कुल ३२ करोड लागतमा विभिन्न खोलामा निर्माण भइरहेका अन्य आठमध्ये पाँच वटा पुल सम्पन्न भई सञ्चालनमा आएका छन् भने तीन वटा निर्माणाधीन अवस्थामै रहेको उनी बताउँछन् । पाँच वटा पक्की पुल सञ्चालन भएसँगै पहिलेको तुलनामा हाल नाग्म–गमगढीको यात्रा सहज बन्दै गएको छ । तर अन्य स्थानमा पुल नबन्दा बर्खामा हिलो र हिउँदमा धुलोको समस्या यथावत छ ।
नन्दराम जैशी । सुर्खेत ।
नाग्म–गमगढी सडकखण्डमा पुल निर्माणकार्य निकै सुस्त गतिमा छ । जुम्लाको नाग्मदेखि मुगुको गमगढीसम्म सडकखण्डमा निर्माण हुने १० वटामध्ये पाँच पक्की पुल निर्माण भइसकेका छन् । तर निर्माणकार्य सुरु भएको पाँच वर्ष बितिसक्दा समेत दुई वटा पुल निर्माण कार्य अझै अलपत्र अवस्थामा छ भने बाँकी तीन वटा पुल निर्माणको काम कछुवा गतिमा सञ्चालन भइरहेको छ । समयमै पुल निर्माण नहुँदा राराताल जाने पर्यटक र मुगुवासीका लागि आउजाउ गर्न सधैँ सास्ती खेप्नुपर्ने बाध्यता छ ।
२०७८ फागुन ९ गते ठेक्का सम्झौता भई २०८२ साउन मसान्तसम्म काम सम्पन्न गर्नुपर्ने भएपनि हालसम्म अझै दुई वटा पुल अलपत्र अवस्थामा छन् । जग्गा विवादका कारणले नाग्म–गमगढी सडकको प्रवेशद्वारमै रहेको बालुवा खोला पक्की पुल निर्माणकार्य अलपत्र छ भने कनकासुन्दरी ६ को गोठीज्यूलामा बन्ने पुलको काम सुरसार नै छैन । यी दुवै स्थान बाढी पहिरोका कारण निकै जोखिममा छन् । बर्खाको सिजनमा बालुवा खोला र गोठीज्युला खोलाको काठेपुलमै पानी पुग्छ । तर ती दुई क्षेत्रमै जग्गा विवाद भएपछि पुल निर्माणकार्य पाँच वर्षदेखि अलपत्र छ ।
सडक डिभिजन जुम्लाका सूचना अधिकारी प्रदिप चौधरीका अनुसार सडक विभागको ३२ करोड लगानीमा नाग्म–गमगढी सडकमा १० वटा पुल निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाएको थियो । तर यीमध्ये हालसम्म पाँच वटा पक्की पुल मात्रै निर्माण भएको उनले बताए । उनका अनुसार मुगुको पिना, झयारी खोला, जुम्लाको बाँझगाडँ र रोकायाबाडा खोलाको पुल निर्माण कार्य सम्पन्न भएको छ । तर सुरुवातदेखि जग्गा विवादले रोकिएको बालुवा खोला र गोठीज्युला पक्की पुलको विवाद अझै नसुल्झिाएको सूचना अधिकारी चौधरीले जानकारी दिए ।
बालुवा खोलामा हिमा गाउँपालिकातर्फ पिलर खडा भएको वर्षौँ भइसक्यो । तर पिल्लरका सरियामा खिया लागिसकेका छन् । कालीकोटतर्फका जग्गाधनीले जग्गा दिन नमानेपछि पुल निर्माण अघि बढ्न नसकेको कार्यालयले जनाएको छ । उता गोठीज्युलामा २५ मिटर लामो पुलको डिजाइन गरिएको छ । तर पछि स्थानीयले जग्गा दिन नमानेपछि डिजाइन परिवर्तन नै गर्नुपर्ने तयारी छ । अलपत्र भएका पुलको काम अघि बढाउन पटक पटक जनप्रतिनिधि तथा जग्गाधनीसँग छलफल भएपनि निष्कर्षविहीन बनको सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र चौधरी बताउँछन् ।
