जीतबहादुर शाह
विज्ञान, प्रविधि र व्यापारको क्षेत्रमा यतिबेला एलेन मस्क चर्चाको शिखरमा छन् । उनी टेस्ला कम्पनीका सिइओ हुन् जुन कम्पनीले विद्युतीय गाडीहरू उत्पादन गर्दछ । त्यसरी नै एलेन मस्क जोडिएको अर्को कम्पनीको नाम हो स्पेसएक्स जसले अन्तरिक्ष र अन्वेषणको बारेमा काम गर्दछ । यस कम्पनीले बनाएका रकेट पुनः प्रयोग गर्न मिल्ने गरी बनाइएका छन् । यसपूर्व अन्तरिक्षमा पठाइने रकेटहरू पुनः प्रयोग गर्न सक्ने अवस्था हुँदैनथ्यो र ती रकेटलाई समुद्रमा खसाएर वा जलाएर नष्ट गरिन्थ्यो । उनको सामाजिक सञ्जाल ट्विटर सञ्चालनका लागि छुट्टै एक्स कम्पनी पनि रहेको छ । त्यसैगरी उनीसँग न्यूरालिङ्क नामको कम्पनी छ, जसले मानव मस्तिष्क र कम्प्युटर जोड्ने काम गरिरहेको छ र यसबाट उत्पादन गरिएको ग्रोक नामको कृत्तिम बौद्धिकता अहिले बजारमा छ । उनको अहिलेको मुख्य उद्देश्य भनेको मङ्गलग्रहमा बस्ती बसाल्ने हो । पृथ्वीलाई सकेसम्म प्रदूषण गराउने इन्धनको खपत कम गरी वातावरणलाई जीवनको लागि स्वच्छ बनाउने र विकल्पको रूपमा मङ्गलमा पनि जीवनका लागि उपयुक्त हुने वातावरणको विकास गर्ने उनको ध्येय रहेको छ ।
मङ्गलमा जीवन देख्ने एलेन मस्क वैज्ञानिक र उद्यमीका साथै संसारकै धनी व्यक्ति पनि हुन् । ब्लुमबर्ग बिलियनेयर्स इन्डेक्सका अनुसार सन् २०२५ नोभेम्बरको पहिलो हप्तातिर उनको सम्पत्ति ४७० अर्ब अमेरिकी डलर रहेको अनुमान गरिएको छ । उनको व्यावसायिक जीवन अनुकरणीय भए पनि व्यक्तिगत र पारिवारिक जीवन भने त्यत्ति राम्रो देखिँदैन । उनले पहिलो विवाह क्यानेडियन लेखिका जस्टिन विल्सनसँग सन् २००० मा गरे, जसबाट तीनपटकमा ६ जना सन्तानहरू जन्मिए (एकपटक सिंगल, एकपटक जुम्ल्याहा र एकपटक तिम्ल्याहा) । उनीसँग सन् २००८ मा सम्बन्धविच्छेद भएपछि अर्को विवाह ब्रिटिस अभिनेत्री तालुलाह रिलेसँग दुईपटक विवाह गरे र दुईपटक सम्बन्ध विच्छेद पनि । त्यसपछि उनी क्यानेडियन सङ्गीतकार ग्रिम्ससँग लामोसमयसम्म सम्बन्धमा रहे र न्यूरालिङ्ककी कार्यकारी शिवोन जिलिससँग पनि सम्बन्धमा रहे। यी सबैबाट गरी एलेन मस्कका १४ वटा सन्तानहरू जन्मिए, जसमध्ये एउटा सन्तान (जस्टिनले जन्माएको पहिलो सन्तान)को जन्मेको दश हप्तापछि मृत्यु भइसकेको अवस्था छ ।
