विवाद समाधानमा प्रशासनको भूमिका फितलो



नेपालगन्ज ।

नेपालगन्ज मेडिकल कलेजका प्लाष्टिक सर्जन एवं नागरिक अगुवा डा विनोद कर्णले नेपालगन्जमा दुर्गा मूर्ति विसर्जनका क्रममा भएको विवादबाट उत्पन्न झडपपछि घाइतेहरूको उपचार व्यवस्थापनमा आफूले भोगेको अनुभवबारे फेसबुकमा लामो स्टाटस लेख्दै भनेका छन्, ‘दुई दिन नेपालगन्ज पूर्णरूपमा लावारिस, अस्तव्यस्त तथा अभिभावकविहीन देखँे । आज झन् यतिको संवेदनशील दिनमा लल्लुपन्जु सुरक्षा व्यवस्था देख्दा दिक्क लागेर आयो ।

हलो सरोकारवालाहरू ! मेरो यो नेपालगन्जलाई कहिलेसम्म लावारिस, अस्तव्यस्त र अभिभावकविहीन बनाइराख्ने हो ?’ बाँकेको नेपालगन्ज उपमहानगरपालिकासहित जिल्लाका विभिन्न स्थानमा असोज १७ गते मूर्ति विसर्जनका क्रममा दुई समुदायका व्यक्तिहरूका समूहहरू एकआपसमा मुठभेट र ढुंगा प्रहारमा उत्रिएपछि बाँकेको प्रशासन र प्रहरीको भूमिकामाथि फेरि प्रश्नचिन्ह उठेको छ । सामान्य विवादका घटनालाई समयमै सम्बोधन गर्न नसक्दा विवाद बढ्दै गएर सामूहिक मुठभेटमा परिणत भएको र प्रशासनले गल्ती गर्नेहरूलाई समयमै कारबाहीको दायरामा ल्याउन नसकेको भन्दै आलोचना भइरहेको हो ।

१७ गते त्यस्ता घटना भएकोमा बाँके प्रशासनले १८ गते साँझ ७ बजेदेखि मात्रै विवाद उत्पन्न भएका क्षेत्रमा निषेधाज्ञा घोषणा ग¥यो । यसबीचमा विभिन्न हल्लाहरू फैलाएर र एकअर्काकाका आस्थामाथि चोट पुग्ने टिप्पणीहरू सामाजिक सञ्जालमा गरेर विवादलाई थप चर्काउनेहरू सक्रिय भए । १८ गते नै बाँके प्रहरीले पनि सामाजिक सञ्जालमा सद्भाव भड्काउने पोष्ट गर्ने, शेयर गर्ने, भ्रामक सूचना एवं समाचारहरूको प्रकाशन प्रशारण गर्ने, समाजमा अशान्ति फैलाउने, द्वन्द्वको अवस्था सिर्जना गर्ने, दंगा निम्त्याउन खोज्नेजस्ता कार्यहरू भइरहेको पाइएको भन्दै त्यस्तो काम गर्नेहरूलाई कारबाही हुने चेतावनी जारी ग¥यो ।

बाँके प्रशासनले जिल्लाको डुडुवा गाउँपालिका वडा नम्बर ६ को सबै क्षेत्र, नेपालगन्ज उपमहानगरको वडा नम्बर १४ को सबै क्षेत्र, वडा नम्बर १५ को सुइया पिप्रहवा क्षेत्र, वडा नम्बर २३ को भजिपुरुवा, जंगलीपुरुवा, लोहारनपुरुवा एवं नरैनापुर गाउँपालिकाको वडानम्बर ५ को सबै क्षेत्रलाई पाँच जनाभन्दा बढी मानिसहरू भेला हुन नपाउनेगरी अनिश्चित निषेधित क्षेत्र घोषणा गरेको छ । बाँकेका सहायक प्रजिअ उमाकान्त अधिकारीले यो समाचार तयार पार्दासम्म पनि निषेधित क्षेत्रको आदेश कायमै राखेको जानकारी दिए ।

