कर्णालीमा दसैँमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु



वीरेन्द्रनगर ।

कर्णाली प्रदेशमा दसैँ अवधिमा ६१ गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १३२ जना घाइते भएका छन् । गाडी दुर्घटनामा परी चार पुरुष, एक महिला र एक बालक गरी ६ जनाले ज्यान गुमाएका हुन् । प्रहरीको तथ्यांकअनुसार दुर्घटनामा ५६ जना गम्भीर घाइते हुँदा ७६ जना सामान्य घाइते भएका छन् । चाडपर्व सुरक्षा योजना लागु भएयता ५१ वटा घटनामा ६१ सवारी दुर्घटनामा परेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । दसैँलगायतका चाडपर्वलाई लक्षित गरेर ६ असोजबाट प्रदेश प्रहरीले चाडपर्व सुरक्षा योजना २०८२ लागु गरेको थियो ।

सबैभन्दा धेरै सवारीसाधन दुर्घटना सुर्खेतमा भएका छन् । यस अवधिमा सुर्खेतमा १९ सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४३ जना घाइते भएका छन् । यस्तै रूकुम पश्चिममा १० सवारीसाधन दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । सल्यानमा ६ वटा सवारीसाधन दुर्घटना हुँदा तीन जनाको मृत्यु र नौ जना घाइते भएको प्रहरीले जनाएको छ । दैलेखमा चारवटा गाडी दुर्घटनामा एक जनाको मृत्यु हुँदा २६ जना घाइते भएका छन् । यस्तै जाजरकोटमा चार गाडी दुर्घटनामा परी एक जनाको मृत्यु र १५ जना घाइते भएका छन् । कालीकोटमा तीन वटा गाडी दुर्घटना भएका छन् । जसमा पाँच जना घाइते भएका छन् ।

जुम्लामा चार सवारीसाधन दुर्घटनामा परी आठ जना घाइते भएको प्रदेश प्रहरीले जनाएको छ । यस्तै डोल्पामा एक सडक दुर्घटनामा परी एक जना घाइते हुँदा यस अवधिमा मुगु र हुम्ला जिल्ला भने सडक दुर्घटनामुक्त बनेका छन् । प्रहरीको तथ्यांक हेर्दा गत वर्षको यही अवधिको तुलनामा यस वर्ष दुर्घटनामा कमी आएको छ । यस अवधिमा प्रदेशभर जघन्य अपराधमा समेत कमी आएको प्रहरीले जनाएको छ । प्रहरीले प्रदेशका १० वटै जिल्लामा विगत तीन आर्थिक वर्षको अवधिमा दसैँ–तिहारलगायतका चाडपर्वको समयमा देखिएका सडक तथा सुरक्षा चुनौतीलाई सूक्ष्म विश्लेषणमार्फत यस वर्षको सुरक्षा रणनीति तय गरिएको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक केदार खनालका अनुसार तिहार लगाएतका चाडपर्व नजिकिएकाले दुर्घटनाको पनि जोखिम कायम छ । चाडपर्वलक्षित विशेष सुरक्षा योजना कार्यान्वयनका लागि प्रदेशभर एक हजार २१८ वटा ड्युटीमा तीन हजार ९०८ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ। प्रहरीले सुरक्षालाई बहुआयामिक बनाउन विभिन्न प्रकारका गस्ती र जाँचलाई तीव्रता दिएको छ ।

यस्तै ट्राफिकसहितको संयुक्त चेकिङ ७५ स्थानमा परिचालन गरिएको छ, जसले सवारी आवागमनलाई व्यवस्थित र सुरक्षित बनाउन मद्दत पु¥याउने प्रहरीको विश्वास छ । महत्वपूर्ण प्रतिष्ठान, धार्मिक तथा पर्यटकीयस्थलहरूको सुरक्षाका लागि ४३ स्थानमा प्रहरी खटाइएको छ । यात्रु तथा नागरिकको सुविधाका लागि ४३ स्थानमा यात्रु सहायता तथा नागरिक सहायता कक्ष स्थापना गरिएको प्रवक्ता खनालले बताए । सुरक्षा सचेतनाका लागि नौ स्थानमा माइकिङमार्फत प्रचारप्रसार भइरहेको छ भने बैंक तथा वित्तीय संघसंस्थाको सुरक्षा तथा बजार अनुगमनका लागि ४५ स्थानमा प्रहरी खटाइएको प्रदेश प्रहरीले जनाएको छ ।

बढी भिडभाड हुने क्षेत्रमा २४सै घण्टा निगरानीसँगै कर्णाली भित्रिने नाकामा तालिमप्राप्त कुकुर खटाइएको छ । प्रविधिको उच्चतम प्रयोग गरिनुका साथै संवेदनशील अवस्थामा ड्रोनबाट समेत निगरानी र अनुगमनको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ । यस्तै क्षमताभन्दा बढी यात्रु तथा मालसामान राखेर चल्ने सवारीसाधनहरूलाई कारबाहीको दायरामा ल्याउन विभिन्न स्थानमा चेकजाँचमा कडाइ गरिएको छ । यस वर्ष सम्भावित सडक दुर्घटना हुने क्षेत्रको पहिचान गरी त्यस्ता संवेदनशील क्षेत्रमा प्रहरीले मोटरसाइकल गस्तीसमेत गरिरहेको जनाइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज २१ गते मंगलबार