मङ्गलमा जीवन देख्ने विश्वकै प्रसिद्ध धनी, उद्योगपति, व्यापारी र वैज्ञानिक एलेन मस्क व्यक्तिगत र पारिवारिक हिसाबले खुसी र स्वस्थ छैनन् भन्ने कुराको दृष्टान्त माथिका पारिवारिक विवरणबाट पनि पुष्टि हुन्छ । कृत्रिम बौद्धिकताका अनुसार उनले हप्तामा १२० घण्टासम्म काम गरेको देखिन्छ । यसको मलतब उनी दिनमा १७ घण्टाभन्दा बढी काम गर्छन् । सन् २००१ यता उनले एक हप्तासम्मको लामो छुट्टी पनि नलिएको तथ्यले बताउँछ । कामको अत्यन्तै उच्च दबाब, थकाइ, व्यक्तिगत जीवनका कठिनाइहरू र असाधारण महत्वाकाङ्क्षाका कारण उनको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको छ । उनी सन् २००८ को आर्थिक मन्दीपछि अवसाद (डिपे्रसन)को कारणले केटामाइन नामको औषधि सेवन गरिरहेका छन् जुन औषधि मानिसको दुखाइ कम गर्न र बेहोस बनाउनका लागि प्रयोग गर्ने गरिन्छ । उनले यो औषधि हप्तामा एकपटक चिकित्सकको कडा निगरानीमा लिने गर्दछन् । ५४ वर्षीय ऐलेनमा एसपर्गर सिन्ड्रोमका लक्षणहरू पनि देखिएको छ जसले उनलाई सामाजिक अन्तरक्रियामा कठिनाइ हुने र आफ्नै विचारमा हराउने समस्या बल्झिएको छ ।
जीवनमा केही गर्न चाहने कतिपय व्यक्तिहरूले मानिस हुनु त एलेन मस्क जस्तै हुनु भनेर उनको कामको तारिफ र वाहवाह गरिरहेको बेला उनले भने ‘मजस्तो दुःखी र तनावग्रस्त व्यक्ति हुन नखोज प्लिज’ भनेर सामाजिक सञ्जालमा प्रतिक्रिया दिन्छन् । सन् २०१७ मा विश्वको सबैभन्दा खुसी व्यक्ति भनेर नाम कमाएका व्यक्ति फ्रान्सेली नागरिक माथ्यौं रिका हुन् जो त्यतिबेला नेपालमै थिए र अहिले पनि नेपालकै बौद्धस्थित शेचेन गुम्बामा बस्छन् । उनका बुवा पत्रकार हुन् भने उनकी आमा चित्रकार हुन् । उनी सम्पन्न घरानाका मान्छे हुन् । तर उनले संसारकै खुसी व्यक्ति भनेर आफ्नो नाम चिनाउने मौका नेपाल आएर पाए । उनका बुवा नेपालमा आएर उनलाई घरमा जाऔँ भन्दा मलाई यहीँ खुसी मिलेको छ भन्दै फ्रान्स जान इन्कार गरेका थिए । एउटा गुम्बामा बसेको बौद्ध भिक्षु संसारकै खुसी व्यक्तिको रूपमा दर्ज हुने, संसारकै सबैभन्दा धनी व्यक्ति एलेन मस्कले डिप्रेसनको औषधि खाएर बाँच्नु पर्ने ? सिद्धार्थ गौतमले राजदरबारको सुखसयलभन्दा भिक्षुको जीवनशैलीमा आफूलाई खुसी र आनन्दित महसुस गर्ने ? यसो हुनुमा कसको छ टुनामुना ? के भौतिक सम्पत्ति र खुसी फरक कुरा हुन् त ? के जीवनमा पाइने सफलता र खुसी एकैसाथ हिँड्न नसक्ने नै हुन् त ?
