बुटवल ।
बुटवलमा सञ्चालन हुँदै आएको औद्योगिक प्रर्दशनी तथा व्यापार मेला सञ्चालनको विषयमा विवाद उत्पन्न भएको छ । मेला आयोजना गर्दै आएका व्यावसायिक प्रतिष्ठानहरूबीच मेला कसले सञ्चालन गर्ने भन्ने विषयमा विवाद उत्पन्न भएको हो । रुपन्देहीको बुटवलमा केही वर्ष अघिदेखि औद्योगिक प्रर्दशनी तथा व्यापार मेला आयोजना हुँदै आएका छन् ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देही, रुपन्देही उद्योग संघ, रुपन्देही व्यापार संघ र उद्योग व्यापार संघ बुटवलले औद्योगिक प्रदर्शनी तथा व्यापार मेला आयोजना गर्दै आएका हुन् । बुटवलका उद्योग वाणिज्य संघ रुपन्देही, रुपन्देही उद्योग संघ, रुपन्देही व्यापार संघभन्दा उद्योग व्यापार संघ कान्छो संस्था हो । उद्योग व्यापार संघ बुटवलले आगामी पुस पुसको ५ गतेदेखि १८ गतेसम्म पाँचौँ राष्ट्रिय औद्योगिक प्रर्दशनी आयोजना गर्ने ९ महिना अगाडी नै घोषणा गरेको थियो ।
उद्योग व्यापार संघ बुटवलले गतसाल पुस २२ गते बुटवलमा पत्रकार सम्मेलन गरी राष्ट्रिय औद्योगिक प्रर्दशनी तथा व्यापार मेला सञ्चालन गर्ने जानकारी गराएको थियो । उद्योग व्यापार संघ बुटवल उक्त व्यापार मेलाको तयारीमा जुटिरहेको बेला रुपन्देही उद्योग संघले आगमी पुस ३ गतेदेखि औद्योगिक प्रदर्शनी तथा व्यापार मेला गर्ने भन्दै शनिबार बुटवलमा पत्रकार सम्मेलन गरेपछि मेला सञ्चानबारे विवाद उत्पन्न भएको हो ।
उद्योग व्यापार संघ बुटवलले आगमी पुस ५ गतेदेखि १८ गतेसम्म औद्योगिक प्रदर्शनी तथा व्यापार मेलाको तयारीमा जुटेको अवस्थामा सोही ठाउंमा झण्डै उही मितीमा मेला सञ्चालन गर्ने भन्दै रुपन्देही उद्योग संघले पत्रकार सम्मेलन गरेपछि विवाद उत्पन्न भएको हो । रुपन्देही उद्योग संघले शनिबार बिहान पत्रकार सम्मेलन गरेर मेला सञ्चालबारे सार्वजनिक गरेपछि त्यसको काउन्टर दिँदै मेलाको तयारीमा जुटेको उद्योग व्यापार संघ बुटवलले शनिबार दिउँसो संघको कार्यालयमा पत्रकार सम्मेलन गरी अहिले मेला आयोजना गर्ने पालो आफ्नो भएको बताएको छ ।
उद्योग व्यापार संघ बुटवलका अध्यक्ष विष्णुप्रसाद पाण्डेले गत पुस महिनामा मेला सञ्चालन गर्नेबारे बुटवल उपमहानगरपालिकालाई लिखित जानकारी गराइ मेलाको २५ देखि ३० प्रतिशत काम भैसकसको अवस्थामा रुपन्देही उद्योग संघले गलत मनसायले व्यापार मेला भाँड्न थालेको बताए । व्यापार मेला सञ्चालन गर्नका लागि संघ र प्रदेश सरकारलाई पनि जानकारी गराइएको र मेलाका लागि २ सय ५० जान उद्योगी व्यवसायीले स्टल दर्ता गराइसकेको अवस्थामा मेला भाँड्न नपाइने संघका अध्यक्ष पाण्डेले बताए ।
मेला सञ्चालन हुने स्थानमा १५ दिन अगाडी बोर्ड राखेर काम सुरु भैरहेको अवस्थामा नियोजित ढंगले व्यापार मेला भाँड्ने षडयन्त्र भएकाले षडयन्त्रकाविरुद्व मेला सञ्चालन गरेरै छाड्ने उनले बताए । उद्योग व्यापार संघ बुटवल माओवादी निकट मानिन्छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही, काँगे्रस निकट मानिन्छ, त्यस्तै रुपन्देही उद्योग संघ एमाले निकट मानिएपनि काँगे्रसहरूको पनि सहभागिता छ भने रुपन्देही व्यापार संघ एमाले निकट मानिन्छ ।
पछिल्लो समय रुपन्देही उद्योग संघले आगमी पुस ३ गतेदेखि बुटवलमा १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेला आयोजना गर्ने घोषणा गरेपछि विवाद उत्कर्षमा पुगेको हो । यो व्यापार मेलाको सहजीकरण गर्ने अधिकार बुटवल उपमहानगरपालिकाको भएपनि उपमहानगरपालिका केही बोलेको छैन । एमाले र काँगे्रस मिलेर माओवादी निकट उद्योगी व्यवसायीले आयोजना गरेको व्यापार मेला भाँड्न लागिएको एक व्यवसायीले बताए ।
सबैभन्दा पहिला औद्योगिक प्रर्दशनी तथा व्यापार मेला सञ्चालन गर्ने भनेर सरकारलाई जानकारी गराएर तयारीमा जुटेको उद्योग व्यापार संघलाई मेला आयोजना गर्न दिनुपर्ने उद्योग व्यवसाय क्षेत्रका अगुवाहरू बताउँछन् । रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले औद्योगिक प्रदर्शनी तथा व्यापार मेला रुपन्देही उद्योग संघको ब्रान्ड भैसकेकाले पुसमा हुने व्यापार मेला आफूहरूले सञ्चालन गर्ने दाबी गरेका छन् । दुवै संस्थाले बुटवल रामनगरस्थित प्रदर्शनीस्थलमा व्यापार मेला आयोजनाको घोषणा गरेका हुन् ।









प्रतिक्रिया दिनुहोस्