प्रधानमन्त्री कार्कीका सहयात्री पत्रकारदेखि वैज्ञानिकसम्म



सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेको छ । योसँगै प्रधानमन्त्रीसहित आठजना मन्त्रीले जिम्मेवारी पाएका छन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका बलमा गठन भएको मन्त्रीमण्डल ११ सदस्यीय हुनेछ । अझै तीनजना मन्त्री नियुक्त हुन बाँकी छ ।

शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेको छ । भदौ २७ गते गठन भएको कार्की नेतृत्वको सरकारले सोमबार दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेको हो । आइतबार नियुक्त भएका पाँचमध्ये चारजना मन्त्रीले सोमबार सपथ ग्रहणसँगै मन्त्रालयको कार्यभार सम्हालेका छन् । प्रधानमन्त्री कार्कीले पहिलो चरणमा भदौ ३० गते तीनजना मन्त्री नियुक्त गरेकी थिइन् ।

सरकार गठन भएको ११ दिनपछि दोस्रोपटक चारजना मन्त्रीले मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् । पूर्वन्यायाधीश अनिलकुमार सिन्हाले तीन वटा मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । उद्योग वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् ।

महावीर पुनले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाले । मदनप्रसाद परियारले कृषि पशुपन्छी विकास मन्त्रालय र जगदीश खरेलले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पाएका हुन् । आइतबार प्रधानमन्त्री कार्कीले डा. संगीता कौशल मिश्राको नाम सिफारिस गरेकी थिइन् । उनलाई स्वास्थ्यमन्त्री नियुक्तिका लागि सिफारिस गरिएको थियो । मिश्राको विषयमा विवाद भएपछि कार्कीले उनको नाम फिर्ता लिएकी हुन् । यसअघि रामेश्वरप्रसाद खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याल मन्त्री नियुक्त भएका थिए ।

दोस्रोपटक मन्त्रिपरिषद् विस्तार भएसँगै यसअघि मन्त्रीहरूले सम्हालेका जिम्मेवारीमा केही हेरफेर गरिएको छ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले यसअघि अर्थमन्त्रालयको मात्रै जिम्मेवारी सम्हालेका थिए । सोमबार सार्वजनिक गरिएको नियुक्ति र जिम्मेवारी हेरफेरमा खनालले थप एक मन्त्रालयको जिम्मेवारी पाएका हुन् । खनालले अब अर्थसँगै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्नेछन् । यसअघि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्यालको समेत जिम्मेवारी हेरफेर भएको छ ।

अब उनले गृहमन्त्रालयको मात्रै जिम्मेवारी सम्हाल्नेछन् । कानुन,न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी नवनियुक्त मन्त्री सिन्हालाई प्रदान गरिएको छ । प्रधानमन्त्री कार्कीले अझै १० मन्त्रालयको जिम्मेवारी सम्हालिरहेकी छन् । उनले ११ सदस्यीय मन्त्रिपरिषद् बनाउने यसअघि नै घोषणा गरिसकेकी छन् । अब अझै तीन मन्त्री नियुक्त गर्न बाँकी छ । नेपालको पहिलो महिला प्रधानमन्त्रीको इतिहास बनाएकी कार्की मन्त्रीमण्डलमा अहिलेसम्म महिलामन्त्री नियुक्त भएका छैनन् ।

डा.संगीता कौशल मिश्राको विषयमा विवाद भएपछि प्रधानमन्त्री कार्की पछि हटिन् । नयाँ मन्त्रीमण्डलमा मानव अधिकारकर्मी मोहना अन्सारीको समेत चर्चा छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण पूर्ववर्ती सरकार ढलेपछि जेनजीहरूकै छनौटमा प्रधानमन्त्री बनेकी पूर्वप्रधानन्यायाधीशसमेत रहेकी कार्कीले गैरराजनीतिक पृष्ठभूमिका व्यक्तिहरूलाई जिम्मेवारी दिइरहेकी छन् ।

हालसम्मका मन्त्रिपरिषद् सदस्य हेर्दा विगतका तुलनामा विज्ञ, सामाजिकरुपमा ख्यातिप्राप्त, कुनैपनि विवादमा नआएका र विषय विज्ञहरू कार्कीको छनौटमा परेको देखिन्छ । अब थप तीन मन्त्री नियुक्त भएसँगै कार्की नेतृत्वको अन्तरिम सरकारले पूर्णता पाउनेछ ।

आत्मकथा बेच्दाबेच्दै मन्त्री बनेका महावीर

अन्तरिम सरकारले मन्त्री सिफारिस गरेपछि महावीर पुनले फेसबुक स्ट्याटस लेख्दै भने, ‘कसैले मलाई मन्त्री नभन्नु होला । कसैलाई साह्रै मन्त्री भन्ने रहर नै छ भने कवाडी वैज्ञानिकमन्त्री भन्नुहोला ।’ यस्तै उनले आफूले सम्हाल्न लागेको मन्त्रालयसँग सम्बन्धित ५ महिनामा गर्न सकिने ठोस काम र आइडिया ह्वाट्एपमा पठाउन अनुरोध गरे । नभन्दै उनले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

