गोदाममा युरिया र डिएपी, किसानलाई रित्तोहात



नेपालमा सरकारी संस्थान कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट टे«डिङ्ग कम्पनी लिमिटेडले मात्रै मल बिक्रीवितरण गर्छन् ।उनीहरूले सिधै किसानलाई नभै स्थानीयस्तरमा स्थानीय तहले सिफारिस गरेका सहकारीहरूलाई कोटा बाँडेर मल उपलब्ध गराउँछन् । सहकारीहरूले किसानलाई मल बेच्छन् । किसानहरूलाई सहज होस्, स्थानीय सरकार जिम्मेवार होस् र सहकारीहरूको पनि सबलीकरण होस् भनेर गरिएको यस्तो प्रणालीमा पनि स्थानीय तह र सहकारीहरूले इमानदारी नअपनाउँदा किसानहरू समस्यामा परिरहेको कृषि सामग्री कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख पुष्पलाल श्रेष्ठ बताउँछन् ।

वीरेन्द्र जैसी । नेपालगन्ज ।

बाँकेको जानकी गाउँपालिका वडा नम्बर ३ बन्जारे गाउँका किसान जगन्नाथ मौर्य अहिले हिउँदेबाली तोरीका लागि युरिया मलको खोजीमा भौतारिइरहेका छन् । गाउँका सहकारीमा पुग्दा मल नआएको बताएपछि उनी मंगलबार दिउँसो नेपालगन्जस्थित कृषि सामग्री कम्पनी लिमिटेडको कार्यालयमा पुगे । उनले कार्यालय प्रमुख पुष्पलाल श्रेष्ठलाई भेटेर मल नपाइएको बारे जिज्ञासा राखे । श्रेष्ठले मौर्यको वडामा नौ वटा सहकारी रहेको र ती सहकारीहरूले पालैपालो मल लिने गरेको जानकारी दिए ।

यसवर्ष हिउँदे बालीका लागि मलको अभाव नरहेको बताएका श्रेष्ठले मौर्यलाई ती सहकारीमध्ये कुनमा मल छ भन्ने जानकारीका लागि समय समयमा सहकारीको सम्पर्कमा आइरहन सुझाव दिए । तर मौर्यलाई सहकारीबाट मल पाउनु फलामको चिउरा चपाउनुजत्तिकै गाह्रो लाग्छ । ‘सहकारीका मन्छेहरूले पहिला आफ्नो र आफन्तका लागि मल छु्ट्याउँछन् । राती राती बेच्छन् । हामी लाइनमा बसेर पनि मल पाउँदैनौँ । कति दिन धाउनु । धानको सिजनमा धाउँदा–धाउँदा मल नपाइएपछि इण्डिया गएर लिएर आउनुपर्याे । अहिलेपनि पाइएला जस्तो छैन,’ मौर्यले दिक्दारी व्यक्त गरे ।

डुडुवा गाउँपालिकाको वडा नम्बर २ मा पनि ६ वटा सहकारीहरूले मल बिक्री वितरणको काम गर्दै आएका छन् । तर, त्यहीँका एकजना किसान फरिरुद्धिन खान सहकारीहरूबाट मल पाउन मुस्किल हुने भएपछि आफू पनि भारतबाटै मल ल्याउन विवश हुने गरेको बताउँछन् ।उनले पनि सहकारीहरूले किसानहरूलाई पालैपालो दामासाहीले मल उपलब्ध गराउनेभन्दा सहकारीका पदाधिकारी र तिनका आफन्त तथा टाठाबाटाहरूलाई दिने गरेको आरोप लगाए । यस्तो आरोप मौर्य र खानको मात्रै होइन ।

अधिकांश किसानहरूले खेती गर्ने सिजनमा सहकारीहरूको कार्यालयमा लाइन लागेर बस्दा पनि मल नपाएको, मल वितरणको पारदर्शी प्रक्रिया सहकारीहरूले नअपनाएको आरोप लगाउँदै आएका छन् । अहिले हिउँदेबाली लगाउने सिजन सुरु हुँदा सोमबारसम्मको रेकर्डअनुसार कृषि सामग्री कम्पनी लिमिटेडको नेपालगन्जस्थित गोदाममा दुई सय ९४ मेट्रिक टन युरिया र तीन सय ८० मेट्रिक टन डिएपी मल मौज्दात छ ।अरु मल पनि आउने क्रममा रहेकोले यसवर्ष मलको अभाव नहुने दाबी कृषि सामग्री कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख श्रेष्ठको छ ।

तर, अहिलेपनि किसानहरू मल पाउन नसकेको गुनासो किन गरिरहेका छन् ? यस प्रश्नमा श्रेष्ठले भने, ‘दुईटा कारण छन् । पहिला, स्थानीय तहले मल वितरण गर्ने सहकारीहरू सिफारिस गर्दा एउटै वडाका धेरै र वितरणको काम प्रभावकारी रूपले गर्न नसक्ने सहकारी पनि सिफारिस गरिदिएका छन् । त्यस्ता सहकारीहरूले पारदर्शी प्रक्रिया नअपनाएर समस्या आएको व्यापक गुनासो आइरहेको छ । अर्काे कारण यसवर्ष जेन जी आन्दोलनका कारण कतिपय सहकारीहरू नवीकरण हुन बाँकी रहेकोले सबै सहकारीहरूले हामी कहाँबाट मल लिन पाइरहेका छैनन् ।’

