दैलेख ।
जिल्ला अस्पताल दैलेखमा बिरामीको चाप बढेपछि कुर्चीमै राखेर भएपनि बिरामीहरूलाई उपचार गर्नुपर्ने बाध्यता आएको छ । २०४२ सालमा ओपिडीका रूपमा बनाइएको साँघुरो भवनमा बेड अभाव हुँदा कुर्चीमै राखेर उपचार गर्न थालिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डाक्टर मनोज विश्वकर्माले जानकारी दिए । उनका अनुसार बर्सातसँगै ज्वरोका बिरामी बढेका छन् भने बालबालिकामा निमोनिया र ज्येष्ठ नागरिकमा दमका बिरामी बढी आउने गरेका छन् ।
१५ शय्या मात्रै क्षमता रहेको उक्त अस्पतालमा बिरामीको चाप अत्यधिक बढेपछि हाल ५८ बेडसम्मको व्यवस्थापन गरेर सेवा सञ्चालन भइरहेको उनले बताए । गत वर्षको तुलनामा यस वर्ष गर्भवती र सुत्केरीको सङ्ख्या पनि उल्लेख्यरूपमा बढेपछि थप समस्या भएको हो । डा. विश्वकर्माका अनुसार बिरामीको चाप बढी हुँदा बाहिरबाट बेड ल्याएर थप्ने गरिएको छ भने अत्यधिक भीड हुँदा बेड अपुग भएको बेला कुर्चीमै राखेर पनि उपचार गर्ने गरिएको छ ।
अस्पतालका अनुसार सुत्केरी वार्डमा पनि समस्या छ । १० शय्याको प्रसूति वार्डमा क्षमताभन्दा बढी सुत्केरीहरू हुँदा उपचारमा सकस परेको हो । अस्पतालले प्रसूति वार्डमा पनि बेडहरू थपेर सेवा दिएको जनाइएको छ । महिनामा कम्तीमा २५ देखि ३० जनासम्मका शल्यक्रियामार्फत प्रसूति हुने गरेको अस्पताल प्रमुख डा.विश्वकर्मा बताउँछन् ।
‘हाल जिल्ला अस्पतालमा नौ जना चिकित्सक कार्यरत छन् । जिल्लामा अनुभव भएका डाक्टरहरू आएसँगै सुर्खेत र नेपालगन्ज जाने बिरामीहरू जिल्ला अस्पतालमै आउन थालेका हुन्,’ उनले भने, ‘अस्पतालमा सेवा लिन आउनेहरू बढेका बेला पछिल्लो समय मौसमी बिरामीहरू बढी हुँदा अस्पताललाई सेवा दिन हम्मेहम्मे परेको छ ।’
बिरामी बढी हुँदा निजी मेडिकलमा समेत जाने गरेका छन् । निजी मेडिकलले चर्को मूल्यमा उपचार गरेको समेत गुनासो आएको छ । हिजोआज दैलेखमा सञ्चालनमा आएका मेडिकलमा समेत अनुगमन हुनुपर्ने आवाज उठेको छ । स्वास्थ्यकर्मीहरूका अनुसार नयाँ अस्पताल भवन ठेकेदारले समयमा निर्माण नगरेका कारण अस्पतालमा थप समस्या देखिएको छ ।
विगतमा अस्पताल म्याद थपिए पनि काम हुन सकेको छैन । जसका कारण अहिले ठेकेदारले पटकपटक म्याद थपका लागि पत्र पठाए पनि काममा प्रगति नदेखिएपछि म्याद विस्तारको प्रक्रिया रोकिएको जनाइएको छ । ५० शय्याको सुविधासम्पन्न भवन निर्माणकार्य ढिलो हुँदा २०४२ सालमा बनेको पुरानो बिरामी चेकजाँच भवनबाटै अहिले बिरामीहरूलाई कोचाकोच गरी उपचार गर्नुपर्ने बाध्यता रहेको अस्पतालले जनाएको छ ।
चार वर्षअघि अस्पतालको नयाँ भवन बनाउन सुरु भएपनि ठेकेदारले काम ढिलासुस्ती गर्दा अझै निर्माणको काम अधुरै छ । कर्णाली प्रदेश सरकारको १८ करोड २३ लाख ९९ हजार ३८१ बजेटमा तीन वर्षभित्र सम्पन्न गर्ने सम्झौता भएपनि ठेकेदारले काम गरेको छैन । यता ठेकेदार कम्पनीले प्रदेश सरकारले आफूलाई कामअनुसार पैसा नदिएका कारण ढिलाइ हुन गएको दाबी गर्दै आएको छ ।









प्रतिक्रिया दिनुहोस्