उनले मन्त्रालयमा पुगेर पदभारसमेत सम्हाले । सामान्यतया नयाँ मन्त्री नियुक्त भएपछि निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने चलन छ । उनले भने निर्णय पुस्तिकामा हस्ताक्षर गर्न मानेका थिएनन् । वैज्ञानिकसमेत रहेका पुनको जीवनशैली निकै सरल छ । मन्त्री बन्नुअघि पुन आविष्कार केन्द्रमा ग्यासबाट शव जलाउने भट्टी निर्माण गरिरहेका थिए ।

उसो त उनी विगत दुई वर्षदेखि आफ्नो आत्मकथा ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ बेचिरहेका थिए । उनले ५२६ दिनमा ४५ वटा जिल्लामा २ लाख ४० हजार पुस्तक बेचेका छन् । राष्ट्रिय आविष्कार केन्द्र निर्माणका लागि पुनले किताब बेचिरहेका हुन् । आत्मकथा बेचेर प्राप्त आम्दानीले कृषि औजार निर्माण गर्ने उनको योजना छ ।

पुनको जन्म विसं २०११ साल माघ ९ गते म्याग्दी जिल्लाको नागी गाउँमा भएको हो । पुनले अमेरिकाको नेब्रास्का विश्वविद्यालयबाट विज्ञानमा उच्च शिक्षा अध्ययन गरेका छन् । नेपालका ग्रामीण भेगमा ताररहित इन्टरनेट सेवा पु¥याएका पुनले सन् २००७ सलामा एसियाको नोबेल पुरस्कारको रूपमा चिनिने म्यागासेसे पुरस्कार पाएका थिए । सरल र प्रेरणादायी व्यक्तित्वका धनी पुनले अब आफू मन्त्रालयमै सुत्ने र खाना आफैँ पकाउने बताएका छन् ।

प्रश्न सोध्दासोध्दै मन्त्री बनेका खरेल

अन्तरिम सरकारका सबैभन्दा कान्छा सदस्य हुन् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल । २५ वर्षदेखि पत्रकारितामा क्रियाशील रहेका दोलखाका खरेल ४३ वर्षका भए । उनको जन्म विसं २०३९ सालमा दोलखामा जन्मिएका खरेल सानै उमेरदेखि प्रखर वक्ता थिए । दोलखामै विद्यालय शिक्षा हासिल गरेका खरेलले रत्न राज्यलक्ष्मी क्याम्पसबाट पत्रकारितामा स्नातकोत्तर गरेका छन् ।

२०५७ सालदेखि इमेज एफएममार्फत पत्रकारिता सुरु गरेका उनले तीन वर्षपछि इमेज च्यालनमा काम सुरु गरेयता मन्त्री हुनुपूर्वसम्म त्यही कार्यरत थिए । जहाँ उनी २५ वर्षसम्म कार्यरत रहे । उनका चर्चित कार्यक्रमहरूमा ‘ती दिन’ कुनैबेला निकै चर्चित थियो । पछिल्लो समयमा इमेज टिभीमा समाचार प्रमुखको जिम्मेवारीमा रहेका चर्चित कार्यक्रम ‘हटसिट’ चलाउँथे । निडर र निर्भिक पत्रकारको छवि बनाएका खरेल नागरिक सरकारमा महत्वपूर्ण जिम्मेवारीमा पुगेका छन् ।

खरेलले अब सञ्चारमन्त्रीका रुपमा सरकारको प्रवक्ताको रुपमा पनि काम गर्नुपर्ने हुन्छ । त्यसैले अब उनले खेल्ने भूमिकाले सरकारको सन्देश जनतासम्म पु¥याउने सेतुको रुपमा पनि काम गर्छ । उनी प्रश्न सोध्दासोध्दै उत्तर दिने भूमिकामा पुगेका छन् । पत्रकारका रूपमा आलोचनात्मक भूमिका निर्वाह गर्दा र मन्त्रीको रुपमा जिम्मेवारी बहन गर्दा हुने फरक अवस्थालाई उनले कसरी बुझेर अघि बढ्छन त्यसको बाहिरबाट पक्कै निगरानी हुनेछ ।

जिम्मेवारी सम्हाल्दै उनले सुशासन, भ्रष्टाचार नियन्त्रण र पुनर्निर्माण अहिलेको प्रमुख आवश्यकता रहेको बताएका छन् । आफ्नो कार्यकालमा खरानी र धुलो टकटक्याउँदै जनतालाई अनुभूत हुनेगरी काम गर्ने प्रतिबद्धता जनाएका छन् । खरेलले ५ महिनाभित्र देशका प्रमुख १० वटा सहरका सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने पहिलो निर्णय गरेका छन् । उनले अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि गरिरहेका छन् ।