नेपालमा सरकारी संस्थान कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट टे«डिङ्ग कम्पनी लिमिटेडले मात्रै मल बिक्रीवितरण गर्छन् । उनीहरूले सिधै किसानलाई नभै स्थानीयस्तरमा स्थानीय तहले सिफारिस गरेका सहकारीहरूलाई कोटा बाँडेर मल उपलब्ध गराउँछन् । सहकारीहरूले किसानलाई मल बेच्छन् । किसानहरूलाई सहज होस्, स्थानीय सरकार जिम्मेवार होस् र सहकारीहरूको पनि सबलीकरण होस् भनेर गरिएको यस्तो प्रणालीमा पनि स्थानीय तह र सहकारीहरूले इमानदारी नअपनाउँदा किसानहरू समस्यामा परिरहेको श्रेष्ठको भनाइ छ ।

स्थानीय तहले गरेको सिफारिसलाई मान्नैपर्ने बाध्यताका कारण बाँकेमा कृषि सामग्री कम्पनीबाट मल वितरण गर्नका लागि सहकारीहरूको वितरण असमान रहेको श्रेष्ठले बताए । हुनपनि बाँकेका कुनै वडामा नौ वटा सहकारीसम्मलाई मल वितरण गर्ने जिम्मा दिन सिफारिस गरिएको छ भने कुनैमा वडाभरीका लागि एउटा मात्र सहकारी तोकिएको छ । उदाहरणका लागि बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २, जानकी गाउँपालिकाको वडा नम्बर ३ मा नौ वटा सहकारीहरूले मल वितरण गर्छन् भने कोहलपुर नगरपालिकाको एउटै सहकारीले ६ वटा वडासम्मको लागि मल वितरण गर्नुपर्छ । यसरी एउटै वडामा धेरै सहकारीले मल वितरण गर्ने व्यवस्था गर्दा सहकारीहरूले सेवा क्षेत्रका सबै किसानका लागि पालोअनुसार पारदर्शीरूपले मल वितरण गर्ने व्यवस्था गर्नुपर्नेमा त्यसो नगर्ने गरेको श्रेष्ठले बताए ।

मल वितरणका लागि सहकारीहरूको यही असमान वितरणलाई ध्यानमा राखेर कम्पनी लिमिटेडले यसै वर्षदेखि एउटा वडामा दुईवटा मात्रै सहकारीले मल वितरण गर्न पाउनेगरी सिफारिस गर्नुपर्ने व्यवस्थासहितको नयाँ कार्यविधि जारी गरेको छ । तर, उक्त कार्यविधिले नयाँ कार्यविधि लागु हुनुभन्दा अघि नै सिफारिस भएका सहकारीहरूलाई यथावत नै राख्ने दोहोरोे व्यवस्था गरेकोले बिक्रेता सहकारीहरूको असमान वितरण कायमै रहने अवस्था रहेको छ ।

श्रेष्ठले अहिले आफूले सहकारीहरूले मल वितरण प्रक्रियालाई पारदर्शी र समावेशी बनाउन निर्देशन जारी गरेको र करिब ९० प्रतिशत समस्या समाधान भएको दाबी गरे । कतिपय सहकारीहरूले रातीको समयमा पन मल वितरण गरेको गुनासो आएपछि आफूले समावेशी र पारदर्शी तरिका अपनाएर कार्यालय समयमा मात्रै मल वितरण गर्न र टोकन प्रणाली अपनाएर वितरण गर्न निर्देशन जारी गरेको उनको दाबी छ । नवीकरण हुन बाँकी सहकारीका हकमा बिस्तारै नवीकरण भएर आउने क्रम जारी रहेको र हिउँदे बाली लगाउने सिजन घर्किनुअघि नै सबैतिर मल पुगिसक्ने श्रेष्ठको दाबी छ । सूचीकृत एक सय ४४ वटा सहकारीमध्ये ६० ओटा सहकारी अझै नवीकरण हुन नसकेका श्रेष्ठले जानकारी दिएका छन् ।

बाँकेमा गत वर्ष हिउँदे सिजनमा एक हजार पाँच सय ६४ मेट्रिक टन युरिया मल बिकेको थियो भने डिएपी एक हजार चार सय ९ मेट्रिक टन बिकेको थियो । यसवर्ष कात्तिक महिनामा एक सय ११ मेट्रिक टन डिएपी र युरिया एक सय १ मेट्रिक टन मल बिकेको छ । बिक्रि भएको र मौज्दात मलको आधारमा अझै गत वर्षको खपतअनुसार अझै नौ सय बढी मेट्रिक टन डिएपी र एक हजार एक सय ७० मेट्रिक टन भन्दा बढी युरिया मल आवश्य पर्ने देखिन्छ । हिउँदे सिजनमा एकैपटक नभै प्रत्येक महिनामा अलि अलि हुँदै मल खपत हुने देखिएकोले मल आउँदै जाने र सहकारीमा पठाउँदै जाने तयारी गरिएको श्रेष्ठको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक १९ गते बुधबार