महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको पछिल्लो अद्यावधिक विवरणअनुसार आर्थिक वर्ष २०७५–०७६ देखि हालसम्म ८४६ जना बढी गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार गरिएको छ । निःशुल्क हवाई उद्धार सेवा कार्यक्रमका कारण कर्णाली प्रदेशसँगै देशभरका दुर्गम क्षेत्रका ८४६ जना बढी आमाको ज्यान जोगिएको हो ।
नन्दराम जैशी । सुर्खेत ।
निःशुल्क हवाई उद्धार सेवा कार्यक्रमका कारण कर्णाली प्रदेशसँगै देशभरका दुर्गम क्षेत्रका ८४६ जना बढी आमाको ज्यान जोगिएको छ ।राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत दुर्गम हिमाली तथा पहाडी क्षेत्रमा गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार सेवा कार्यक्रम प्रभावकारी बन्दै गएको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको पछिल्लो अद्यावधिक विवरणअनुसार आर्थिक वर्ष २०७५–०७६ देखि हालसम्म ८४६ जना बढी गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार गरिएको छ ।
आव २०७५–०७६ देखि दुर्गम हिमाली तथा पहाडी क्षेत्रमा गर्भवती तथा सुत्केरी हुने अवस्थामा स्वास्थ्य समस्या सिर्जना भई ज्यान जोखिममा परेका महिलालाई हवाई उद्धार गरी तोकिएको अस्पतालमा पु¥याई गुणस्तरयुक्त स्वास्थ्य सेवा प्रदान गर्दै आइएको छ । यस कार्यक्रमका कारण दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको समयमै उद्धारपछि अकालमा मृत्यु हुनबाट जोगिएका छन् । ‘दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको लागि हवाई उद्धारका लागि कार्यविधि २०७५’ कार्यान्वयनमा आएको छ ।
उक्त कार्यविधि २०७७ असोज ११ गतेको मन्त्रीस्तरीय निणर्यबाट स्वीकृत भएको थियो । हवाई उद्धार गरी सुविधासम्पन्न अस्पतालसम्म ल्याइएकी ज्यान जोखिममा परेकी महिलाको सुत्केरी पोषण स्याहार तथा यातायात सहयोगका लागि एकमुष्ट २० हजार उपलब्ध गराउँदै आइएको छ । तर कार्यविधिमा जुनसुकै कुरा लेखिएको भए तापनि सरकारी निवृत्तिभरण प्राप्त गर्ने व्यक्ति तथा सामाजिक सुरक्षा कोषमा आबद्ध कर्मचारीको हकमा यस्तो सुविधा उपलब्ध नहुने उल्लेख छ ।
यस्तै पोषण स्याहार तथा यातायात सहयोग रकम प्राप्त गरेका गर्भवती तथा सुत्केरी महिलालाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्राप्त हुने सोही बमोजिमको खर्च दोहोरो पर्ने गरी प्राप्त नहुने व्यवस्था छ । हवाई उद्धार गरी सुविधासम्पन्न अस्पतालसम्म ल्याइएकी गर्भवती तथा सुत्केरी महिलालाई प्रदान गरिने पोषण स्याहार तथा यातायात सहयोग रकम बैंक खातामा जम्मा गराउने व्यवस्था रहेको छ । गर्भवती तथा सुत्केरी महिलाको बैंक खातामा रकम जम्मा गर्न नसकेको अवस्थामा सम्बन्धित अस्पतालबाट भुक्तानी दिइ सोको सोर्धभना मन्त्रालयबाट गराउने व्यवस्था छ ।
हवाई सेवा उद्धार कार्यक्रम पूर्णरूपमा १८ जिल्लामा लागू भएको छ भने आंशिकरूपमा २९ जिल्लामा लागू भएको छ । पूर्णरूपमा कार्यक्रम लागू भएका जिल्लाहरूमा ताप्लेजुङ, संखुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, मनाङ, मुस्ताङ, रूकुम पूर्व, रूकुम पश्चिम, जाजरकोट, डोल्पा, कालीकोट, मुगु, हुम्ला, बाजुरा, अछाम र दार्चुला रहेका छन् ।
हेलिकप्टरमै जन्मिएका शिशुको मृत्यु
कालीकोटको दुर्गम क्षेत्रबाट आकस्मिक उद्धार गरी सुर्खेत ल्याउँदै गर्दा हेलिकप्टरमै जन्मिएकी एक शिशुको मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पताल लैजाने क्रममा बाटोमै शिशुको मृत्यु भएको हो । अस्पतालका चिकित्सकहरूका अनुसार अस्पताल पु¥याउँदासम्म शिशुको मृत्यु भइसकेको थियो । रक्तस्रावको समस्या भएपछि कालीकोटको तिलागुफा नगरपालिका—९ की २० वर्षीया अबिसा खत्रीलाई सोमबार बिहान ९ बजेतिर नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत ल्याइएको छ ।
प्रदेश अस्पतालका वरिष्ठ नर्सिङ अधिकृत कल्पना थापाका अनुसार अबिसालाई राति १ बजेदेखि नै रक्तस्राव भएको खुलेको छ । उनका परिवारले सोमबार बिहानै गाउँको चिलखाया स्वास्थ्य संस्थामा लिएका थिए । तर त्यहाँ अवस्था गम्भीर देखिएपछि कर्णाली प्रदेश अस्पताल रिफर गरिएको थियो । सुत्केरी व्यथाले बेस्सरी च्यापेपछि खत्रीले हेलिकप्टरमै शिशु जन्माएकी थिइन् ।
बिहान ९ बजेर ५० मिनेट जाँदा हेलिकप्टरमै अबिसाले शिशु जन्माएको वरिष्ठ नर्सिङ अधिकृत थापाको भनाइ छ । उनका अनुसार शिशु जन्माएपछि चिच्याएको अबिसाले बताएकी थिइन् । तर बिहान १० बजेर ३० मिनेटमा अबिसा प्रदेश अस्पतालमा आइपुग्दा शिशु जीवित नरहेको अस्पतालले जनाएको छ ।
चिकित्सकले शिशुलाई मृत घोषणा गरेका छन् । चिकित्सकका अनुसार अबिसाको गर्भ २४ हप्ता ६ दिनको थियो । ‘२४ हप्ताको शिशुलाई बचाउन गाह्रो हुन्छ, त्यसमाथि रक्तस्राव र हेलिकप्टरमै जन्मिएकाले जीवित रहने सम्भावना पनि कमै हुन्छ,’ नर्सिङ अधिकृत थापाले भनिन्, ‘तर शिशुको ज्यान गएपनि आमा अबिसाको भने स्वास्थ्य अवस्था सामान्य छ । उनी अहिले कर्णाली प्रदेश अस्पतालमा चिकित्सकको निगरानीमा छिन् ।’









प्रतिक्रिया दिनुहोस्