सेती राजमार्गको कैलाली खण्डमा जोखिम मोलेर यात्रा



धनगढी ।

सेती राजमार्गको कैलाली खण्डमा जोखिम मोलेर यात्रा हुने गरेको छ । राजमार्गमा ट्रयाक खुलेसँगै स्थानीय बासिन्दा जोखिमपूर्ण यात्रा गर्न थालेका हुन् । पूर्वपश्चिम राजमार्गको बौनियाँदेखी मोहन्याल गाउँपालिकाको खिमडीसम्मको ७२ किलोमिटरसम्म साना सवारीसाधन सञ्चालन हुन थालेका छन् । मोहन्याल गाउँपालिकाकै चोसेकाँडासम्म झण्डै ३० किलोमिटरसम्म भने बस सञ्चालन भइरहेको छ । रिभर साइड यातायात प्रालिले एउटा बस दैनिक सञ्चालन गर्दै आएको छ ।

सो बस बिहान ८ बजे चोसेकाँडाबाट र साँझ ४ बजे बौनियाँबाट सञ्चालन हुने गर्छ । बर्दगोरिया गाउँपालिकाको बौनियाँदेखी मोहन्याल गाउँपालिकाको तल्लापानी झण्डै १५ किलोमिटरसम्म मात्रै बस सञ्चालनका लागि रुट परमिट उपलब्ध छ । प्रालिका अध्यक्ष गणेश वलीले स्थानीयको माग अनुसार चोसेकाँडासम्म बस सञ्चालन गर्नुपरेको बताए । ‘रुट परमिट नभएका अन्य ठाउँमा पनि बस सञ्चालन भैरहेका छन्,’ उनले भने, ‘स्थानीयको आवश्यकतालाई मध्यनजर गरेर बस सञ्चालन भएको हो ।’

स्थानीय गोविन्द शाहीले बस सञ्चालनले निकै सहज भएको बताए । उनले गतवर्षको हिउँदमा समेत केही दिन बस सञ्चालन भएको जानकारी दिए । उनले हिउँदयाम सुरु भएसँगै बस सेवा पुनः सञ्चालन भएको बताए । उनले यो वर्ष कात्तिक २४ गतेबाट बस सञ्चालन भैरहेको बताए । ‘बस चलेर हामीलाई निकै सहज भएको छ’ उनले भने–‘यसको निरन्तरताका लागि पहल हुनुपर्छ ।’

सो राजमार्गको बौनियाँदेखी चोसेकाँडाहुँदै खिमडीसम्म भने बोलेरो जीप सञ्चालन भैरहेका छन । स्थानीय शाहीले दैनिक ८÷१० वटा जीप सञ्चालन भैरहेको बताए । ट्रयाक मात्रै खुलेको राजमार्गमा सवारी साधनले क्षमता भन्दा बढी यात्रु बोक्ने गरेका छन । एकातिर भरखरै ट्रयाक खोलेको सडक र अर्कोतिर बस र जीप दुवैले क्षमता भन्दा बढी यात्रु बोक्दा कुनैपनि बेला दुर्घटना हुने सम्भावना रहेको छ ।

राजमार्गको बौनियाँदेखी खिमडीसम्म प्रहरीको उपस्थिति छैन । प्रहरीको अनुपस्थितिले पनि सवारी साधनले निर्वाध क्षमता भन्दा बढी यात्रु बोक्ने गरेको पाईएको छ । स्थानीयका अनुसार ती सवारी साधनले क्षमता भन्दा बढी यात्रु बोक्ने मात्रै हैन चर्को भाडा समेत असुल्ने गरेका छन । बोलेरो जीपले बौनियाँदेखी खिमडीसम्म प्रति व्यक्ति ६ सय असुल्ने गरेका छन ।

मोहन्याल गाउँपालिका वडा नम्बर १ जाडेपानीका एकेन्द्र ओलीले दुई दिन पैदल हिँड्नु भन्दा वाध्य भएर सवारी साधन प्रयोग गर्नुपरेको बताए । ‘हाम्रो यात्रा रहरको हैन वाध्यताको हो । वर्षौ पैदल हिँडेकै हो’ उनले भने, ‘अहिले गाडी चलेपछि सबैले चढ्ने नै भए ।’ राजमार्गको कतिपय ठाउँमा सडक निकै साँघुरो, घुमाउरो र हिलाम्मे समेत छ ।

क्षमता भन्दा बढी यात्रु बोकेका सवारी साधनलाई यस्तो सडकमा गुड्न समस्या हुने गरेको छ । गाडी सञ्चालकले बढी पैसा कमाउने स्वार्थमा दुर्घटनाको जोखिमलाई वेवास्ता गरेर यात्रुको ज्यानसँग खेलवाड गरिरहेको स्थानीय रमेश बोहरा बताउँछन । ‘अहिले नै सबैजना सचेत हुन जरुरी छ’ उनले भने, ‘भोलि कुनै दुर्घटना भयो भने पछुताउने बाहेक हामीसँग अन्य विकल्प नहुन सक्छ ।’

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर १ गते सोमबार