नौबस्तामा बालबिज्याइँकर्ताको मृत्यु गोली लागेर भएको प्रतिवेदन



वीरेन्द्र जैसी । नेपालगन्ज ।

राष्ट्रिय मानव अधिकार आयोगले बाल सुधारगृह नौबस्तामा जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ५ जना बालबिज्याइँकर्ताको प्रहरीको गोली लागेर ज्यान गएको प्रतिवेदन दिएको छ । जेनजी आन्दोलनका क्रममा भएका घटनाका सम्बन्धमा छानबिन गर्न आयोगद्वारा गठित समितिले सार्वजनिक गरेको प्रतिवेदनमा बाल सुधारगृह नौबस्तामा ज्यान गुमाएका ५ जना बालबिज्याइँकर्ताको सुरक्षा फौजको गोली लागेर मृत्यु भएको उल्लेख छ ।

साथै प्रतिवेदनमा नौबस्तामा ज्यान गुमाएका बालबिज्याइँकर्तासहित रामेछाप कारागारमा ज्यान गुमाएका ३ जना र धादिङ कारागारका २ जना गरी १० जना कैदीबन्दीको मृत्यु सम्बन्धमा अनुसन्धान गर्न सिफारिस गरिएको छ । साथै, बालबन्दी तथा कैदीबन्दीका हकवाला परिवारलाई आन्दोलनमा ज्यान गुमाएका अन्य मृतकसरहको राहत तथा क्षतिपूर्ति पनि दिन सिफारिस गरिएको छ ।

उक्त घटनामा रामारोशन गाउँपालिका अछामका उमेश विष्ट, दैलेखको महाबुका भोबिन्द्रबहादुर खत्री, दाङको घोराहीका विनेश घर्तीमगर, लम्की कैलालीका जगत देउजा र खजुरा बाँकेका समीर थापाको ज्यान गएको थियो । बाल सुधारगृहमा हतियार तथा बल प्रयोगलाई कानुनले बन्देज गरेको छ ।

हवाई फायर मात्रै भएको तत्कालीन सिडिओ जोशीको बयान

जेनजी आन्दोलन ताका बाँकेका सिडिओ रहेका धर्मराज जोशीले जेनजी आन्दोलनबारे छानबिन गर्न गठिन गौरीबहादुर कार्की आयोगलाई भने नौबस्ता कारागारमा हवाई फायर मात्रै भएको बयान दिएका थिए । उनले २४ गते राति आफूलाई अपरिचित नम्बरबाट नौबस्ता कारागारमा गोली चलेको खबर आएको तर प्रहरी अधिकारीहरूसँग बुझ्दा केही राउण्ड हवाई फायर मात्रै भएको जानकारी गराएको उनले कार्की आयोगलाई दिएको लिखित बयानमा उल्लेख छ ।

त्यसबखत सुरक्षा निकायले पनि बालबिज्याइँकर्ताको ज्यान गोलीले नभई भागदौडका क्रममा चोट लागेर भएको बताएको थियो । कार्की आयोगको बाहिरिएको प्रतिवेदनमा पनि तत्कालीन सिडिओ जोशीले पनि हवाई फायर मात्रै भएको बयान दिए पनि मानव अधिकार आयोगको प्रतिवेदनले भने बालबिज्याइँकर्ताहरूको ज्यान सुरक्षाकर्मीको गोलीले भएको खुलासा गरेको छ ।

तत्कालीन सिडिओ जोशीले कार्की आयोगलाई दिएको बयानको अंश यस्तो छ 

हामी भन्सार नाका परिसरमै रहेका बखत मलाई एकजना अपरिचित व्यक्तिको एउटा अज्ञात नम्बर ९मेरो मोबाइलमा सेभ नभएको नम्बर०बाट फोन आयो र फोनमा उताबाट बोल्ने व्यक्तिले तपाईँ सिडिओ हो कि भन्ने प्रश्न सोधेपश्चात् मैले हो भन्ने जवाफ दिएपछि बाल सुधारगृहमा भर्खरै गोली चलेको र त्यसबाट आफ्नो केही साथीहरू घाइते भएको सूचना दियो । राति करिब १०ः३० देखि ११ः०० बजेको समयमा उक्त फोनमार्फत सूचना पाउनेबित्तिकै मैले तत्कालीन समयमा आफूसँगै रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका प्रहरी उपरीक्षकद्वयलाई बाल सुधारगृह वा कारागारमा गोली चलेको हो र कोही घाइते भएको अवस्था हो रु भनेर प्रश्न गर्दा दुवै जनाले तत्काल आफ्नो च्यानलमा सोधनीपश्चात् गोली नचलेको र केही राउण्ड हवाई फायर मात्र भएको भनी मलाई जानकारी दिए । राति करिब १२ः०० बजे आसपासको समयमा नौबस्ता कारागार र बाल सुधारगृहको स्थलगत अवस्था बुझ्न दुवै जना प्रहरी उपरीक्षकहरूसहितको टोली सम्बन्धित स्थलतर्फ प्रस्थान गरेको थियो । नौबस्ता कारागार र सँगै जोडिएको नौबस्ता बाल सुधारगृहमा भाद्र २४ गते राति १० बजेपछि ९अन्दाजी १०ः१५ बजेदेखि ११ः०० बजेभित्रको समयमा हुनुपर्छ० भएको भनिएको घटनाका सम्बन्धमा मैले सो राति प्राप्त गरेको जानकारी त्यति मात्रै रहेकोले सो घटनाका सम्बन्धमा सम्बन्धित कार्यालय÷अधिकारीबाट नै विस्तृत विवरण प्राप्त हुनेछ होला ।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ १४ गते बिहीबार