभागले गर्ने मनिटरिङको तथ्यांक केलाएर निकालेको तुलनात्मक विवरणअनुसार नेपालका प्रमुख सहरहरूमा रहेका मापनकेन्द्रहरूमा पिएम २.५ को मात्रा १२ देखि १५ गुणा बढीसम्म हुने गरेको छ । पिएम २.५ भनेको सुक्ष्म कण तथा रसायनका बुँदहरूको मिश्रण हो । यसको आकार यति सुक्ष्म हुन्छ कि मानव कपालको व्यासको लगभग ३० भागको एक भागजति मात्र हुन्छ । यी कणहरू फोक्सोको गहिरो भागसम्म प्रवेश गर्न सक्छन् र रगतमा समेत मिसिन सक्छन् । जसले श्वासप्रश्वास प्रणालीमा असर गरेर दम, निमोनिया, उच्च रक्तचाप, हृदयघात, स्ट्रोकजस्ता गम्भीर समस्याहरू निम्त्याउन सक्छ । साथै यसको दीर्घकालीन सम्पर्कले फोक्सोको क्यान्सर हुने, बच्चाको तौल कम हुने, समयअगावै जन्म हुने र मस्तिष्क विकासमा असरसमेत पु¥याउन सक्छ। पिएम २.५ वातावरणमा रासायनिक प्रतिक्रिया भएर, इन्धन जलेर सवारीसाधनबाट, इँटाभट्टा, सिमेन्ट कारखाना, घरायसी दाउरा र बायोग्यासको धुवाँ, कृषि फोहर र पराल जलाउँदा, डढेलो र जंगल आगलागी र सडकको धुलोबाट हावामा मिसिने गर्छ । यसका साथै उद्योग र डीजेलबाट, सवारीसाधन, उद्योगका साथै पशुपालनदेखि मलबाट समेत पिएम २.५ को उत्सर्जन हुनसक्छ ।
विश्व बैंकको प्रतिवेदनमा सन् २०२१ मा काठमाडौँमा पिएम २.५ को घनत्वमा सबैभन्दा बढी २७ प्रतिशत योगदान यातायात र त्यसपछि घरायसी २५ प्रतिशत, औद्योगिक १९ प्रतिशत र बालीनाली जलाउनुका साथै आगलागीको ११ प्रतिशत योगदान रहेको औँल्याएको छ । त्यसैगरी तराई क्षेत्रमा सबैभन्दा बढी ३१ प्रतिशत योगदान घरायसी, २३ प्रतिशत औद्योगिक, १७ प्रतिशत पशुपालन तथा मल र १६ प्रतिशत यातायातले पिएम २.५ को घनत्वमा योगदान दिएको उक्त प्रतिवेदनमा उल्लेख छ । वायु प्रदूषणबाट जोगिन घरबाहिर जाँदा मास्कको प्रयोग गर्ने, भिडभाड, धुवाँधुलोबाट टाढा रहने, सकेसम्म साँझ र बिहानको समयमा घरबाहिर व्यायाम नगर्ने, प्लाष्टिक तथा कृषि अवशेष जलाउने काम नगर्ने, बच्चा, गर्भवती, बिरामी र ज्येष्ठ नागकिहरूले घरबाहिरको समयलाई सीमित गर्नेगर्दा यसको नकारात्मक प्रभावबाट बँच्न सकिन्छ । वायु प्रदूषण न्यूनीकरणका लागि सबैले पहल गर्नु जरुरी छ ।









प्रतिक्रिया दिनुहोस्