त्रिपालमुनि ढुंगा र इँटाका टुक्रामाथि शान्तिनगरका विस्थापित परिवार



कोहलपुर नगरपालिकाले बस्तीमा डोजर लगाउने क्रममा सबैका घर भत्काइदिँदा घर न घाटको अवस्थामा पुगेका थिए । तर, फेरि भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीहरू शान्तिनगरमा फर्किएका छन् । जग्गाको पूर्णस्वामित्व मागिरहेको संघर्ष समिति र कोहलपुर नगरपालिकाबीच आज छलफल हुँदैछ ।

शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

यी आमाको काखमा बच्चा छ । वरिपरि ढुंगा, इँटा र भत्किएका संरचनाका टुक्राहरू छन् । एक बालक त्यही भग्नावशेषबीच बसिरहेको छ । यो दृश्य हेर्दा एउटा प्रश्नले मन पोल्छ, यी बालबालिकाको दोष के थियो ? नेपालगन्जका पत्रकार जे पाण्डे सामाजिक सञ्जाल फेसबुकमा प्रश्न गर्छन् । गरिब भएर जन्मिनु ? आफ्नो घरको सुरक्षा खोज्नु ? उनी थप लेख्छन्, ‘घर भत्किँदा आत्मसम्मान र भविष्य पनि भत्किन्छ भन्ने राज्यले सोँचेन । यी आमाको मनमा अहिले एउटै प्रश्न घुमिरहेको छ ।

‘मेरो बच्चालाई आज कहाँ सुताऊँ ? कसरी दिऊँ यो अबोधलाई सुरक्षा त्रिपालमुनि ?’ बाँकेको कोहलपुर–११ स्थित शान्तिनगरमा पुग्दा यस्ता हजारौँ प्रश्न उठ्छन्, आखिर के गल्ती थियो, ती सयौँ बालबालिकाहरूको ? कति टुक्रिएको होला ? ढुंगा र इँटाका टुक्राहरूमाथि खेलिरहेका ती अबोधहरूको मन । कतिपटक भत्किएका होलान् ? डोजर लगाएर लखेटिएका तीनका विस्थापित बाआमा । त्यहाँ पुग्दा जो सुकैको मन भग्नावशेष संरचना झैँ टुक्राटुक्रा हुन्छ ।

यो तस्बिर बाँकेको कोहलपुर–११ स्थित शान्तिनगरको हो । जहाँ, कोहलपुर नगरपालिकाले २०८३ वैशाख २६ गते डोजर लगाएको थियो । कोहलपुर नगर विकास समितिको जग्गामा बनेका ७५१ वटा घरटहरा भत्काइएको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको बलमा नगरपालिकाले डोजर लगाउँदा विस्थापित भएकी थिइन् गोरीकला विक । उनका दुई सन्तान छन् । दुई वर्षका छोरा र एक वर्षकी छोरीसहित शनिबार गोरीकला तीन महिनाअघि लखेटिएको स्थानमा फर्किइन् ।

गोरीकलाका श्रीमान् कलबहादुर विक अहिले भारततिर गएका छन् । श्रीमान्श्रीमतीले मजदुरी गरेर बनाएको टहरा भत्केपछि उनको परिवार अहिले घरबारविहीन अवस्थामा छ । उनी भने अन्य विस्थापितहरूसँगै निरन्तर आन्दोलनमै छिन् । उनको एउटै आशा छ,–सरकारले आफ्ना चित्कार कसो नसुन्ला । यी अबोध बच्चालाई सुताउने राम्रो कोठा कसो नपाइला । सँगै राज्यलाई प्रश्न गर्छिन्, ‘हामी त जग्गा हडप्ने भयौँ रे । हाम्रो कोखमा जन्मिनु यिनीहरूको दोष हो ? राज्यले बालबालिकाको सुरक्षा गर्नुपर्छ कि पर्दैन ? सरकार कहाँ छ ?’

आइतबार दिउँसो शान्तिनगर क्षेत्रमा पुग्दा सयौँ जना त्रिपालमुनि बसिरहेका थिए । चर्को घामको सामना गर्दै महिला र बालबच्चा प्रशस्तै भेटिन्थे । सोही क्रममा शान्तिनगरको भग्नावशेषमा त्रिपालमुनि ससाना बच्चाहरूसहित भेटिइन् बासमती पुनमगर । उनीसँगै थिए, बुहारी र दुईजना बच्चा । बासमतीसँगै बसिरहेकी थिइन् उनकी साथी । कुराकानीको सुरुमै आशावादी रूपमा बासमतीले भनिन्, ‘हजुरहरूले सही आवाज ठाउँमा पु¥याउनुभयो भने कुनै न्याय मिल्छ कि ?’ यति साना बच्चाहरूसँग त्रिपालमुनि बस्नु परेको र आफ्नो परिवारको बिचल्ली भएको उनले दुःखेसो सुनाइन् । आफूसँगै रहेकी साथीको खुट्टाको घाउ देखाउँदै बासमतीले यस्ता धेरै पीडित हिँड्न नसक्ने, सुत्केरी महिला, दीर्घरोगीहरू रहर नभई बाध्यताले त्रिपालमुनि बस्नु परेको उनले बताइन् ।

