‘लेखक तथा बुद्धिजीवी जिम्मेवार बनौँ’



नेपालगन्ज ।

देशको बदलिँदो राजनीतिक अवस्थामा लेखक तथा बुद्धिजीवहिरूले जिम्मेवार भूमिका निभाउनुपर्नेमा एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् । प्रगतिशील लेखक संघ बाँकेको आयोजनामा भएको वर्तमान परिप्रेक्ष्यमा लेखक तथा बौद्धिक वर्गको भूमिका विषयक विचार गोष्ठी कार्यक्रममा बोल्ने वक्ताहरूले लेखक तथा बुद्धिजीवीले समाजलाई सही दिशा दिन सक्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक तोयानाथ पहाडीले अहिले विश्व राजनीति गहिरो रुपान्तरणको चरणमा रहेको र त्यसको असर नेपालको राजनीतिमा पनि परेको उल्लेख गरे । पहाडीले अहिले नेपालमा प्रभाव पार्ने विश्व राजनीतिका विविध पक्षहरूको चर्चा गर्दै अहिले बौद्धिक वर्गले निभाउनुपर्ने भूमिकाबारे धारणा राखेका थिए ।

उनले बौद्धिक वर्गले समीक्षात्मक चेतना निर्माण, समावेशी विमर्श, अन्तरपुस्ता संवाद, उद्यमशिलता प्रोत्साहन, नागरिक साक्षरता विस्तार, अनुसन्धान र नीति संवाद, डिजिटल सक्रियता र तथ्य जाँच, सांस्कृतिक प्रतिरोध, वैश्विक सहकार्यजस्ता काममा सक्रियता बढाउनुपर्नेमा धारणा अघि सारे । कार्यक्रममा बोल्दै लेखक नरेन्द्रजंग पिटरले बौद्धिक वर्गले सही समयमा सत्य बोल्न र सत्तालाई खबरदारी गर्न चुक्दा अहिलेको स्थिति आएको बताए ।

उनले बौद्धिक वर्गलाई सत्य बोल्ने हिम्मत गर्न र समयलाई सही दिशा दिने सामथ्र्य निर्माण गर्न आग्रह गरे । साहित्यकार सनत रेग्मीले अहिले देशले दिनप्रतिदिन खराब स्थितिको सामना गर्नुपरिरहेको बताउँदै सन्तुलित परराष्ट्र नीति र सुझबुझपूर्ण एवं नयाँ पुस्ताको आवश्यकता पूर्ति गर्नसक्ने नेतृत्वको आवश्यकता रहेको बताए ।

कार्यक्रमा पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई, शिक्षाविद् जितबहादुर शाहलगायतले पनि लेखक तथा बौद्धिक वर्गको भूमिकामाथि विचार राखेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज ६ गते सोमबार