‘निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्छ’



बुटवल ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जेनजी प्रदर्शनका क्रममा भएको तोडफोड र आगजनीको निष्पक्ष छानबिन गनुपर्ने बताएका छन्। तोडफोड र आगजनीको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गर्ने काम राज्यको भएकाले आफ्नो कर्तव्य पूरा गर्न उनले राज्यलाई आग्रह गरेका छन् ।

राष्ट्रिय जनमोर्चाको बुटवलमा सम्पन्न भएको बैठकपछि अध्यक्ष केसीले विज्ञप्ति जारी गरी तोडफोड र आगजनीको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीका लागि राज्यले खुट्टा कमाउने बताएका छन् । विषम अवस्थाबाट देशलाई अगाडी बढाउनु पर्ने बताउँदै निर्वाचनबारे आगामी केन्द्रीय कमिटीको बैठकले निर्णय गर्ने केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपतिले अन्तरिम सरकारलाई ६ महिनाभित्र निर्वाचन गराउने कार्यादेश दिएकोमा सरकारले अझै कुनै निर्णय नगरेको बताउँदै निर्वाचनबारे सरकारले निर्णय गरेपछिको अवस्था हेरेर निर्वाचनबारे केन्द्रीय समतिले ठोस निर्णय लिने विज्ञप्तिमा उल्लेख छ । बैठकपछि अध्यक्ष केसीले मिसन टुडेलाई भने, ‘आगामी दिनमा प्रतिगमनविरुद्ध समान धारणा हुने राजनीतिक दलहरूसँग सहकार्य र कार्यगत एकता वा तालमेल हुनेछ।’

केन्द्रीयस्तरमा समझदारी भएपछि मात्र जिल्ला तहका कमिटीले तालमेल वा एकता गर्न सक्ने केन्द्रीय कार्यालयले निर्णय लिएको उनले जानकारी गराए । असंवैधानिक तरिकाले मन्त्रिपरिषद् गठन, संसद् विघटन जस्ता विषयमा जनवर्गीय मोर्चाहरूले वक्तव्य दिन सक्ने र राजावादी र स्वतन्त्र भन्नेहरूसँग कुनै पनि प्रकारको कार्यगत एकता वा सहकार्य हुन नसक्ने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । गत भदौ २३ र २४ गते घटेको घटनाप्रति राष्ट्रिय जनमोर्चाले दुःख प्रकट गर्दै मृतक युवाहरूप्रति श्रदाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज ८ गते बुधबार