कार्की क्याबिनेटका समावेशी अनुहार

प्रधानमन्त्री सुशीला कार्कीको आठ सदस्यीय मन्त्रीमण्डलमा विभिन्न क्षेत्र, वर्ग र समुदायका अनुहार छन् । तीमध्येका एक हुन् डा.मदन परियार। सप्तरीका परियारले आफ्नो कार्यक्षेत्र अनुसारकै मन्त्रालयको जिम्मेवारी पाए, कृषि तथा पशुपन्छी विकास मन्त्रालय । पेसाले कृषि इन्जिनियर उनी वातावरण, स्रोत योजना र व्यवस्थापन क्षेत्रमा विशेषज्ञ मानिन्छन । कृषिमन्त्री परियारले बैंककको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट स्रोत योजना तथा व्यवस्थापनमा विद्यावरिधि गरेका छन् ।

परियार हाल समता फाउन्डेसनका अध्यक्ष छन् । उनको कर्पाेरेट व्यवस्थापन, विकास परियोजना र सूचना प्रविधि व्यवस्थापनमा लामो नेतृत्व अनुभव बटुलेका छन् । उनले वीरगञ्ज कृषि औजार कारखानाको महाप्रबन्धक र उदयपुर सिमेन्ट कारखानाको प्रबन्ध निर्देशकका रूपमा काम गरिसकेका छन् । हालै उनी सामाजिक समावेशीकरण अनुसन्धान कोषको छनोट समितिमा दलित प्रतिनिधिका रूपमा सदस्य थिए ।

परियार दलित समुदायको समावेशिताका लागि सशक्त अधिवक्तासमेत हुन् । सन् २०११ मा नेपाल सरकारले उनलाई राज्य पुनर्संरचना आयोगको अध्यक्ष नियुक्त गरेको थियो । यस भूमिकामा उनले संघीयता र संघीय संरचनाको उत्तम नमुनाबारे संविधानसभालाई सल्लाह दिन दलित समुदायलगायत सबै सरोकारवालासँग परामर्श गरेका थिए । किसानहरूका माग सम्बोधन गर्ने जिम्मेवारीमा उनी पुगेका छन् ।

सेवानिवृत्त न्यायाधीशको काँधमा तीन मन्त्रालय

प्रधानमन्त्रीसमेत रहेकी सुशीला कार्कीले अहिले एक्लै दश मन्त्रालयको जिम्मेवारी सम्हालिरहेकी छन् । दोस्रो चरणमा कार्की मन्त्रीमण्डलको सदस्य बनेका पूर्वन्यायाधीश अनिलकुमार सिन्हाले तीन मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । सात सदस्यीय मन्त्रीमण्डलमा सबैभन्दा बढी मन्त्रालयको जिम्मेवारी सम्हाल्ने एक्ला मन्त्रीसमेत बनेका छन् सिन्हा । उनलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

सोमबार उनले उद्योगमन्त्रीको रुपमा जिम्मेवारी सम्हाले । मन्त्री सिन्हाले शहीद परिवारका सदस्य र आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूका लागि रोजगारीको व्यवस्था गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन् । यसका साथै सरकारी निकायहरूमा प्रयोग गरिने फर्निचर तथा अन्य निर्माण सामग्रीहरूमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने निर्णय पनि उनले गरेका छन् । मन्त्री सिन्हा प्रधानमन्त्री कार्कीका पूर्वसहकर्मीसमेत हुन् ।

सर्वोच्च अदालतका पूर्वन्यायाधीश मन्त्री सिन्हा र कार्कीले कुनैसमय सँगै काम गरेका थिए । उनी सर्वोच्च अदालतबाट दुई वर्षअघि अवकाश भएका थिए । हाल उनी ६७ वर्षका भए । उनी कर्पोरेट र वाणिज्य कानुनका ज्ञाता मानिन्छन् ।२०७३ साउन १७ गते न्यायाधीश नियुक्त सिन्हा करिब ७ वर्ष सर्वोच्च अदालतमा रहे । त्यसबाहेक उनी कानुन तथा संसदीय मामिलामन्त्री समेत हुनेछन् । प्रतिनिधिसभा नभएकाले उनको मन्त्रालय कानुन निर्माणको साटो निर्वाचनसँग सम्बन्धित अध्यादेशहरूको गृहकार्यमा ज्यादा व्यस्त हुनुपर्नेछ ।

त्यसका साथै कानुनमन्त्रीको हैसियतले न्यायपरिषद्मार्फत न्यायाधीश नियुक्ति एवं सरुवा–बढुवामा पनि उनको भूमिका हुनेछ । अवकाशपछिका दुई वर्षमा सिन्हाले सामाजिक विषयवस्तुमा अध्ययन अनुसन्धान गर्दै आएका थिए । त्यसयता उनले अतिथि अध्यापकको रूपमा पनि काम गरे ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज ७ गते मंगलबार