अमेरिकाको एक प्रमुख बायोफर्मास्यूटिकल कम्पनीमा वैज्ञानिकको रूपमा कार्यरत न्यूरोलोजी (भौतिक शास्त्र)मा विद्यावारिधि गरेका नेपाली वैज्ञानिक डा. कमल ढकालका अनुसार पाश्चात्य दर्शनले मङ्गलमा जीवन खोजिरहेको छ भने पूर्वीय दर्शनले जीवनमा मङ्गल खोजिरहेको छ । वास्तविक खुसी र मङ्गलताका लागि यी दुइटैले एउटै सिक्काका दुईपाटा भएर काम गर्नु आवश्यक देखिन्छ । उनको यो भनाइले मलाई सोच्न बाध्य बनायो कि सफलता र खुसी फरक कुरा रहेछन् । आफूले गरेका हरेक काममा सफलता हासिल गर्दागर्दै पनि एलेन मस्क डिप्रेसनको सिकार हुनुमा पनि उनी आफ्नो जीवनमा खुसी र तनावमुक्त हुन नसक्नु नै प्रमुख कारण होला भन्ने अनुमान गर्न सकिन्छ । भौतिक सम्पत्तिले खुसी दिन्छ भनेर दौडिएकाहरू पनि भौतिक सम्पत्तिको सगरमाथामा पुगिसन्दा पनि आफूभित्र भएको खुसीसमेत आफूबाट भागिसकेका तथ्यहरू पनि भौतिक सम्पत्तिको सगरमाथामा पुग्नेहरूले नै बताइरहेका छन् । मानिस खुसी, असल र सन्तुष्ट हुनका लागि बाह्य दुनियाभन्दा आन्तरिक दुनियाको भूमिका महत्त्वपूर्ण हुन्छ भन्ने कुरा मानिसहरूका जीवनीहरूको अध्ययनबाट सिद्ध हँुदै गइरहेको छ । संसारकै धनीमध्येकै व्यक्ति रतन टाटाले आपूmले अपाङ्गता भएका बालबालिकालाई ह्विलचियर वितरण गर्दा बालबालिकाको अनुहारमा जुन खुसी देखियो त्यो क्षणलाई जीवनकै सबैभन्दा सुखद क्षण भनेका छन् । बिलगेट्सले अबको बीस वर्षभित्रमा आफूले कमाएको सारा सम्पत्ति गरिबदुखी र अशक्तहरूलाई बाँड्नेछु भनेर घोषणा गरिसकेका छन् ।
शिव खेराको विश्वचर्चित पुस्तक ‘जित तपाईँकै’को आधारमा भन्नुपर्दा, सन् १९२३ ताका विश्वका धनी घोषणा गरिएका ८ जना व्यक्तिहरूमध्ये पच्चीस वर्षकै बीचमा सबैको अवसान भयो । जेसी लिभरमोर, इभार क्रुजर र लिवन फ्रेजरले जीवनदेखि दिक्क भएर आत्महत्या गर्न पुगे । रिचर्ड ह्विट्नी र अल्बर्ट फलले गैरकानुनी काम गरेर जेल परे । हावर्ड हब्सन पागल भए । चाल्र्स स्वाव र आर्थर क्युटन आफूले गरिरहेको व्यवसायबाट टाट पल्टिएर फेरि उठ्न नसक्ने गरी थला परे । आध्यात्मिक यात्रामा लागेका मानिसहरू आत्महत्या र हत्याको बाटोमा लागेको देखिँदैन् । उनीहरू जीवनमा असफल भएको पनि देखिँदैन् । कसैले उनीहरूलाई असफल भनिहाले पनि उनीहरूले आफूलाई असफल भएको महसुस गर्दैनन् । राजसी सुखसयल त्याग गरेर बाहिरिँदा त्यतिबेलाका कतिपय मानिसहरूले सिद्धार्थ गौतमलाई नकारात्मक तरिकाले पनि टिप्पणी गरे । तर गौतम बुद्धले आफूलाई कहिल्यै पराजय र पश्चातापको भुङ्ग्रोमा पिल्सिनु परेन । बरु दुनियालाई एउटा जिउने दर्शन दिएर गए । व्यक्तिले आफ्नो आन्तरिक दुनियालाई कसरी विशाल र कसरी उन्नत बनाउने सम्बन्धमा दृष्टिकोण दिएर गए । जुन दृष्टिकोण प्रेम, करुणा र मानवताको पक्षमा थियो र छ । जुन दृष्टिकोण दुनियालाई सकारात्मक नजरले नियाल्दै जीवनलाई खुसीमय बनाउने कलासँग सम्बन्धित छ । जुन दृष्टिकोण मानव मस्तिष्कको अवचेतन पाटोलाई व्युँझाएर मानवताको क्षेत्रमा लगानी गर्ने सवालमा महत्वपूर्ण खजानाको रूपमा साबित भएको छ ।
