सुर्खेत ।
कर्णालीमा उत्पादित वस्तु अदुवा र बेसार हरेक वर्ष विदेशमा निर्यात हुन थालेको छ । विशेषगरी कर्णालीमा उत्पादित अदुवा र बेसारले युरोपेली मुलुकमा बजार पाएको हो । आर्थिक वर्ष २०८१–०८२ मा कर्णालीबाट ३६५ मेट्रिक टन सुकाइएको अदुवा र बेसार युरोपमा निर्यात भएको छ ।बर्सेनि ठूलो मात्रामा अदुवा र बेसारको धुलो विदेश निर्यात हुँदै आएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशले जनाएको छ ।
मन्त्रालयका अनुसार उच्च गुणस्तरीय अदुवा र बेसारलाई सुकाएर अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रमाणीकरण गरी जर्मन निर्यात हुँदै आएको छ। कर्णालीका तीन जिल्लामा उत्पादित अदुवा र बेसार जर्मन निर्यात गर्ने गरिएको हो । तथ्यांकअनुसार सल्यान, रूकुम पश्चिम र सुर्खेतको पूर्वी क्षेत्रमा उत्पादित अदुवा, बेसार सुर्खेतको छिन्चुमा रहेको ‘द अर्गानिक भ्याली’ले संकलन गरी जर्मनीलगायत देशमा निर्यात गर्दै आएको छ ।
मन्त्रालयका महाशाखा प्रमुख बखत खड्काले हरेक वर्ष ठूलो मात्रामा अदुवा र बेसार विदेश पठाउने गरिएको बताए । खड्काका अनुसार कम्पनीले मकैको पीठो, दाल, सिमी, घिउ र सिस्नुको धुलोजस्ता अन्य अर्गानिक उत्पादन पनि प्रमाणीकरण गरी विदेश निर्यात गर्ने गरिरहेको छ। ‘पछिल्लो समय कर्णालीबाट अर्गानिक अदुवा र बेसार तेस्रो मुलुक (जर्मन) निर्यात हुने गरेको छ,’ उनले भने, ‘छिन्चुमा रहेको द अर्गानिक भ्याली नामक कम्पनीले अदुवा र बेसार संकलन गरेर प्रमाणीकरण र प्रशोधन गरी जर्मनीलगायतका देशहरूमा निर्यात गर्दै आएको छ ।’
कर्णालीमा तीन जिल्लाका दुई हजारभन्दा बढी कृषक प्रत्यक्षरूपमा लाभान्वित भएका छन् । उक्त कम्पनीले अदुवा र बेसारबाहेक मकैको पिठो, दाल, सिमी, घिउ र सिस्नुको धुलोजस्ता अन्य अर्गानिक उत्पादन पनि प्रमाणीकरण गरी विदेश निर्यात गर्ने गर्दछ । अर्गानिक प्रमाणीकरणमा आबद्ध भएपछि कृषि उपजले उचित मूल्य पाउन थालेको छ । जसले किसानको आयआर्जन बढाउनुका साथै जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको छ । अन्य खेतीभन्दा अदुवा र बेसार खेती निकै सहज हुन्छ ।
तर नेपालमा बजार नपाएको किसानहरूको गुनासो थियो । नियमित गोडमेल गर्न नपर्ने र लगानी पनि कम लाग्ने भएकाले खेती गर्न सहज हुनेगरेको सुर्खेत चौकुने गाउँपालिकाका कृषक हरि थापाले बताए । उनका अनुसार अहिले पनि नेपालमा सहज बजारको पहुँच छैन । जसले गर्दा अदुवा बेसारले उचित मूल्य पाउन सकेको छैन । यता अदुवा र बेसार विदेशमा निर्यात भइरहेपनि भौगोलिक विकटता र कृषकको पहुँच नहुँदा किसान भने सहज रूपमा बजारसम्म पुग्न सकेका छैनन् ।
जसले गर्दा वास्तविक कृषकले लाभ लिन सकेका छैनन् । प्रदेश सरकारले पकेट क्षेत्र निर्माण गरेर उत्पादन र बिक्री वितरणलाई सहज बनाउनुपर्ने कृषकहरूको माग छ । सोहीअनुसार कर्णाली प्रदेश सरकारले पनि बाँझो जमिनलाई उपयोग गरेर अदुवा र बेसार खेती विस्तार गर्ने योजना बनाएको छ । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर योजना बनाएको हो । आर्थिकरूपमा किसानलाई सवल बनाउन मन्त्रालयले विभिन्न अनुदान कार्यक्रम सञ्चालन गरेको छ ।
गत वर्ष ६ वटा बैंकमार्फत ५३५ जना कृषि व्यवसायीलाई ब्याज अनुदान उपलब्ध गराएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोद शाहका अनुसार प्राकृतिक प्रकोपबाट प्रभावित किसानलाई पनि राहत वितरण गरिएको छ । असिना र हावाहुरीबाट करिब ३०० हेक्टर बालीमा भएको क्षतिको क्षतिपूर्तिस्वरूप १६ हजार ६२४ जना कृषकलाई ८९ लाख रूपैयाँ राहत प्रदान गरिएको उनले बताए ।
खाद्य सुरक्षा तथा कृषि प्रसार कार्यक्रमअन्तर्गत उन्नत जातका बीउ वितरण गर्ने गरिएको छ । जसमा २१ क्विन्टल धान, २२ क्विन्टल मकै, १५० क्विन्टल गहुँ र ६ क्विन्टल तरकारीको उन्नत बीउ आर्थिक वर्ष २०८१–०८२ मा वितरण भएको उल्लेख छ । यसका साथै उक्त वर्ष २१ दशमलव २९ मेट्रिक टन मूलस्तरको तरकारीको बीउ प्रमाणीकरण गरिएको छ । जसले बीउमा आत्मनिर्भरता बढाउन मद्दत पुग्ने अपेक्षा छ ।
नेपाली वस्तुले विदेशमा चर्चापाएसँगै सरकारले बाँझो जग्गा उपयोगको नीतिलाई थप प्रभावकारी बनाउने भएको छ । सरकारले सुरुका आर्थिक वर्षबाट नै विभिन्न अनुदानका कार्यक्रम कार्यान्वयन गरिरहेको छ । प्रदेश सरकारले कृषि उत्पादनमा लाग्नखोज्ने युवाका लागि विभिन्न प्रोत्साहनमूलक कार्यक्रम पनि राखेको छ ।









प्रतिक्रिया दिनुहोस्