खजुरा (बाँके) ।
बाँकेको खजुरामा रहेको जनजागरण समाजको २२औँ तथा जनजागरण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाले एकै भेला बोलाएर सभा सम्पन्न गरेको हो । जनजागरण समाजका अध्यक्ष सुनिता आलेको अध्यक्षतामा भएको कार्यक्रममा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकको प्रमुख आतिथ्यता रहेको थियो ।
जनजागरण समाजले एकातर्फ संस्थाको संस्थागत विकास र स्थायित्वका लागि विभिन्न आन्तरिक स्रोतहरूको सिर्जना गर्दै आइरहेको छ भने सहयोगी साझेदार संस्थाहरूको आर्थिक सहयोगमा विभिन्न किसिमका कार्यक्रमहरू पनि सञ्चालन गर्दै आइरहेको जनजागरण समाजका कार्यकारी व्यवस्थापक रामबहादुर पुनले जानकारी दिए । समाजले आर्थिक वर्ष २०८१–०८२ मा सम्पन्न गरेका कार्यक्रमको बारेमा आम्दानी तथा खर्चको प्रतिवेदन सभामा प्रस्तुत गरिएको थियो ।
समाजले खजुरा गाउँपालिका र जानकी गाउँपालिकामा विभिन्न समूहहरू बनाई कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ । समाजले अल्पसंख्यक पछाडि पारिएका नागरिकहरूलाई विशेषगरी समेट्ने कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको कार्यकारी व्यवस्थापक पुनले जानकारी दिए । कार्यक्रममा खजुरा गाउँपालिकाका विकले जनजागरण समाजद्वारा सञ्चालन गरेका कार्यक्रम विपन्न वर्गको विकासका लागि महत्वपूर्ण देखिएको उल्लेख गरे ।
अल्पसंख्यक असायहरूको मुद्दा सरोकारवालासँग पु¥याउन समाजले उल्लेख्य भूमिका निर्वाह गरेको उनको ठम्याइ थियो । गाउँपालिकाका उपाध्यक्ष मञ्जु मल्लले संस्थाले खेल्नुपर्ने भूमिका जनजागरणले राम्रोसँग खेलेका कारण प्रतिफल सकारात्मक देखिएको बताइन् । समाजको सकारात्मक कार्यक्रमका लागि पालिकाले पनि सहयोग गर्दै आइरहेको उनको भनाइ थियो । समाजले सभासँगै सामाजिक परीक्षण कार्यक्रमसमेत सम्पन्न गरेको थियो । कार्यक्रममा ६ सय बढीको उपस्थिति रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्