उनले अवस्था सामान्यतर्फ उन्मुख हुँदै गएको र थप समीक्षापश्चात् उक्त आदेशमा पुनर्विचार गर्न सकिने बताए । तर सामाजिक सञ्जालमा बाँके प्रशासनले समयमै सतर्कता अपनाउन नसकेको भन्दै चर्काे आलोचना भइरहेको छ ।  राजनीतिकर्मी ललित रौनियारले १८ गते निषेधित क्षेत्रको आदेशपछि पनि डुडुवा गाउँपालिकाको एउटा टोलमा तनावपूर्ण स्थिति रहेको जानकारी फेसबुकमा राख्दै भनेका थिए, ‘जिल्ला प्रशासनको दायित्व निषेधाज्ञा लगाउने मात्र हो कि शान्ति सुव्यवस्था कायम गर्ने पनि हो ? प्रहरीहरू गस्ती मात्र गर्ने होइन संवेदनशील ठाउँहरूमा उपस्थिति पनि हुन जरुरी छ ।’

पत्रकार एवं सामाजिक अगुवा हेमन्त कर्माचार्यले पनि बाँकेमा धार्मिक विवाद बढ्दै गएर उत्पन्न हुने तनावहरूका बेला प्रहरी प्रशासनको भूमिका कमजोर हुने गरेको संकेत गर्दै भनेका छन्, ‘प्रत्येक जिल्लाका प्रशासन÷प्रहरी प्रमुखले आफू स्थानान्तरण भैरहँदा सोही पदमा जिम्मेवारी सम्हाल्न आउनेलाई अन्य आवश्यक कागजात जिल्लाको समग्र अवस्थाबारेको रिपोर्ट फाइल पनि बुझाउने परम्परा हुन्छ । बाँकेमा सायद त्यो काम हुन पाएन अथवा नयाँ जिम्मेवारी लिनेले बेलैमा फाइल अध्ययन गर्न अथवा सहायकबाट ब्रिफिङ सुन्न नभ्याएको हुनुपर्छ ।’

नेपालगन्जकै एकजना युवा अनिश शाहले फेसबुकमा भनेका छन्, ‘दुई सय पुलिसले ५० जनाको भिड नियन्त्रण गर्न सक्दैन भने जनता के को सुरक्षित ?’ नेपालगन्जका एकजना साहित्यकार विष्णु कुम्हारले व्यंग्य गर्दै लेखे, ‘पंगु होई प्रशासन जहवाँ, दंगा फसाद होई तब तहवाँ ।’
बाँकेमा दसैँको अवसरमा चोकचोकहरूमा दुर्गा मूर्तिहरू राखेर पूजा गरिन्छ भने दशमीपछि ती मूर्तिहरू नजिकको तलाउ तथा नदीहरूमा लगेर विसर्जन गरिन्छ । सो क्रममा सामूहिकरुले मानिसहरू मूर्ति विसर्जनमा सहभागी हुने गरेका छन् । उक्त घटना सोही मूर्ति विसर्जन यात्राका क्रममा भएको हो ।

पछिल्लो समय बाँकेमा धार्मिक उत्सवहरू भड्किलो हुँदै गएको, हातहतियार तथा लाठीको प्रदर्शन हुने गरेकोमा प्रहरी प्रशासन मूकदर्शक बन्ने गरेको छ । यसैगरी चर्काे डिजे तथा भड्किलो प्रदर्शनले विवादहरू निम्त्याउने जोखिम रहने भन्दै प्रशासनको ध्यानाकर्षण गराइँदै आएपनि सुनुवाइ नहुने गरेको सामाजिक अगुवाहरू बताउँछन् । अर्काेतिर धार्मिक सद्भावका लागि काम गर्ने भनिएका धार्मिक अगुवाहरूकै भूमिकामाथि पनि प्रश्नहरू उठ्न थालेका छन् । विवादका समयमा त्यस्ता अगुवाहरूले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै आलोचना हुन थालेको छ ।

तीन जना नियन्त्रणमा लिएर अनुसन्धान हुँदै

बाँके प्रहरीले दुर्गा मूर्ति विसर्जनका क्रममा विवाद सिर्जना गर्न भूमिका खेलेको आशंकामा तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिएको छ । बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक पातलीले दुई जना नेपालगन्जका र एक जना नरैनापुरका व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए ।

उनले नियन्त्रणमा लिइएकाहरूसँग सोधपुछ गर्ने काम भइरहेको र आवश्यक थप अनुसन्धान पनि भइरहेको जानकारी दिए । ‘अहिले सोधपुछ चलिरहेको छ । विवाद सिर्जनामा भूमिका खेलेको पाइएमा आवश्यक कारबाही अघि बढाउँछौँ,’ डीएसपी पातलीले मिसन टुडेसँग भने ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज २१ गते मंगलबार