आफ्नो घरमा डोजर लागेको दिनदेखि व्यवस्थापनको माग गर्दै आन्दोलन गरिरहेको भन्दै उनले भनिन्, ‘जिल्ला प्रशासन कार्यालय धायौँ । आन्दोलन ग¥यौँ । नगरपालिका कतिपटक गयौँ । कसैले पनि हाम्रो कुरा सुनेन । अहिले यस्तो चर्को घाममा त्रिपालको भरमा बस्नु परेको छ ।’ उनले सरकारले आफूहरूलाई कहिले न्याय दिने हो भन्दै प्रश्नसमेत गरिन् । आफूहरूलाई व्यवस्थापन गर्ने आश्वासन दिएर शान्तिनगरबाट उठाए पनि माग सम्बोधन नभएको भन्दै आफूहरूको अन्तिम इच्छासमेत सुनाइन्,– ‘कि न्याय दिनुहोस् कि मार्नुहोस् । हामी त जिउँदो लासजस्तै भइसकेका छौँ । सरकारलाई जनता चाहिँदैन भने मारिदिनु प¥यो ।’ डोजर चल्दा छाति थाप्छौँ भन्ने खगेन्द्र सुनार र रवि लामिछानेहरू अहिले कहाँ छन् भन्दै उनले आक्रोससमेत व्यक्त गरिन् ।

आँशु झार्दै भन्छन्, ‘फेरि डोजर चले मर्न तयार छौँ’ 

शनिबार मात्रै फेरि शान्तिनगर फर्किएका दलबहादुर कामी सँगै रहेका अन्य व्यक्तिहरूसँग गफ गर्दै थिए । उनी आफ्नो पीर सुनाउँदै भन्दै थिए, ‘दाइजो दिएको पैसाले बनाएको सानो टहरा थियो । रुदाँरुँदै बिन्ति गर्दासमेत छोडेनन्, डोजर चलाए । हाम्रो आँशुमा रमाउने यिनीहरू माफिया हुन् । चोर हुन् ।’ मजदुरी गर्दै वर्षौँदेखि बसिरहेका सयौँ गरिब र दुःखी जनतालाई लखेटिएकोप्रति उनको स्थानीय सरकारप्रति असन्तुष्टि छ ।

डोजर लगाएर लखेटेपछि हेरचाह र व्यवस्थापन गर्ने जिम्मेवारी राज्यको भएको भन्दै उनले के हामी नेपाली नागरिक होइनौँ र भन्दै प्रश्नसमेत गरे । फेरि डोजर चल्यो भने के गर्नु हुन्छ नी ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘बसिरहेकै ठाउँमा लडिदिने सर, बरु मारुन् । मर्न पाए पनि मज्जै हुन्थ्यो ।’ आफूहरूलाई स्थानीय सरकारले नै एउटै ठाउँमा बस्न नदिएको उनको आरोप छ । स्थानीय सरकारले केन्द्र सरकारको आडमा आफूहरूलाई दुःख दिइरहेको बताउँछन् अर्का विस्थापित रामचन्द्र बुढा ।

उनले भने, ‘बिस वर्षदेखि यहाँ बस्दै आएका छौँ । हामीसँग सुकुम्वासी कार्ड छ । भोटिङ कार्डसमेत छ । विद्युत्को मिटरबक्स पनि पाएका छौंँ ।’ स्वास्थ्य, शिक्षा, खानेपानी र रोजगारी जस्ता आधारभूत अधिकारबाट आफूहरूलाई वञ्चित गरिएको उनले बताए । स्थानीय सरकारले आफूहरूलाई उचित व्यवस्थापन गर्ने आश्वासन दिएर सयौँ नागरिक र बालबालिकाहरूलाई विचल्लीमा पारेको भन्दै छिटोभन्दा छिटो आफूहरूलाई बस्ने बासको व्यवस्था गर्नुपर्ने बुढाले माग गरेका छन् ।

राज्यलाई विभिन्न चरणमा माग सम्बोधनको लागि आन्दोलन र दबाब दिदाँसमेत सुनुवाइ नभएपछि आफूहरू डोजर लगाएर लखेटेकै स्थानमा फर्किएको र स्थानीय सरकार र राज्यले जहाँ व्यवस्थापन गर्छ त्यहीँ गएर बस्नसमेत तयार रहेको विस्थापितहरूले बताएका छन् । शान्तिनगरमै भेटिएकी कविता आलेले भनिन्, ‘चुनावको बेला हामीले भोट दिने । दल र नेताहरू तपाईँहरूको व्यवस्थापन गर्छौँ भन्ने । अहिले बसिरहेको ठाउँमा डोजर चलाएर दुःख दिने । के सुकुम्वासी भोट बैंक मात्रै हो र ?’

