कोहलपुर, १४ मंसिर/ कोहलपुर नगरपालिकाको आयोजनामा नगरपालिकाका १५ वटै वडाहरुका उपभोक्ता समितिका पदाधिकारी सदस्यहरुलाई उनीहरुले गर्ने कामहरुको बारेमा सहजताको लागि अभिमूखीकरण तालिम दिन सुरु गरिएको छ ।
तालिममा उपभोक्ता मितिले योजनाको बारेमा काम गर्दा कुन कुन प्रक्रियाद्वारा गर्नु पर्छ, काम गर्दा विल भरपाई फर्छौट गर्न आवश्यक पर्ने कागजातहरुको कसरी अभिलेख राख्ने, वडामा उपभोक्ता समितिहरुले गर्ने योजना छनौट प्रक्रिया कसरी पुरा हुन्छन् भन्ने सम्बन्धी कानूनी तथा प्रक्रियागत जानकारीका लागि सो तालिम आयोजना गरिएको नगरपालिकाले जानकारी दिएको छ ।
बुधबारदेखि सुरु भएको सो तालिममा बुधबार वडा नम्बर ७ र १५ का उपभोक्ता समितिका पदाधिकारी सदस्य गरी ७० जनाको सहभागी रहेको थियो भने बिहिबार वडा नं.१४ का ६० जनाको सहभागिता रहेको थियो ।
नगरपालिकाका १५ वटै वडाहरुका उपभोक्ता समितिहरुलाई सो तालिम दिइने कोहलपुर नगरपालिकाका योजना शाखाका पुरुषोत्तम पोख्रेलले बताए ।
नगरकार्यपालिकाको पूर्वाधार विकास समिति संयोजक नारायणी वलीको सभापतित्व तथा नगरपालिकाका प्रमुख लुट बहादुर रावतको प्रमुख आतिथ्यतामा सम्पन्न सो तालिममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रेम प्रसाद देवकोटा, लेखा अधिकृत शरद बराल र सर्वे इन्जिनीयर आरती देवकोटाले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा वडा नं.१४ र १५ का वडा अध्यक्षको समेत सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्