कोहलपुर नगरपालिकाद्वारा आंशिकरूपमा सेवा सुरु



कोहलपुर ।

जेनजी आन्दोलनलका कारण भौतिक संरचना ध्वस्त भएपश्चात् पूर्णरूपमा ठप्प भएको सेवा प्रवाह कोहलपुर नगरपालिकाले आंशिक रूपमा प्रदान गर्न थालेको छ । मंगलबारदेखि नगरपालिकाले जेनजी आन्दोलनमा जलेको कार्यालयको भवनबाटै आंशिकरूपमा सेवा प्रदान गर्न थालेको हो ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनकारीहरूले नगरपालिका कार्यालयमा आगजनी तथा तोडफोड गर्दा पूर्णरूपमा क्षति भएकोले पूर्णरूपमा नियमित सेवा प्रदान गर्न केही समय लाग्ने कोहलपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले बताए । जलेको नगरपालिका कार्यालयलाई सरसफाइ गरेको बताउँदै उनले बँचेका केही कोठा र नगर अस्पतालको भवनबाट आंशिकरूपमा सेवा प्रदान गर्न सुरु गरिएको जानकारी दिए ।

मंगलबार कार्यालयका लागि आवश्यक पर्ने विद्युत् र इन्टरनेटको व्यवस्थापन गरिएको उनको भनाइ छ । तत्काल प्रशासनिक काम गर्न आवश्यक शाखाहरूको व्यवस्थापन भइरहेकाले अबको केही दिनमा पूर्णरूपमा सेवा प्रदान गरिने उनले बताए । सेवा प्रवाहको लागि कार्यालय प्रमुख र लेखाको कार्यकक्ष तयारी भइसकेको र बाँकी शाखाहरूको पनि व्यवस्थापन भइरहेको बताए । दसैँ नजिकै आइरहेकाले मंगलबारदेखि शिक्षक तथा नगरपालिकाका कर्मचारी सबैको तलब भत्ता वितरण पनि सुरु गरिएको उनले जानकारी दिए ।

जेनजी आन्दोलनबाट क्षति पुगेका नगरपालिका अन्तर्गतका वडा कार्यालयहरूले पनि सेवा प्रदान गर्न सुरु गरेको उनले जानकारी दिए । कोहलपुर नगरपालिका वडा नम्बर ८, ९, ११ र १४ को वडा कार्यालय जेनजी आन्दोलनबाट क्षतिग्रस्त बनेका थिए । यी सबै वडाहरूले सरसफाइ गरेर सोही भवनबाट मंगलबारदेखि सेवा प्रदान गर्न थालेका हुन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज ८ गते बुधबार