सुदूरपश्चिमका दुई सय ३२ भौतिक संरचनामा आगजनी



शेरबहादुर ऐर । कैलाली ।

सुदूरपश्चिम प्रदेशका दुई सय ३२ भौतिक संरचनाका भवनमा जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार सुदूरपश्चिमका एक सय ५४ सरकारी कार्यालय, ३४ वटा राजनीतिक दलका कार्यालय, ३५ वटा व्यापारिक तथा निजी कार्यालय र ९ वटा प्रहरी कार्यालयमा तोडफोड र आगजनी भएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको तथ्यांकअनुसार सुदूरपश्चिममा सबैभन्दा बढी सरकारी कार्यालयमा जेनजी आन्दोलनका क्रममा आगजनी र तोेडफोड भएको छ । सुदूरपश्चिमका एक सय ५५ वटा सरकारी कार्यालयमा आगजनी र तोडफोड भएको छ । ती मध्य दार्चुलामा एक, बझाङमा एक, कञ्चनपुरमा एक र कैलालीका दुई वटा सरकारी कार्यालयमा आगजनी र तोडफोडका कारण पूर्णक्षति भएको छ ।

त्यस्तै कैलालीका एक सय एक, कञ्चनपुरका २४, डोटीका १०, अछामका चार, डडेल्धुराका आठ र दार्चुलाका तीन गरी १ सय ५५ वटा कार्यालयमा गरिएको आगजनी तथा तोडफोडबाट आंशिक क्षति भएको प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक प्रकाशबहादुर रानाभाटले बताए । यसैगरी प्रहरी कार्यालयतर्फ सात वटा ट्राफिक पोष्ट र कैलालीका तीन वटा प्रहरी कार्यालय आगजनी र तोडफोडका कारण पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।

यस्तै कैलालीका दुई, कञ्चनपुरका तीन, डोटीका एक गरी छ वटा कार्यालयमा आगजनी र तोडफोडका कारण आंशिक क्षति भएको प्रवक्ता रानाभाटले बताए । उनका अनुसार सुदूरपश्चिमका ३५ वटा निजी तथा व्यापारिक भवनमा आगजनी र तोडफोडका कारण आंशिक क्षति पुगेको छ । कैलालीका १५, कञ्चनपुरका १९, डडेल्धुरामा एक भवनमा तोडफोड भएको प्रवक्ता रानाभाटले बताए । निजी घरतर्फ अधिकांश राजनीतिक दलका नेता तथा कार्यकर्ताका घरमा आगजनी गरिएको उनले बताए ।

‘निजीतर्फ अधिकांश नेताका घरमा आगजनी भएको छ,’ प्रवक्ता रानाभाटले भने, ‘कैलाली, कञ्चनपुरका एक दुई वटा व्यावसायिक क्षेत्रमा पनि आगजनी गरिएको छ ।’ प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार सुदूरपश्चिम प्रदेशका ६ जिल्लामा रहेका राजनीतिक दलका ३७ वटा कार्यालयमा आगजनी र तोडफोड हुँदा आंशिक क्षति पुगेको छ ।

कैलालीका २३, कञ्चनपुरका ५, डोटीका दुई, डडेल्धुराका चार र दार्चुलाका तीन वटा पार्टी कार्यालयमा तोडफोड र आगजनी गरिएको छ । राजनीतिक दलका पार्टी कार्यालयमा गरिएको आगजनी तोडफोडका कारण आंशिक क्षति भएको प्रवक्ता रानाभाटले बताए । त्यस्तै डडेल्धुराका २ वटा संस्थाका भवनमा पनि जेनजी आनदोलनका कारण तोडफोड र आगजनी गरिएको छ ।

प्रहरीसहित ३३ जना घाइते

जेनजी पुस्ताले भदौ २३ र २४ गते गरेको आन्दोलनमा परी सुदूरपश्चिम प्रदेशमा प्रहरी, आन्दोलनकारी र कैदीसहित ३३ जना घाइते भएका थिए। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार कैलालीका ११, कञ्चनपुरका १० र डडेल्धुराका ८ जना गरी २९ जना प्रहरी आन्दोलनमा घाइते भएका थिए । त्यसैगरी कैलालीमा ३ जना प्रदर्शनकारी घाइते भएका थिए भने बझाङमा एक जना कैदी कारागारबाट भाग्ने क्रममा घाइते भएका थिए । घाइते भएका सबै जनाको उपचारपछि डिस्चार्ज भएका छन् ।

७ सय १ सवारीसाधनमा आगजनी र तोडफोड

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सुदूरपश्चिम प्रदेशका ७ सय १ वटा सवारीसाधनमा तोडफोड र आगजनी गरिएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार सुदूरपश्चिमका १ सय ३० वटा चारपाँग्रे सवारी, ५ सय ५८ मोटरसाइकल, १५ वटा साइकल र ६ वटा तीनपाँग्रे सवारीमा आगजनी र तोडफोड गरिएको हो । जसमध्ये कैलालीका १ सय १४ चारपाँग्रे सवारी, ५ सय ४३ मोटरसाइकल, १५ साइकल र ६ वटा तीनपाँग्रे सवारीसाधन गरी ६ सय ७८ सवारीमा तोडफोड र आगजनी गरिएको छ ।

यसैगरी कञ्चनपुरमा ७ वटा चारपाँग्रे सवारी, १२ वटा मोटरसाइकल गरी १९ वटा सवारीसाधनमा तोडफोड र आगजनी गरिएको छ । यस्तै डोटीमा ९ वटा चारपाँग्रे सवारीसाधन तथा डडेल्धुरामा ३ वटा मोटरसाइकलमा तोडफोड तथा आगजनी गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक प्रकाशबहादुर रानाभाटले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज ७ गते मंगलबार