वडाध्यक्ष रिजालको बदमासीः भोगचलन गरिरहेको जग्गा अर्कैको नाममा सिफारिस



शेरबहादुर ऐर । कैलाली ।

कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १८ का अध्यक्ष भुवन रिजालले वर्षौँदेखि बसोबास गर्दै आएको एक परिवारको जग्गा अर्कै व्यक्तिलाई दिन सहयोग गरेको पाइएको छ । सोही वडाकी लालीदेवी सार्कीले वर्षौँदेखि भोगचलन गर्दै आएको जग्गालाई वडाध्यक्ष रिजालले अर्कै व्यक्तिले उपभोग गर्दै आएको भन्दै सिफारिस गरेको पाइएको हो ।

वडाध्यक्ष रिजालले गत असार ३२ गते सार्कीको जग्गामा सोही वडामा बस्ने जमुनादेवी ओझाले उपभोग गर्दै आइरहेको भन्दै सिफारिस गरेका थिए । वडाध्यक्ष रिजालद्वारा जारी सिफारिसपत्रमा भनिएको छ, ‘साविक फूलवारी ४ स्थित नक्सा नम्बर ४ ‘ठ’अन्र्तगत कित्ता नम्बर ६३ को जग्गा फिल्डबुकमा श्री जमुनादेवी ओझा नाम उल्लेख भएको र उक्त जग्गाको निवेदक ओझाले मिति २०५२ सालदेखि भोगचलन गर्दै आइरहेको सिफारिस साथ अनुरोध गरिन्छ ।’

वडाध्यक्ष रिजालले असार ३२ गते फिल्डबुकका आधारमा सिफारिस गरेको दाबी गरिएपनि त्यसको भोलि अर्थात् २०८२ साउन १ गते सुकुम्वासी समस्या समाधान आयोग प्रयोजनका लागि ओझाले नापी कार्यालयबाट फिल्डबुक उतार लिएकी थिइन् । सार्कीले २०५५ साल मंसिर ४ गते उपभोग गर्दै आइरहेको जग्गाको सेतो पुर्जा लिएकी थिइन् । हामीलाई उनका छोरा प्रेम सार्कीले उपलब्ध गराएको सेतो पुर्जा अहिले पनि उनकै नाममा रहेको छ । सेतो पुर्जा भएपनि सुकुम्वासी नै बन्नुपर्ने अवस्था आएपछि समाधानका लागि साविकको गाउँ विकास समिति कार्यालयबाट २०६७ साल साउन १६ गते लालीदेवी सार्कीले भोगचलन गर्दै आइरहेको भन्दै सिफारिस गरेको थियो ।

सो सिफारिसमा भनिएको छ, ‘लालीदेवीको नाममा फिल्डबुकसमेत कायम भएकाले सुकुम्वासी समस्या समाधान आयोग जिल्ला समिति कैलालीलाई जग्गा भोगचलनको सिफारिस गरिपाउँ भनी दिएको निवेदनबमोजिम गाउँ सर्जमिन बुझ्दा व्यहोरा ठिक साँचो भएकोले भोगचलन गरिआएको व्यहोरा सिफारिस साथ अनुरोध गरिन्छ ।’ आमासहित तीन दाजुभाई रहेका प्रेम सार्कीले भने, ‘सुकुम्वासी समस्याकै कारण हामीले जग्गा भागबन्डा पनि गर्न पाएका छैनौँ । त्यसैमा अहिले वडाध्यक्षले हामीलाई जानकारी नै नदिई वर्षौँदेखि भोगचलन गरिरहेको जग्गा अर्कैको भनी सिफारिस गरिदिएका छन् । हामी यसै त गरिब छौँ । त्यसैमा सुकुम्वासीमाथि थप सुकुम्वासी बनाउने प्रयास वडाध्यक्ष रिजालले गरिरहेका छन् ।’

लालीदेवीको नाममा पाँच कट्ठा ११ धुर अचल सम्पत्तिको सेतो पुर्जा रहेको छ । तर, वडाध्यक्ष रिजालले सम्बन्धित व्यक्तिसँग छलफल नगरि, आवेदनको सूचना गोप्य राखेको प्रेमको भनाइ छ । उनले भने, ‘मलाई लाग्छ वडाध्यक्ष रिजालले ओझाको नाममा जग्गा मिलाइदिन्छु भनी पैसा लिएका हुन सक्छन् । नत्र हामीले वर्षौँदेखि भोगचलन गरिरहेको जग्गा वडा कार्यालयले कसरी अर्कैको नाममा सिफारिस गरिदियो ?’
यसअघि रिजालले जग्गा नापी गराइदिने प्रलोभनमा पारि आफ्नै मतदाताहरूलाई ठगी गरेको भन्दै स्थानीयहरू खुलेका थिए । सोही वडामा बस्दै आएका कृष्णबहादुर विकले वडाध्यक्ष रिजाललाई दुई लाख रकम दिएको जानकारी दिएका थिए ।

उनले भने, ‘गत असार २३ गते वडाध्यक्ष रिजालले जग्गा नापी गराइदिने भन्दै दुई लाख रकम मागे । मैले सहकारीबाट ऋण निकालेर उनलाई दिएँ । तर, अहिलेसम्म जग्गाधनी पुर्जा हातपर्न त टाढाको कुरा । मेरो नाममा हालसम्म जग्गा पनि दर्ता हुन सकेको छैन । न त पैसानै फिर्ता भयो।’ वर्षौँदेखि धनगढीमा बस्दै आएपनि अहिलेसम्म उनको नाममा जग्गा नामसारी हुन सकेको छैन ।

अहिले भूमि आयोगनै खारेज भएपछि उनले वडाध्यक्ष रिजालसँग आफूले दिएको पैसा फिर्ता मागिरहेका छन् । तर, वडाध्यक्ष रिजालले झुठ भन्दै पन्छिएका छन् । वडाध्यक्ष रिजालसँग हामीले सोही विषयमा कुराकानी गर्न खोज्दा उनले पैसा असुल गरेकोबारे अस्वीकार गरे । उनले भने, ‘मैले पैसा लिएकोबारे सबै झुठो हो । मलाई फसाउन केही व्यक्तिले भ्रम फैलाएका हुन् । कसैबाट एक रूपैयाँ पनि लिएको छैन ।’

  • No tags available
प्रकाशित मिति : २०८२ असोज २७ गते सोमबार