यातायात कार्यालय नेपालगन्ज आजदेखि सरकारी भवनबाट



नेपालगन्ज ।

यातायात व्यवस्था कार्यालय नेपालगन्जले अब सरकारी भवनबाट सेवा दिने भएको छ । कार्यालय स्थापना भएयता भाडाको भवनबाट सेवा दिँदै आएको कार्यालयले पहिलोपल्ट आज आइतबारबाट सरकारी भवनबाट सेवा दिने भएको हो । कार्यालय सञ्चालनका लागि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ स्थित साविक सीप विकास तालिम केन्द्रको भवनमा व्यवस्था गरिएको छ ।

कार्यालय सार्नका लागि दुई दिन सेवा प्रवाह स्थगित गरेको कार्यालयले आज आइतबारदेखि सरकारी भवनबाटै सेवा सुरु गर्ने जानकारी दिएको छ । कार्यालय नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर ९ स्थित एक निजी भवनमा वार्षिक करिब १२ लाख रूपैयाँँ भाडा तिरेर सञ्चालन हुँदै आएको थियो । कार्यालयको भवन सेवाग्राहीमैत्री नहुँदा उपयुक्त ठाउँमा स्थानान्तरण गर्नुपर्ने माग लामो समयदेखी उठिरहेको थियो ।

सुरुमा कारकाँदोमा पर्ने सुर्खेत रोडमा एउटा निजी घरमा सञ्चालन भएको कार्यालय पछि भाडा सम्झौता अन्त्य भएपछि वडा नम्बर ९ बाँके गाउँस्थित एक निजी भवनमा सारिएको थियो । उपयुक्त भवन खोजेर सिफारिस गर्न प्रदेश मन्त्रालयले भनेपछि नेपालगन्ज उपमहानगरपालिकाले सीप विकास तालिम केन्द्रलाई सिफारिस गरेको थियो । कार्यालयका निमित्त कार्यालय प्रमुख कालीदास बस्यालले हाल ब्लुबुक नवीकरण, रुट इजाजत र सवारी जाँचपाससम्बन्धी सेवा मात्रै सञ्चालनमा रहने जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज २६ गते आइतबार