धेरै मानिसहरूको अनुमान थियो, मानिसको जीवनमा कम्प्यूटर र मोबाइल भित्रिएपछि मानिस खुसी र आनन्दित हुनेछ । अनुमान गलत साबित भयो । यसको प्रयोगले मानिस झन दुखी र तनाबग्रस्त भयो । काममा छिटोछरितो गरेको छ मोबाइल र कम्प्युटरले । तथापि मानिसले छिटोछरितोको नाममा अझ झनै छिटो गरौँ भनेर राति नसुतेर पनि काम गर्न जुटेको छ । एकदिनमा कति काम गर्ने भन्ने कुरा पनि टुङ्गो गर्न सकेन् मानिसले । कम्प्युटर र मोबाइल नहुँदा एकवर्षमा सकिने काम अहिले एकदिनमा सम्पन्न गर्दा पनि मानिस सन्तुष्ट हुन सकिरहेको छैन ।
उही एकजना गरिब किसानलाई एउटा राजाले तिमीले टेकेजतिको धर्ती तिम्रै भयो तर फर्केर बेलुका मसँग आउनु पर्छ भन्ने आदेश गर्दा लोभको कारण टाढाटाढासम्म पुग्न थालेकाले बेलुका राजा भएको ठाउँमा फर्कि नसक्दै बाटैमा ज्यान फालेको किसानको कथाजस्तै भएको छ आजका मानिसको दिनचर्या पनि । मनको दूरी घटाउँछ कि भन्ने अनुमान गरेको मोबाइलले एउटै चुल्होमा खानाखाने मान्छेहरूको बीचमा पनि दूरी बढाउने काम गरेको छ । मानिसले प्रयोग गर्ने साधनहरू भनेका सुखका माध्यमहरू अवश्य हुन् । तर तिनै साधनहरूलाई नै मानिसले साध्य सम्झेर काम गर्न थाल्यो । हुँदाहुँदा यस्तो भयो कि सम्पत्ति कमाउनु नै एकमात्र लक्ष्य हुन थाल्यो मानिसहरूको । त्यसको उपयोग कहिले गर्ने हो र के का लागि गर्ने हो, त्यो कुरा सम्पत्ति कमाउने मानिसलाई पनि थाहा छैन ।
त्यही भएरै सम्पत्ति एउटाले कमाउने र खाने सौभाग्य अर्कैको हुने पनि भइरहेको छ । यी सबै दृश्य टुलुटुलु हेरेर पनि मानिसको बुद्धि फर्किन सकिरहेको छैन । ‘सा विद्या या विमुक्तेय’ अर्थात् विद्या आर्जन गर्नु भनेको सबै किसिमका बन्धनबाट मुक्त हुनु हो भने पनि अहिले त्यही विद्या आर्जन गरेको व्यक्ति नै सबैभन्दा लोभी देखिएको छ । यी सबै देखाइ र भोगाइबाट मानिसहरू क्रमशः पूर्वीय दर्शनतिर आकर्षित भएको अवस्था पनि छ । वैज्ञानिक डा. कमल ढकालका अनुसार पनि अहिले पाश्चात्य मुलुकतिर योग र ध्यान (विपश्यना) गर्नेहरूको संख्या केही होइन कि तीन हजार प्रतिशतले बढिरहेको छ । यो पनि कसैको व्यापार बढाउनलाई हो वा कसैको खुसी बढाउनलाई हो, समयले बताउला ।
सारमा पुष्टि हुने कुरा यही हो कि जीवनलाई सहज र सुविधामूलक एवम् काममा छिटोछरितोपन ल्याउनका लागि भौतिक उन्नति र आविष्कारले गरेको योगदानलाई नजरअन्दाज गर्न मिल्दैन र सकिँदैन पनि ।
अहिले पृथ्वी नै एउटा सानो टोलमा परिणत भएको छ । यातायातका साधन, कम्प्युटर, इन्टरनेट, कृत्तिम बौद्धिकता र रोबोटसम्मको आविष्कार र विकासले गर्दा मानिसले नसाँेचेको सुविधा र प्राप्तिहरू हात परेका छन् । यति भएर पनि भौतिक विकासका तुलनामा मानवीय शान्ति, खुसी, सन्तुष्टि र आनन्दका बिरुवाहरू भने बढ्नु र हुर्कनुका सट्टा सुक्न थालेका छन् । यस्तो अवस्थामा मानिसको आन्तरिक जीवनलाई व्यवस्थित गर्नका लागि आध्यात्मिक विज्ञानलाई समेत जीवनको अभिन्न अङ्ग बनाउनु आवश्यक देखिन्छ । हाम्रा अग्रजहरूले ज्ञान र विज्ञानको हात कर्ममा जोड्नु पर्दछ भन्ने कुरा बुद्धि पु¥याएरै गरेको प्रमाणित हुँदैछ । विज्ञानले हामीलाई मङ्गलसम्म पु¥याउने काम गरे पनि अन्ततः जीवनलाई मङ्गलमय बनाउनका लागि अध्यात्म त्यत्तिकै महत्वपूर्ण देखिन्छ । बाँकी हजुरहरूको मर्जी ।









प्रतिक्रिया दिनुहोस्