लुम्बिनीका २८ स्थानमा एनपीएल ट्रफी टुर



कोहलपुर (बाँके) ।

नेपाल प्रिमियम लिग (एनपीएल)को दोस्रो संस्करण सुरु हुनुपूर्व लुम्बिनी प्रदेशका विभिन्न सहरमा ट्रफी टुर कार्यक्रम गरिएको छ । एनपीएल टिम लुम्बिनी लायन्सको सक्रियतामा लुम्बिनीका विभिन्न २८ स्थानमा एनपीएल ट्रफी टुर गरिएको हो । शनिबार बिहान साढे ९ बजे काठमाडौँबाट ल्याइएको ट्रफीलाई भैरहवा विमानस्थलमा बाजागाजासहित स्वागत गरिएको थियो ।

त्यसपछि बुद्ध जन्मस्थल मायादेवी मन्दिर परिसरबाट टुर सुरु भएको थियो । त्यहाँ लुम्बिनी लायन्स क्लबको झण्डासहित ट्रफी प्रदर्शन गरिएको थियो । उक्त अवसरमा बोल्दै लुम्बिनी लायन्स क्लबका मालिक ईश्वर जिसीले एनपीएलप्रति सर्वसाधारणको समर्थन आर्जन गर्ने उद्देश्यले ल्याइएको ट्रफी ‘रिसिभ’ गर्नुका साथै विभिन्न क्षेत्रमा ट्रफी टुर आयोजना गरिएको बताएका थिए ।

एनपीएलप्रति सर्वसाधारणको समर्थन आर्जन गर्ने उद्देश्यले ल्याइएको ट्रफीलाई पछि भैरहवा रंगशालामा पुगेर लुम्बिनी प्रदेशका युवा तथा खेलकुदमन्त्री सन्तोष पाण्डे र क्रिकेट संघका अध्यक्ष थापाले स्वागत गरेका थिए । त्यहाँ एनपीएल टिम लुम्बिनी लायन्सका खेलाडी र समर्थक झण्डासहित स्वागत गरेका थिए । ट्रफीको सम्मान र स्वागतका लागि नेपाल प्रहरीको ब्यान्ड आमन्त्रण गरिएको थियो ।

पहिलो दिन लुम्बिनी प्रदेशका विभिन्न १५ वटा स्थलमा पु¥याइएको एनपीएल टिम लुम्बिनी लायन्सले जनाएको छ । पहिलो दिन विमानस्थलबाट सुरु भएको टुर मायादेवी मन्दिर, भैरहवा रंगशाला हुँदै बेलहैया सुनौली, बुद्ध चोक, ठुठी पिपल, स्टार क्रिकेट एकेडेमी, कोटिहवा, मनिग्राम, चौराहा, कालिकानगर, मिलन चोक, ट्राफिक चोक, गोल पार्क र सिद्धबाबा पुगेर पहिलो दिन सकिएको थियो ।

दोस्रो दिन आइतबार बिहान ७ बजे बेलबासबाट सुरु भएको ट्रफी टुर बनगाई, गोरुसिंगे, चनौटा हुँदा प्रदेश राजधानी भालुवाङ, लमही, घोराही, पाण्डेवश्वरी महादेव मन्दिर, तुलसीपुर पुगेको थियो । कोहलपुर, नेपालगन्जको वागेश्वरी मन्दिरसम्म पु¥याइएको थियो । आयोजकका अनुसार सोमबार बिहान १० बजे बर्दियाको बाँसगढी पुगेर टुर समापन हुनेछ । टिमका मेन्टर शक्ति गौचनले विभिन्न स्थानमा नागरिक, क्रिकेटप्रेमीहरूले भव्य स्वागत गरेको बताए ।

एनपीएलको दोस्रो संस्करण सुरु हुनुपूर्व आयोजना गरिएको ट्रफी टुरले प्रतियोगिताप्रति नागरिकमा झन् कौतुहलता बढाएको गौचनले बताए । नेपाली पुरुष राष्ट्रिय टिमका कप्तान रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्सले पहिलो सिजनमा औसत प्रदर्शन गरेको थियो । यसपटक भने उपाधि जित्ने लक्ष्यसहित लुम्बिनी लायन्स दोस्रो संस्करणमा सहभागिताका लागि आतुर छ । एनपीएलको दोस्रो संस्करण आगामी मंसिर १ गतेदेखि सुरु हुँदैछ ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक १७ गते सोमबार