‘जग्गाधनीसँग पटक–पटक भएको छलफलमा मुआब्जाको माग गरेपछि कुरा मिलेको छैन । मुआब्जाको माग राखेकाले पुल निर्माण रोकिएको हो,’ उनले भने, ‘कार्यालय प्रमुख भएर म आइसकेपछि पनि तीन पटक छलफल भइसक्यो । तर टुंगो लागेको छैन । यो समस्या समाधानका लागि अब सबै सरोकारवाला निकायले भूमिका खेल्नुपर्ने देखिन्छ ।’ कनकासुन्दरीको गोठीज्युलामा पुल बनाउँदा मुगुको खत्याड क्षेत्र जाने बाटो बन्द हुने र केही घर भत्काउनुपर्ने भएकाले स्थानीयले जग्गा दिन नमानेका हुन् । कार्यालय प्रमुख चौधरीका अनुसार अब २० मिटर लामो पुलको डिजाइन फेरेर पाँच मिटरमात्रै लामो हुनेगरी निर्माण गर्ने तयारी छ । तर यसमा सडक विभागले स्वीकृति दिएको छैन ।
कुल ३२ करोड लागतमा विभिन्न खोलामा निर्माण भइरहेका अन्य आठमध्ये पाँच वटा पुल सम्पन्न भई सञ्चालनमा आएका छन् भने तीन वटा निर्माणाधीन अवस्थामै रहेको उनी बताउँछन् । पाँच वटा पक्की पुल सञ्चालन भएसँगै पहिलेको तुलनामा हाल नाग्म–गमगढीको यात्रा सहज बन्दै गएको छ । तर अन्य स्थानमा पुल नबन्दा बर्खामा हिलो र हिउँदमा धुलोको समस्या यथावत छ । विगतमा खोलामै गाडी चलाउनुपर्ने बाध्यता रहेपनि पाँच वटा पुल सञ्चालनले यात्रा निकै सहज भएको सवारी चालकहरू बताउँछन् ।
जग्गा विवादले बालुवा खोलामा पुल निर्माण रोकिएपछि हिमा गाउँपालिकाले आफ्नै लगानीमा रारा जाने पर्यटकको राहतका लागि काठेपुल बनाइदिएको छ । यसले मोटरसाइकलमार्फत रारा आउने पर्यटक र स्थानीयलाई राहत भएको छ । बालुवा खोलामा मुआब्जा नपाएसम्म जग्गा नदिने जग्गाधनी पहलबहादुर रावतको अडान छ । रावतले गत वर्षको छलफलमा २५ लाखसम्म मुआब्जा दिनुपर्ने माग राखेका थिए । त्यो रकम निर्माण व्यवसायी र सडक डिभिजनले दिन सक्ने अवस्था नरहेको उल्लेख छ ।
हालसम्म जुम्लाको कालिकाखेतु खोला, बाजागाडा खोला, विष्टबाडा खोला, रोकायाबाडा तथा मुगुको पिना खोला र गमगाड खोलाको पक्की पुल निर्माण भइरहेका छन् । २०७८ फागुन ९ गते ठेक्का सम्झौता भई २०८२ साउन मसान्तसम्म काम सम्पन्न गर्नुपर्ने सम्झौता भएपनि दुई वटा पुल अझै अलपत्र भएकाले म्याद थप्नुपर्ने स्थिति आएको छ । १० वटै पुल निर्माणको ठेक्का एउटै निर्माण कम्पन्नी हिम सगरमाथा कन्स्ट्रक्सनले ३२ करोड लागतमा जिम्मा पाएको छ ।
मौसम प्रतिकूलता, जनशक्ति अभाव, निर्माण सामग्री अभाव, बजेट अभाव तथा कठिन भूगोलका बीच पनि निर्माण कार्यलाई गति दिइरहेको निर्माण कम्पनीको तर्क छ । मुख्य समस्याका रूपमा दुई पुलको जग्गा विवाद निष्कर्षमा नपुग्दा समस्या भएको निर्माण कम्पनीले जनाएको छ । कूल ९३ किलोमिटर दूरी रहेको नाग्म–गमगढी सडक खण्डका विभिन्न स्थानमा पक्की पुल बनेपछि सहज यात्राको अनुभूति गर्न थालिएको छ । तर सबै पुल निर्माण भई पुरै सडक कालोपत्रे कहिले हुनेहो पत्तो छैन ।
हालसम्म ९३ किलोमिटर सडकमध्ये जुम्ला रोकायाबाडादेखि गोठीज्युलासम्मको ६ किलोमिटर सडक कालोपत्रे भएको छ । अन्य ८७ किमि अझै धुलाम्य सडक छ । सरकारले प्राथमिकताका साथ काम गर्न निर्देशन दिएको खण्डमा बाँकी सडकखण्ड पनि छिट्टै कालोपत्रे हुने सम्भावना छ । तर ठेकेदारको बाहाना र सरकारी कम प्राथमिकताका कारण यो सडक वर्षौँदेखि उस्तै अवस्थामा छ ।









प्रतिक्रिया दिनुहोस्