चरा संरक्षण गर्नुपर्नेमा जोड



शिवु खनाल । दाङ ।

नेपाल चराका विभिन्न प्रजातिको प्यारो बासस्थान हो । क्षेत्रफलका हिसाबले विश्वको शून्य दशमलव एक प्रतिशत स्थान ओगटेको नेपालमा विश्वमा पाइने चराहरूको कूल प्रजातिको झण्डै ९ प्रतिशत पाइन्छन् । नेपालमा हालसम्म ८९१ थरीका चराका प्रजाति अभिलेख भएका छन् । नेपालका लागि यो गर्वको विषय हो । तर, जथाभावी प्राकृतिक दोहन, जलवायु परिवर्तन, कृषि क्षेत्रको विस्तारलगायतका कारणले वर्षौँदेखि नेपाललाई घर बनाइरहेका जीवजन्तुलाई बाँच्न चुनौती थपिएको छ ।

सिमसार क्षेत्रका चराहरू अत्यधिक संकटमा रहेका र घाँसेमैदान र वनमा आधारित चराहरूलाई संकट बढ्दो क्रममा रहेको पछिल्ला अध्ययनले देखाएका छन् । कृषि बालीमा प्रयोग गरिने विषादी र रासायनिक मलको प्रयोग, जल तथा वायु प्रदूषण, जलवायु परिवर्तनलगायतका कारणले चराहरूको संरक्षणमा चुनौती थपिएको विज्ञको ठम्याइ छ । समयमै उचित र ठोस प्रयास नगरेमा नेपालले गर्व गर्ने यी प्रजातिहरू लोप हुन सक्ने देखिन्छ ।

आइतबार नेपाल पन्छी संरक्षण संघ र डिभिजन वन कार्यालय देउखुरीको संयुक्त आयोजनामा लमही मासामुदायिक वन व्यवस्थापनमा जैविक विविधता तथा पारिस्थितिकीय प्रणाली सेवालाई समावेश कार्यशाला गोष्ठी कार्यक्रममा सहभागीहरूले चरा संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् । विकास निर्माणले जैविक विविधतामा ह्रास आउन थालेको भन्दै सरोकारवालाहरूले चरा संरक्षण गर्नुपर्नेमा जोड दिँदै सामुदायिक वनका पदाधिकारीहरूले प्रतिबद्धतासहितको चरा संरक्षण गर्नुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा लमही नगरपालिका वडा नम्बर ९ गुप्ती सामुदायिक वन उपभोक्ता समूहका सचिव अमर कुवर (नविन)ले चरा संरक्षणको लागि दिगो कार्ययोजना बनाएर कार्यान्वयन गर्नुपर्ने बताए । ‘चरा संरक्षणको चेतना बोध विस्तारै हुँदैछ जनमानसमा । थप जनचेतना फैलाउन तीनै तहका सरकार लाग्नुपर्ने देखिन्छ । हामी सामुदायिक वनबाट यसबारेमा बहस र छलफल गरी योजना बनाएर काम गर्नेछौँ,’ उनले भने, ‘दिनानुदिन विकास निर्माणले जैविक विविधतामा ह्रास आउन थाल्यो । यसले हाम्रो पारिस्थितिक प्रणालीलाई नै असर ग¥यो । फलस्वरुप चराहरू संकटमा पर्न गए । अबका दिनमा थप जनचेतना फैलाउन सामुदायिक वनबाटै सुरुवात गरौँ ।’

शिवशक्ती बाख्रा विकास सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जनक बुढाले चरा संरक्षण गर्नका लागि माध्यमिक तहको पाठ्यक्रममा समेत विषयवस्तु समेटिनुपर्ने बताए । उनले भने, ‘चराको बासस्थान उजाडिनुमा हामी सबैको दोष छ । त्यसकारण यसलाई जोगाउन र जनचेतना फैलाउन माध्यमिक शिक्षाको पाठ्यक्रममा पनि चरा संरक्षणबारेको विषय समावेश हुनुप¥यो ।’ यस्तै चरा संरक्षणको कार्ययोजना बनाउँदा स्थानीय समुदायको ज्ञान, सीप र प्रविधिलाई आवश्यकताअनुसार प्रयोग गर्नुपर्ने, चराका उपप्रजातिको संरक्षणसँगै तीव्र गतिमा घट्दै गएका प्रजातिका संरक्षणको लागि विशेष कार्यविधि बनाउनुपर्ने उनले बताए ।

नेपाल पन्छी संरक्षण संघका परियोजना अधिकृत भुपाल नेपालीले संरक्षणका लागि समुदायलाई जागरूक गराउने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा स्थानीय चरा प्रजातिहरूको संरक्षण, उनीहरूको वासस्थानको रक्षा र जैविक विविधताको महत्वबारे जनचेतना अभिवृद्धिबारे जानकारी गराएका थिए । उनले सहभागिहरूलाई चराको महत्व र संरक्षणका उपायहरूबारे विभिन्न प्रस्तुतिसहितको जाडो छल्न आउने चराहरूको बारेमा त्यसको संरक्षण र पाहुना चराहरूलाई सहज बसाइँका लागि जानकारी गराएका थिए । चरा र तिनीहरूको बासस्थानको संरक्षणमा हातेमालो गरौँ भन्ने नाराका साथ यो कार्यक्रम सफल बनाउन सबैको सक्रिय सहभागिता अपिल गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर ९ गते मंगलबार