राज्यले उचित व्यवस्थापन नगरेर आफूहरू मात्रै नभएर बालबालिकाहरूको भविष्य नै बिगारेको उनको भनाइ छ । आफूहरूमाथि राज्यले अन्याय गरेको भन्दै छिटोभन्दा छिटो न्यायको आशमा रहेको समेत उनले बताइन् । नगर विकास समितिले जग्गा बेचेर खान हुने तर नागरिकलाई बस्न नदिने यो कस्तो अन्याय हो भन्दै आलेले आफूहरू पनि नेपाली नागरिक नै भएको र नेपालभित्र जहाँपनि बस्न पाउनुपर्ने बताइन् । सुकुम्वासीहरूले न्याय पाउनुपर्ने भन्दै उनले भनिन्, ‘हामी यो ठाउँ छोड्दैनौँ । हामीलाई न्याय चाहियो । बाँचे पनि यही बाँच्छौ । मर्न परे पनि यही मरौँला ।’

दुई पक्षको वार्तामा निस्किएला समाधान ? 

शान्तिनगर क्षेत्र कोहलपुर नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा हो । उक्त जग्गा ३६ बिघा क्षेत्रफलमा फैलिएको छ । जहाँ कोहलपुर नगरपालिकाले संकलन गरेको तथ्यांकअनुसार ७५१ वटा घरटहरा थिए । त्यहाँ ४ सय १६ अव्यवस्थित बसोबासी, १ सय ७२ भूमिहीन दलित र १ सय ६३ भूमिहीन सुकुम्वासी परिवार बस्दै आएका थिए । लामो समयदेखि सरकारी जमिनमा जग्गा अतिक्रमण गरेर बसेको भन्दै कोहलपुर नगरपालिकाले वैशाख २६ गते डोजर चलाएर बस्ती हटाउनको लागि नेपाल प्रहरी र शसस्त्र प्रहरी नै परिचालन गरिएको थियो ।

तीमध्ये कोहलपुर नगरपालिकाले नगरका तीन वटा होल्डिङ सेन्टरमा ११० घरपरिवार सुकुम्वासीहरूलाई राखिएको छ । नयाँ बसपार्कको टर्मिनल भवनमा एक सय परिवार, दिपशिखा आधारभूत विद्यालयमा १४ परिवार र पुरानो बसपार्कमा दुई परिवार बसोबास गर्दै आएका छन् । बस्तीमा डोजर लागे पनि अन्य विस्थापित भने बाँकेको कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका लगायतका स्थानीय तहका विभिन्न ठाउँमा भाडामा बस्दै आएका थिए । कोहलपुर नगरपालिकाले आफूहरूलाई उचित व्यवस्थापन गर्नुपर्ने माग गर्दै लामो समयदेखि आन्दोलन गर्दै आएका उनीहरू शनिबार एकाएक शान्तिनगरमा फर्किए ।

शनिबार र आइतबार गरी सयौँ सङ्ख्यामा त्यहाँ फर्किइसकेका छन् । उनीहरू सबै त्रिपाल टाँगेर बसेका छन् । लखेटिएको तीन महिनापछि फेरि उही क्षेत्रमा फर्किएपछि अब के हुन्छ त ? के उनीहरू सधैँ शान्तिनगरमै बस्लान् ? कि कोहलपुर नगरपालिकाले फेरि डोजर लगाएर उनीहरूलाई हटाउला ? आम चासोको विषय बनेको छ ।विस्थापित नागरिक फेरि फर्किएपछि सुकुम्वासी तथा अव्यस्थित बसोबासी संघर्ष समिति कोहलपुर बाँके र कोहलपुर नगरपालिकाबीच आज वार्ता हुँदैछ । संघर्ष समितिका संयोजक वीरबहादुर दमाई आफूहरू नगरपालिकासँग आफ्ना स्पष्ट माग राख्ने बताउँछन् । कोहलपुर नगरपालिकाले भने वास्तविक सुकुम्वासीहरू होल्डिङ सेन्टरमा रहेको र शान्तिनगर क्षेत्रमा फर्किएकाहरू अव्यवस्थित बसोबासीहरू रहेको जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ भदौ ८ गते सोमबार