दसैँका लागि बाहिरिए करोडौँका खसी बोका



वीरेन्द्रनगर ।

दसैँका लागि सुर्खेतको बबई नाकाबाट करोडौँका खसी बोका बाहिरिएका छन् । हिन्दु नेपालीहरूको महान् चाड विजयादशमीका लागि सुर्खेतको बबई नाकाबाट दिनप्रतिदिन खसी बोका बाहिरिनेको सङ्ख्या बढ्दै छ । भदौ महिनादेखि असोजको ५ गतेसम्ममात्रै पाँच करोड २६ लाख ७७ हजार मूल्यबराबरका खसी बोका निर्यात भएका हुन् ।

कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत हर्रे–बबई नाका तथ्यांक सहायक दिपप्रसाद उपाध्यायका अनुसार दसैँका लागि भदौ महिनादेखि असोज पाँच गतेसम्म दुई हजार ६५६ वटा खसी बोका निर्यात भएका छन् । निर्यात भएका दुई हजार ६५६ वटा खसी, बोका भनिएपनि सङ्ख्यामा खसी, बोका, च्याङ्ग्रा र भेडा रहेको उनले बताए ।

भदौ महिनाभरी एक हजार ६८१ खसी, बोका निर्यात भएका थिए भने असोज १ गतेदेखि ५ गतेसम्म मात्रै एक हजार ७५ वटा खसी, बोका निर्यात भएको उनले जानकारी दिए । दसैँका लागि भन्दै व्यापारीहरूले ट्रकहरूमा खसी, बोका ढुवानी गरेर नेपालगन्ज, बुटवल, चितवन, हेटौँडा, काठमाडौँलगायतका विभिन्न सहरहरूमा निर्यात गर्ने गरेका छन् ।

कर्णाली प्रदेशबाट कृषि तथा पशुपन्छीजन्य बस्तुहरू निर्यात भएको तथ्यांक बिस्तारै बढ्दो ग्राफमा रहेको तथ्यांक सहायक दिपप्रसादले बताए।
उनका अनुसार यो अविधमा दुई लाख ७३ हजार बराबरका ७८ वटा भैँसी÷रांगा निर्यात भएका छन् । यस्तै मुगुको खत्याड गाउँपालिका–१० का ४४ वर्षीय व्यापारी जयलाल रोकायाले दसैँका लागि हुम्लाबाट १३२ ओटा भेडा, च्याङ्ग्रा पोखरा लिने भन्दै निर्यात गरेका छन् ।

व्यापारी रोकायाले एउटा भेडाको मूल्य किलोको हिसाबमा बिक्री गरिने बताए । उनका अनुसार कर्णाली प्रदेशमा अर्थात् सुर्खेत लगायतका क्षेत्रमा मूल्य कम पर्छ । यहाँ ज्युँदो प्रतिकेजीको ७०० देखि एक हजारसम्म मूल्य छ भने पोखरालगायतका सहरहरूमा एक हजारबाट सुरु भइ १५ सयसम्म रहेको छ । त्यसैले हुम्लाबाट पाँच दिन लगाएर झण्डै एक लाख ५० हजार ढुवानी खर्चमा भेडा, च्याङ्ग्रा पोखरा लैजान लागेको उनले बताए ।

यो अवधिका दसैँ, तिहारका लागि फलफूलतर्फ सात करोड १७ लाख ९१ हजार ८६० मूल्य बराबरको ६८ लाख ३ हजार ७३२ किलो कर्णाली प्रदेशको अर्गानिक स्याउ निर्यात भएको तथ्यांक कर्णाली सरकारले राखेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज ६ गते सोमबार